मस्क-ट्रम्प मित्रता: टेस्लालाई च्यापेर चिनियाँ ईभी रोक्न चाहन्छन् ट्रम्प ?



एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा प्रचारप्रसार अभियानमा रहेका बेला डोनाल्ड ट्रम्पले विद्युतीय सवारीको विषयमा थुप्रै कुरा बोलेका थिए ।

उनले ‘विद्युतीय सवारी साधनको बाध्यतालाई एक दिन अन्तय गर्ने’ भन्दै ‘ईभीको काम नभएको’ र यसले अमेरिकी गाडी निर्मातालाई क्षति पुर्याएर चिनियाँ र मेस्किसन गाडी निर्मातालाई फाइदा पुर्‍याउने तर्क गरेका थिए ।

तर उनी चुनावी अभियानका क्रममा एलन मस्कसँग पनि निकट भएको देखियो ।

मस्क अमेरिकाकै सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता कम्पनी चलाउँछन् । र सम्भवत ट्रम्पले उनलाई विभिन्न नीतिगत विषयमा मस्कबाट सल्लाह पनि लिन सक्छन् । आंकलनअनुसार त झन् उनले यी अर्बपतिलाई आफ्नो कार्यकालमा कुनै भूमिकामा पनि नियुक्त गर्न सक्ने सम्भावना समेत रहेको छ ।

अमेरिकी मतदाताले राष्ट्रपतिमा ट्रम्पलाई निर्वाचित गराएका छन् । उनको यो दोस्रो कार्यकाल हो ।

राष्ट्रपति भएसँगै अब उनको कार्यकाल, नीतिगत निर्णय र अन्य कदमहरुले अटो क्षेत्र र त्यसमा पनि विशेषत विद्युतीय गाडीतर्फ गइरहेको यो उद्योगलाई कसरी प्रभाव पार्ला ? अनि उनको जीतको अर्थ मस्कका लागि के हो ?

पहिलो कुरा त ट्रम्पले निवर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा ल्याइएको मुद्रास्फिति कम गर्ने सम्बन्धी ऐनअन्तर्गत रहेका ‘खर्च नभएका सबै कोषलाई खारेज गर्ने’ भनेका छन् । उक्त कोषमा अमेरिकी सरकारले आफ्नै देशमा विद्युतीय गाडीको उत्पादनलाई प्रोत्साहन गर्नका लागि घोषणा गरेको धेरै रकम छ।

ट्रम्पले यी सबै अनुदानलाई खारेज गर्ने सम्भावना उच्च छ, जसमा विद्युतीय गाडीमा दिइने कर छुटदेखि ब्याट्री उद्योग र उत्खनन्मा दिने भनिएका अनुदानहरु पनि रहेका छन् ।

उनको यो कदम भलै अलोकप्रिय होला । कारण कर छुट अमेरिकामा विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने सफल कदमका रुपमा साबित भइसकेको छ ।

बाइडेन सरकारले दाबी गरेअनुसार उनीहरुले गाडी खरिदकर्ताको एक अर्ब अमेरिकी डलर रकम सन् २०२४ मा मात्रै बचाएका छन् ।

यो छुट अहिले बिक्रीकै बिन्दुमा पनि लगाउन सक्ने व्यवस्था छ । जसले गर्दा खरिदकर्ताहरुले वितरकबाट गाडी किनेको बेलामा छुट पाउन सक्छन् । र कक्स अटोमोटिभकाअनुसार अमेरिकामा सन् २०२४ को तेस्रो त्रैमासमा ईभीको बिक्री गत वर्षको यहि समयकोभन्दा ११ प्रतिशतले बढेको छ ।

यी कर छुट र अनुदानहरु खारेज गरिनुले अमेरिकी नागरिकलाई विद्युतीय गाडी महँगो हुन जान्छ । जसको परिणामस्वरुप कम गाडीहरु बिक्री हुनेछन् । र यसले उत्पादनकर्तालाई पनि आफ्नो योजना सरकारको अनुदार कर नीतिकाबीच परिमार्जन गर्नुपर्ने हुन्छ । सञ्चालनमा आउन बाँकी रहेका उद्योगहरु पनि यो खतरामा छन् ।

तर गाडी निर्माण गर्नु र त्यसको विकास प्रक्रियालाई सञ्चालन गर्नु पछिल्ला वर्षहरुमा महंगो हुँदै गएको छ । अमेरिकी गाडी निर्माताहरुले आफ्नो देशमा नियामकीय स्थायित्व खोजेका छन् । तर त्यसमा ट्रम्प ध्यान दिन्छन् वा दिँदैनन् भन्ने पूर्णरुपमा अस्पष्ट छ ।

