अम्बिका दिदी: एक अथक प्रेरणादायी पर्यटन धरोहर



हामीले भोगेको र बुझेकै कुरा हो, मान्छेको भौतिक जीवन निश्चित समयका लागि मात्रै हुन्छ । जीवन एउटा यस्तो यात्रा हो जुन एक दिन अकस्मात विराम लाग्दछ र टक्क रोकिन्छ ।

मृत्य शाश्वत सत्य हो र जतिसुकै निश्चित भए पनि यो समाचार हाम्रा लागि अकल्पनीय नै लाग्दछ । सबैकी प्रिय, अत्यन्तै सम्मानीत र आदणीय व्यक्तित्व अम्बिका दिदीको निधनको दुखद खबर सुन्दा मलाई पनि अकल्पनीय नै लाग्यो र यसले हामी सबैलाई निकै मर्माहत बनाएको छ ।

दिदीको कर्मशील जीवनका बारेमा धेरै सुने पनि मेरो प्रत्यक्ष भेट २४ वर्ष अघि भएको थियो । त्यस पश्चात मेरो ह्दयमा उहाँ सदैव एक उच्च सम्मानका साथ रहनुभयो । जहिले पनि गुणस्तरीय पर्यटनको पैरवी गर्ने तथा प्राकृतिक वातावरण र साँस्कृतिक सम्पदाहरुको संरक्षणमा सक्रिय रहने अम्बिका दिदीको उर्जा र औराले हामी सबै पर्यटनकर्मीलाई उत्साहित बनाउँदथ्यो ।

अम्बिका दिदी जहाँ जहिले भेटिएपनि मलाई नजिकै बोलाएर पर्यटन क्षेत्रको अवस्था र दिशाका बारेमा केही चिन्ता र केही चासोका साथ परिचर्चा गर्न रुचाउनु हुन्थ्यो । र, सुझाव दिनुहुन्थ्यो, ‘कहिल्यै नथाक्नु, राम्रोका लागि निरन्तर लागि रहनु ।’

र हौसला दिनुहुन्थ्यो ‘पवित्र उद्देश्यले राम्रो गर्छु भन्नेहरु कम हुन्छन् र उनीहरु पनि हराए भने समाजमा आशा हराउँछ ।’

साँस्कृतिक हिसाबले अत्यन्तै धनी, भौगोलिक हिसाबले अत्यन्तै विविधिकृत, प्राकृतिक हिसाबले अत्यन्तै मनोरम, आतिथ्यतापूर्ण व्यवहारले भरिपूर्ण नेपाल पर्यटनमा अथाह सम्भाव्यता बोकेको देश भए पनि दिशाहीन देखिँदा उहाँ बेला बेला घोत्लिनुहन्थो ।

हामी ‘ल्यान्डलक्ड होइन माइन्ड लक्ड देश हो र त्यसबाट निस्केर सम्बृद्धिउन्मुख सोचका साथ अघि बढ्नुपर्छ , हाम्रो देश गरिब होइन, सोच गरिब छ’ दिदीले भनेको म झल्झली सम्झन्छु ।

मुख्य लगानी होटल क्षेत्रमा भए पनि टुर, ट्रेकिङ, सम्पदाजस्ता क्षेत्रमार्फत पनि दिदीले उल्लेख्य योगदान पुर्‍याउनु भएको छ । नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य र नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस्, ट्रेकिङ एजेन्सिज एशोसियन अफ नेपाल, स्कल नेपाल, पाटा नेपाल, नेपाल सम्पदा समाजजस्ता विभिन्न संस्थाको अध्यक्ष रहि पर्यटनका थुप्रै क्षेत्रमा उहाँबाट भएको स्मरणयोग्य योगदान सबैका लागि साँच्चीकै प्रेरणादायी छ ।

सन् १९९९ देखि नै विमान अपहरण, दरबार हत्याकान्ड, सशस्त्र द्वन्द्व, व्यवस्था परिवर्तन, अस्थिर राजनीति, दिनहुँ जस्तो हुने बन्द हड्ताल, महाभूकम्प, अघोषित नाकाबन्दी, कोभिडजस्ता अनेकन संकटबाट नेपालको पर्यटन गुज्रिँदा पनि आफ्नो कर्ममा कहिल्यै शिथिलता आउन नदिने अम्बिका दिदी साँच्ची कै अथक कर्मयोद्धा हुनुहुन्थ्यो ।

हामी सबैकी कर्मशील हाम्री अम्बिका दिदी, सोचाइमा पनि कहिल्यै निराश नहुने, सदैव दृढ निश्चयी हुनुहुन्थ्यो।

दिदीलाई केहि वर्ष अघिअलि जटिल बिमारीले च्याप्यो, तर पनि उहाँको सक्रियता कहिल्यै घटेन । दुई दर्जन वर्षअघि जब मैले पहिलोपल्ट उहाँलाई प्रत्यक्ष्य भेटेँ, त्यति बेलादेखि उहाँमा सकारात्मक सोच र सक्रियतासहितको उर्जा ९२ वर्षको उमेरमा पनि उस्तै थियो ।

सायद, एउटा अनौठो आत्मबलसहितको एउटा विशेष एवं दैवीशक्ति थियो उहाँमा।

आजका दिनमा थुप्रै अन्तर्राष्ट्रिय ख्यातीप्राप्त प्रतिष्ठित ब्रान्डका होटल नेपाल भित्रिँदा पनि प्रतिस्पर्धाभन्दा माथिको सम्पदासहितको र अग्रणी छवी सहितको पर्यटकीय उपज, द्धारिकाज्, जो नेपाल भ्रमण गर्ने विशिष्ट पाहुनाहरुको पहिलो रोजाइ बन्ने गरेको छ । द्धारिकाजको परिकल्पना दिदीको अत्यन्तै प्रशंसनीय दुरदृष्टि, विश्वास, अठोट, र लगनले नै साकार भएको हो ।

