घरबाट निस्किएपछि ठडिएको द्वारिकाज होटल
काठमाडौं । २०११ सालतिर भायोलिन बजाएर प्रेमको इजहार गर्नु पक्कै पनि समान्य थिएन । अझ प्रेमिकालाई उनकै घरमा गएर भायोलिन बजाउँदै प्रेमको प्रस्ताव गर्नु त सिनेमा बाहेक वास्तविक जीवनमा कमै अनुभव गर्न पाइन्थ्यो ।
२५ वर्षीय द्वारिकादास श्रेष्ठ पहिलोपटक अम्बिकाको घर पुगे भायोलिन बोकेर । अम्बिका उनको फरासिलो लवज, सुगठित शरीर र हातमा भायोलिन देखेर मोहित थिइन् । परिवारमा विवाहको कुरा चल्दा उनी कतिपटक लाजले रातोपिरो हुँदै निहुरिन्थन्।
द्वारिकाको फोटो पहिलो पटक घरमा पुग्दा उनी त्यसरि नै निहुरिएकी थिइन् र भनेकी थिइन् ‘फोटो हेर्दिन तपाईहरु नै हेर्नुस् ।’
‘मैले नेपालबाट विवाहको लागि कुरा आएको छ भन्ने थाह पाइसकेकी थिए,’ करिब ७० वर्षपछि उनै अम्बिका द्वारिकासँगको पहिलो मिलनलाई सम्झेर चन्चल बन्छिन् ।
त्यसो त पहिलो भेट अगाडि नै द्वारिका र अम्बिकाको परिवार बीच कुराकानी भइसकेको थियो ।
विराटनगरका बडाहाकिम, काठमाडौँमा घर र पढेलेखेको शिक्षित भनेरै परिवारले अम्बिकालाई दुहली बनाएर नेपाल पठाउन चाहेको थियो । अम्बिका पनि पढाइमा अब्बल, हक्कि स्वभावकी । शिक्षित परिवारमा हुर्किएकी थिइन् ।
द्वारिका महिला शशक्तिकरणमा विश्वास राख्थे । महिलालाई चुलाचौकामै सीमित राख्ने सामाजिक परिवेशमा पनि उनी भने महिला कामकाजी हुनुपर्छ, आत्मनिर्भर हुनपर्छ भन्थे ।
शिक्षित परिवारमा हुर्किएकी अम्बिकालाई त्यसबेला नै सिक्किमको महँगो स्कुलमा परिवारले पढाएको थियो । ‘मलाई सबैभन्दा महँगो स्कुल लोरेटोमा पढाउनु भएको थियो’ उनी भन्छिन् ।
बेलायती शासनबाट मुक्त हुँदै गर्दा भारतमा थुप्रै ठूला विद्यायलय खुलेका थिए । जहाँ बेलायती नागरिक र त्यसबेलाका राज रजौटाका छोरा छोरीहरु पढ्ने गर्थे ।
अम्बिकाको परिवार कपर माइनिङको व्यवसायमा संलग्न थियो । राजामहाराज पढ्ने विद्यालयमा पढाउने उति हैसियत नभए पनि उनीहरुले अम्बिकालाई त्यतिबेला सिक्किमको जल्दोबल्दो लोरेटोमा स्कुलमा पढाएका थिए ।
अम्बिका त्यसबेला लोरेटो स्कुल पढ्ने एकमात्रै सामान्य नागरिककी छोरी थिइन् । उनीसँगै पढ्दै थिइन् त्यसबेलाका बंगाल राज्यका राजा बदर्मान महाराजकी छोरी । ती राजकुमारीको नाम याद नभए पनि ८ दशक अघिको स्मृति अझै ताजै छ अम्बिकाको मानस्पटलमा ।
छोरीलाई पढाउन कस्सिएको परिवारले अम्बिकालाई विवाहको कुरामा पनि स्वतन्त्र छाडेको थियो ।
त्यसबेलाको समाजमा बालविवाह मात्रै नभएर छोरीलाई विवाह अगाडि बर देखाउन हुन्न भन्ने प्रचल पनि व्याप्त थियो ।
‘त्यतिबेला रोजेर विवाह भन्ने कुरै हुन्थेन, मागी विवाह मात्रै हुन्थ्यो,’ उनी थप्छिन्, ‘तर मेरो परिवार शिक्षित भएकाले उहाँलाई भेट्न मलाई गाह्रो भएन । उहाँ घर आउँदा नै मैले उहासँग भेट्न बोल्न पाएँ’ उनले भनिन् ।
