एक वर्षमा ४३४ उद्योग दर्ता, लगानी २ खर्ब १ अर्ब



काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैप्रकारका गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागका अनुसार गत् आर्थिक वर्षमा स्वदेशी तथा विदेशी गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिइएको हो । यस्ता उद्योगहरुमा कूल प्रस्तावित लगानी २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ छ।

विभागका प्रवक्ता अर्जुनसेन ओलीकाअनुसार उक्त आर्थिक वर्षमा ठूलो लगानीको उद्योगतर्फ ८० वटालाई सञ्चालनका लागि अनुमति दिने लक्ष्य भएकोमा ४९ वटालाई अनुमति दिइएको छ ।

यस्तै मझौलातर्फ ८५ वटा लक्ष्य तोकिएकोमा ५२ वटालाई अनुमति प्रदान गरिएको छ । त्यसैगरी साना उद्योगतर्फ २ सय वटा तोकिएकोमा ३ सय ३३ वटा साना उद्योग सञ्चालनका लागि अनुमति प्रदान गरिएको छ ।

साना उद्योगतर्फ लक्ष्यभन्दा १ सय ३३ वटा बढि उद्योग सञ्चालनको लागि अनुमति पाएको हो । वितेको असार महिनामा मात्रै ५७ वटा साना उद्योगले सञ्चालनको लागि अनुमति पाएका छन् ।

सञ्चालनका लागि अनुमति प्राप्त गरेका उद्योगहरुले २५ हजार ५ सय ५१ जनालाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराउने प्रस्तावना पत्रमा उल्लेख गरेका छन् । विभागका अनुसार गत् आर्थिक वर्षमा ४ सय २ वटा वैदेशिक लगानीमा उद्योग सञ्चालनका लागि अनुमति प्राप्त गरेका छन् ।

गत असार महिनामा मात्रै ४८ वटा वैदेशिक लगानीको उद्योगले अनुमति पाएका छन् । यस्ता वैदेशिक लगानीको उद्योगहरुमा ६१ अर्ब ७८ करोड रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । वैदेशिक लगानीमा सञ्चालनका लागि अनुमति प्राप्त गरेका उद्योगहरुबाट १९ हजार ५ सय ६५ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने बताइएको छ ।

यो अवधीमा २ वटा प्याटेण्ट दर्ता भएको छ भने ११ वटा डिजाइन दर्ता भएको छ । विभागले त्यो वर्षमा ६ हजार ५१ वटा टे«डमार्क दर्ता गरेको छ । असारमा मात्रै ५ सय ५७ वटा टे«डमार्क दर्ता भएको थियो । यस्तै ५१ वटा उद्योग सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्ने काम सम्पन्न भएको छ ।

ओलीका अनुसार गत आर्थिक वर्षमा १ सय १३ वटा टे«डमार्कसम्बन्धी मुद्दामा कारवाही गरिएको छ । असारमा मात्रै २० वटामाथि यस्तो कारवाही गरिएको थियो । उक्त अवधीमा ८५ वटा सरोकारवालालाई वस्तु निर्यातका लागि सर्टिफिकेट अफ ओरिजिन पनि प्रदान गरिएको थियो ।


क्लिकमान्डु