सरकारी स्वामित्वका २६ संस्थानले नाफा गर्दा १५ घाटामा, ३ वटाको कारोबार शून्य
काठमाडौं । सरकारको पूर्ण र आंशिक स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानहरुमध्ये २६ वटा नाफामा रहेको पाइएको छ ।
बाँकी १५ संस्थान घाटामा गएको छ भने ३ वटा संस्थानको कारोबार शून्य अवस्थामा पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा २६ वटा संस्थान नाफामा गएको हो । सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणले नाफा आर्जन गरेको छ । प्राधिकरणले ९ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यसपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ७ अर्ब ९२ करोड, कृषि विकास बैंक १ अर्ब ३२ करोड, राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ६० करोड, नेपाल बैंक लिमिटेड ३ अर्ब ४४ करोड, नागरिक लगानी कोष ३ अर्ब ८६ करोड, नेपाल नागरिक उड्डयन प्राधिकरण २ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
नाफामा रहेका २६ संस्थानहरुका खुद नाफा ९८१.४० प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । यस्तै नोक्सानीमा सञ्चालित १५ संस्थानको खुद नोक्सानी २.८१ प्रतिशतले बढेको छ ।
४४ संस्थानमध्ये १० वटा औद्योगिक, ५ जनपयोगी, ४ व्यापारिक, ९ वित्तीय, ५ सामाजिक, र ११ वटा सेवातर्फ संस्थानहरु हाल अस्तित्वमा छन् ।
आर्थिक वर्ष २०७८/७९ मा संस्थानहरुको खुद नाफा १ अर्ब ५४ करोड रहेकोमा आर्थिक वर्ष २०७९/८० मा उक्त नाफा ३०४६.२ प्रतिशतले बढेर ४८ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानहरुको कूल सेयरधनी कोष वृद्धि हुनुका साथै सरकारको सेयर तथा ऋण लगानीसमेत वृद्धि भएको छ । सरकारको सेयर र ऋण लगानी अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले बढेको प्रतिवेदनले औंल्याएको छ ।
सार्वजनिक संस्थानहरुबाट आर्थिक वर्ष २०७८/७९ मा सरकारले ६ अर्ब १६ करोड लाभाँश प्राप्त गरेको थियो । जसअनुसार आर्थिक वर्ष २०७९/८० मा १० अर्ब लाभाँश प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानहरुबाट प्राप्त लाभांश कूल सेयर लगानीको २.६३ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा नेपाल दूरसञ्चार कम्पनीबाट ६ अर्ब ५९ करोड, कृषि विकास बैंकबाट ३८ करोड ५० लाख, राष्ट्रिय वाणिज्य बैंकबाट १ अर्ब ५ करोड, नेपाल बैंक लिमिटेडबाट ७३ करोड ४७ लाख, नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट ५८ करोड ६६ लाख रुपैयाँ सरकारले लाभांश प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानहरुको खुद सञ्चित नाफा १६.६८ प्रतिशतले वृद्धि भएर ६१ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ५२ अर्ब ४१ करोड रुपैयाँ थियो ।
सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई सेवा निवृत भएपछि उपदान, निवृत्तभरण, औषधी उपचार, बीमा, विदाको रकमजस्ता विभिन्न शीर्षकबाट दिइने सुविधाको कारण हरेक संस्थानको कोषमा व्यवस्था नगरिएको दायित्वको अंश आर्थिक वर्ष २०७९/८०) मा ११.६३ प्रतिशतले वृद्धि भएर ५२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो दायित्व ४७ अर्ब ३६ करोड रुपैयाँ थियो ।