पाकिस्तानमा पनि देखियो घातक मंकीपक्स, नेपाल कति जोखिममा ?



एजेन्सी । अफ्रिकाका केही देशहरुमा तीब्र रुपमा फैलिरहेको घातक मंकीपक्स संक्रमण पाकिस्तानमा पनि देखिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार खाडी देशबाट स्वदेश फर्किएका खैबर पख्तुनख्वाका एक युवकमा मंकीपक्सका संक्रमण देखिएको छ ।

साथै स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिले ककसलाई भेटेका थिए भनेर खोजी भइरहेको भन्दै नमूना लिने तयारी गरिएको पनि जनाएको छ । बिहीबार पाकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा कडा निगरानी गरिने जनाएको थियो ।

यस्तै पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा. मुख्तार अहमदले सरकारी अस्पतालहरुमा सावधानी अपनाउन सरकारले निर्देशन दिएको जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालय कुनै पनि प्रकारको अवस्थालाई समाधान गर्नका लागि सतर्क रहेको पनि बताइएको छ ।

यसअघि स्विडेनमा पनि मंकीपक्स संक्रमण पुष्टि भएको थियो । जुन युरोपियन देशहरुमै पहिलो संक्रमणको केस हो । स्विडिस एजेन्सीका अनुसार संक्रमित व्यक्ति अफ्रिकामा संक्रमणको क्रममा नै स्वदेश फर्किएका थिए ।

विश्व स्वास्थ्य संगठनले मंकीपक्सका संक्रमितको संख्या बढिरहँदा यही मंगलबार विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । साथै यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय पहलकदमीको लागि पनि विश्व स्वास्थ्य संगठनले आह्वान गरेको छ ।

मंकीपक्सको रुपमा चिनिने एमपंक्स एक संक्रमण हो । जुन अफ्रिकी देश कंगोमा तीब्र रुपमा फैलिरहेको छ । कंगोमा मात्रै यसबाट ४ सय ५० भन्दा धेरैको मृत्यु भइसकेको छ । साथै अरु हजारौंको संख्यामा संक्रमित भएका छन् । यसअघि २०२२ मा पनि मंकीपक्स फैलिए पनि यसपटक फैलिएको मंकीपक्स क्लेड १ प्रकारको हो । जुन क्लेड २ भन्दा घातक मानिएको छ । २०२२ मा भने क्लेड २ थियो ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले पनि यसलाई घातक भन्दै सावधानी अपनाउनुपर्ने उल्लेख गरेको छ । यद्यपि नेपालको सन्दर्भमा हालसम्म यसको संक्रमण पुष्टि भएको छैन । साथै नेपाललाई जोखिम क्षेत्रको रुपमा पनि सूचीकृत गरिएको छैन । यद्यपि खुला सीमा रहेको छिमेकी देश भारतसँग पाकिस्तानको सीमा जोडिएकाले विज्ञहरुले भारतमा यो संक्रमण फैलनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

यसअघि २०२२ मा भने मंकीपक्स प्रकोप फैलिँदा नेपाल, भारत, पाकिस्तान लगायत दक्षिण एसियाली देशहरुले यसलाई गम्भीरतापूर्वक नलिएको भन्दै विज्ञहरुले कडा निगरानी बढाउन सुझाव दिएका थिए । यसवाहेक २०२२ को प्रकोपभन्दा यसपटकको प्रकोप बढी घातक रहेको भन्दै आएका छन् । कंगोबाट सुरु भएको यो संक्रमण प्रत्येक एक सय संक्रमितमध्ये चार जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

यो संक्रमण फ्लू जस्तै देखिन्छ । र छालामा फोका उठ्नुका साथै ज्यानै लिनसक्ने विज्ञहरुले बताउँदै आएका छन् । कतिपय विज्ञहरुले भने यो सबैभन्दा घातक संक्रमणमधये एक भएको र यसलाई तत्कालै नियन्त्रण गर्नुपर्ने बताउँदै आएका छन् ।


क्लिकमान्डु