‘अबको सरकारले व्यक्तिगत कर छुटमा कस्तो परिवर्तन ल्याउँछ भन्ने कुराले उत्तर अमेरिकी अटोमोटिभ उद्योग कता जानेछ भन्ने कुरा देखाउनेछ’, वैश्विक रुपमा गाडीहरुको विषयमा प्रक्षेपण गर्ने संस्था अटोफोरकास्ट सोलुसनका उपाध्यक्ष सेम फिओरानीले भनेका छन्, ‘अहिले ईभीको माग बढ्नुको प्रमुख कारण भनेकै यस्ता अनुदान हुन् । र यीनै अनुदानका कारण उत्पादकहरुले पनि काम गर्न सकेका छन् ।’

अर्को सम्भावना त ट्रम्पले अमेरिकामा सञ्चालनमा रहेको राष्ट्रिय विद्युतीय गाडी पूर्वाधार (नेभी) कार्यक्रमलाई पनि खारेज गर्न सक्छन् । तर यसो भएमा पनि १४ प्रतिशत नेभी कार्यक्रमको अनुदान भने प्रत्यक्ष रुपमा टेस्लालाई जानेछ, किनकी टेस्ला अमेरिकाभरमा नै सबैभन्दा ठूलो विद्युतीय गाडी चार्जिङ पूर्वाधार प्रदान गर्ने कम्पनी हो ।

ट्रम्पले उक्त कार्यक्रम आफ्ना नयाँ प्रिय साथी मस्कलाई फाइदा पुर्‍याउना लागि यो कार्यक्रमलाई खारेज गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट छैन । तर मस्क स्वयंले पनि नेभी कार्यक्रमलाई अपमान गर्ने किसिमले बोलेका छन् । यसले पनि यो कार्यक्रम खारेज हुन सक्ने सम्भावना छ ।

मस्कसँग सम्बन्धित भएर ट्रम्पको विजयलाई हेरिरहँदा टेस्लाका केही लगानीकर्ताहरुले भने नयाँ सरकार र ट्रम्पको प्रशासन अटो उद्योगतर्फ नकारात्मक रुपमा उत्रिन सक्ने बताएका छन् । तर यसो भइरहँदा यसले भने मस्कलाई फाइदा नै पुग्ने सम्भावना छ । मस्क जसले ट्रम्पको चुनावी अभियानलाई समर्थन गर्न ११ करोड ९० लाख अमेरिकी डलर खर्च गरेका छन् ।

विडबुस विश्लेषक ड्यान इभेसकाअनुसार टेस्लासँग विद्युतीय गाडीको उद्योगमा कसैले पनि टक्कर दिन नसक्ने किसिमको क्षमता र योजना छ । जसका कारण ईभीका लागि असमर्थित वातावरणमा मस्क र टेस्लाले स्पष्ट रुपमा नै प्रतिस्पर्धी बिहीन अवस्था पाउनेछन् । जसले उनीहरुलाई थप बृहत हुन फाइदा पुग्नेछ ।

इभेस पछिल्लो समय अमेरिकी बजारमा अत्याधिक मात्रामा बाढीको रुपमा भित्रिरहेका बिवाईडी, नियोजस्ता चिनियाँ ईभी खेलाडीहरुलाई ट्रम्प प्रशासनले लगाउन सक्ने उच्च करले कम गर्ने सम्भावना छ । र यसले अन्तत फाइदा भने मस्कलाई नै हुनेछ ।

यसबाहेक ट्रम्पले बाइडेन प्रशासनले ल्याएको नयाँ टेलपाइप उत्सर्जन मापदण्डलाई पनि खारेज गर्ने वा कमजोर बनाउन सक्नेछन् । यो मापदण्ड भनेको जैविक इन्धनको प्रयोगबाट चल्ने गाडीहरुबाट निस्किने प्रदुषणसँग सम्बन्धित नियम हो ।

मस्कले उक्त मापदण्ड खारेज गरेमा वा कमजोर बनाएमा अमेरिकाले सन् २०३२ सम्म हरित उर्जा उत्सर्जन आधाले घटाउने भनेर राखेको लक्ष्य पनि असफल हुनेछ । उनले ‘विद्युतीय गाडी अनिवार्य’ हुनुपर्ने विषयको विपरित बोलिरहँदा यो कुरालाई पनि संकेत गरेका छन् । द भर्ज डट कमबाट


क्लिकमान्डु