अन्यथा, एउटा गोठजस्तो छाप्रोबाट विशेष पहिचान सहितको विख्यात होटल त्यसै बन्दैन ।

२०७२ को महाभूकम्पपछि पर्यटन बोर्डमार्फत हामीले पहिलोपल्ट आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘घुमफिर वर्ष’ नामक एक वर्षे विशेष अभियान चलाएका थियौं । २०७३ सालमा दिदीले, म पनि कुनै एक गन्तव्य घुम्न जान्छु र अभियानको हिस्सा बन्छु भनेर सबैलाई उत्प्रेरित गर्नुभएको थियो । गन्तव्यको छवी राम्रो बनाउनु पर्छ भन्नेमा उहाँको चासो र सक्रियता सँधै रहने गरेको थियो ।

विशेष कार्यक्रमका त कुरै छोडौं ससाना कार्यक्रको उद्घाटन पनि मन्त्री/प्रधानमन्त्री/राष्ट्रपतिलाई प्रमुख अतिथि बनाई गर्ने प्रचलन व्यापक छ, नेपालमा । तर उहाँ र उहाँ जस्ता निजी क्षेत्रका हस्तिहरुलाई प्रमख अतिथि बनाई उहाँहरुको योगदानको सम्मान गर्न पर्छ भनेर हामीले अम्बिका दिदी र कर्ण दाईलाई आमन्त्रण गरी युरोपलक्षित नेपाल भ्रमण वर्ष अभियानको उद्घाटन गराएका थियौं, सन् २०१७मा ।

पदयात्रीको फेक रेस्क्यु (नक्कली उद्धार)का बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नकारात्मक समाचार सम्प्रेषण भइरहेका बेला दिदीले तत्कालीन मन्त्री र सरकारी, निजी सरोकारवालाहरुसंग घनीभुत छलफल चलाउनु भएको थियो । मलाइ त्यस्ता बैठकहरु सहजीकरण गर्न लगाउनु भएको अझै सम्झना छ । विगत केही महिनामा नेपालको ब्रान्डिंग र प्रवद्र्धनकै लागि स्थापित संस्था पर्यटन बोर्डबाट अन्तर्राष्ट्रिय स्रोत बजारमा बजारीकण तथा प्रवद्र्धनका काम नहुँदा पनि उहाँले मलाई सहजीकरण गर्न सम्झाउनु भएको थियो ।

समग्रतामा पर्यटनमार्फत सम्वृद्धिका लागि अम्बिका दिदी सदा तत्पर रहनु हुन्थ्यो ।

केही वर्षअघि पर्यटन बोर्डको हलमा पर्यटन क्षेत्रमा अतूल्य योगदान पुर्याउनु भएका अर्का व्यक्तित्व आदर्णीय टेकचन्द्र दाईको शोकसभा थियो । त्यस दिन मलाई लाग्यो विगतमा दशकौंदेखि अथक प्रयास र लगानी गरेर नेपाली पर्यटनलाई जन्माउने हुर्काउनेहरुका सोच विचार र त्यतिखेरको अवस्थाका बारे हामीले केहि सम्झना उहाँहरु जीवित हँदानै नराख्ने हो भने हामीले ठूलो ज्ञानको स्रोत गुमाउने छौं र यो पर्यटन क्षेत्रप्रति पनि ठूलो अन्याय हुन्छ ।

त्यसपछि बोर्डमा मिडिया समन्वय गर्ने अधिकृत साथी सुधन सुवेदीसँग छलफल गरी उहाँलाई समन्वय गर्न लगाई पहिलो चरणमा त्यस्ता ३० व्यक्तित्वहरु छनोट गरी उहाँहरुसँगको सम्वादको भिडियो आर्काइभ राख्ने थालनी गरेको कार्यले आज मलाई सन्तोष लागेको छ ।

कम्तीमा यस्ता अग्रजहरुको केही भिडियो आर्काइभिङ गर्न सकेकोमा । र यो कार्य हाल रोकिएको छ । यसले निरन्तरता पाओस् भनि कामना पनि गर्दछु । त्यसैक्रममा अम्बिका दिदीसँग रेकर्ड गरिएको सम्वादको छोटो अंश मेरो सामाजिक संजाल फेसबुक पेजमा पनि पोस्ट गरेको छु ।

दिदीको महाप्रस्थानको दुखद समाचारपछि हामीले समाजिक सञ्जाल र मिडियामा हेर्यौं भने पनि देखिन्छ उहाँ प्रति स्वेदशी विदेशीहरुको कति आत्मीय र सम्मानपूर्ण भाव रहेछ भनेर ।

वास्तवमा एउटा मान्छेले आफ्नो दृढ सोच, निरन्तरको लगनले गरेको सृजना, र त्यसले पारेको वृहत्तर सकारात्मक प्रभावले नै अरुलाई प्रेरित गर्ने गर्दछ । पर्यटनकी धरोहर र प्रेरणादायी उद्यमी, हाम्री आदरणीय र अत्यन्तै प्रिय अम्बिका दिदी पनि हाम्रा लागि र आगामी धेरै पुस्ताका लागि एक उदाहरणीय व्यक्तित्वकारुपमा रहि रहनु हुनेछ र उहाँको चिनोको रुपमा द्धारिकाज हामीमाझ सदैव रहिरहने छ ।

हामी सबैकी अम्बिका दिदीप्रति भावपूर्ण श्रद्धान्जली र सम्मानसहितको श्रद्धासुमन!

(जोशी विश्व पर्यटन सन्जालका संस्थापक सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत हुन् । )


क्लिकमान्डु