यस अगाडि नै उनका बारेमा अनेकौं कुराहरु अम्बिकासम्म आइसकेको थियो । द्वारिकाको फोटो एकजना नातेदारले अम्बिकाका परिवारलाई देखाइसकेका थिए । २५ वर्षे उमेरमा द्वारिका ‘बडी बिल्डर’ थिए । परिवारले द्वारिकाको फोटोलाई विवाहमा सदर गर्यो ।
‘केटीले कहाँ सुरुमा फोटो हेर्न पाउनु ?’ मुजापरेका गालालाई तान्दै उनि बेस्मारी हाँस्न थाल्छिन् । ‘परिवारले लु हेर हामीलाई मन पर्यो भनेर फोटो देखाउनुभयो । त्यसपछि मैले उहाँलाई तस्बिर मै भए पनि पहिलो पटक देखेँ ।’ फोटो हेरेरै अम्बिकाको मनमा द्वारिकाप्रतिको प्रेम अंकुराउन थालिसकेको थियो ।
विवाहको कुरा चलिरहेकै बेला एक दिन द्वारिका अम्बिकालाई भेट्न उनकै घर सिक्किम आइपुगे । त्यस बेला अम्बिकालाई उनीसँग भेटेर गफ गर्ने वातावरण परिवारले नै बनाइदिएको थियो ।
द्वारिकाको सुगठित शरीर, उनको फरासिलो बोली र महिलाप्रतिको उदार सोचले अम्बिका आकर्षित भइन् । अझ भायोलिन बजाएर पट्याउने उनको स्वभावले त उनी भुतुक्कै भइन् ।
पहिलो भेटमै द्वारिकाले उनलाई भायोलिन बजाएर सुनाए । संगीतका सौखिन द्वारिकाले अम्बिकालाई फकाउन भायोलिनको साहयता लिएका थिए । ‘म त त्यहि भायोलिन बजाएको देखेरै उहाँसँग मोहित भएँ’ उनी सम्झन्छिन् ।
छोरा र छोरी बीचको विभेद हटाउनुपर्छ भन्ने क्रान्तिकारी सोच राख्ने बुबाले द्वारिकालाई मन नपराउने कुरै भएन । अम्बिका त उनले भायोलिन बजाएको देखेरै मख्ख परिसकेकी थिइन् । परिवारको विवाह प्रस्तावमा उनले मौन स्वीकृति जनाइन् । उनको मौनतालाई अम्बिकाको परिवारले मात्र बुझेन द्वारिकाले पनि बुझे ।
उनी विवाहको तयारी गर्न नेपाल फर्किए । अम्बिका परिवारमा पनि विवाहको तयारी सुरु भयो । कोतपर्वबाट लखेटिएर सिक्किम पुगेको परिवारले फेरि छोरी नेपाल पठाउँदै थियो । अम्बिकाको मनमा नेपाललाई लिएर माया मात्र थिएन, एक किसिमको भय पनि थियो । काँठको परिवारमा बुहारी हुन न उनलाई नेवारी भाषा आउँथ्यो न त यहाँको रहनसहन नै ।
अम्बिकाको मानष्पटलमा विवाहका धेरै कुराहरु अवशेषमात्रै बाँकी छन् । भन्छिन्, ‘सन १९५५ (विसं २०११) तिर बिहे भएपछि म यहाँ आँए ।’ द्वारिकाको परिवार काठमाडौँस्थित इन्द्रचोकको मखनटोलमा थियो ।
छोटो कपालसहित अंग्रेजी लवजमा उनी बुहारी भएर नेपालमा भित्रिएकी थिइन् । द्वारिका उनको जीवनशैलीलाई महिला शशक्तिकरणसँग जोड्थे । तिमी आत्मनिर्भर बन्नुपर्छ, पढाई पूरा गर्नुपर्छ भनेर हौस्याइरहन्थे ।
‘यहाँको नेवारी समुदायमा छोटो कपाल र मेरो लवाइखुवाइकै कारणले धेरैपटक समस्यामा पार्थ्यो’ अम्बिकाको आधुनिक सोचलाई परिवारले नरुचाउनै भएकै कारण मनमुटावको अवस्था सिर्जना भइरहन्थ्यो ।
द्वारिका अम्बिकालाई अगाध प्रमे गर्थे । उनलाई दिक्क लाग्थ्यो स्वतन्त्र भएर हुर्किएकी अम्बिका यहाँ घरभित्रै सीमित हुन पर्दा । ‘मेरो शैली र मेरो छोटो कपालाई लिएर पाइलै पिच्छे परिवारले प्रश्न गर्न थालेपछि उहाँले घर छोडेर अन्तै बस्ने निर्णय गर्नुभयो’ उनी थप्छिन्,‘नेपालकी बुहारी भएर भित्रिएपछि घर बिगार्ने भन्ने नाम आउला भन्ने डरले मैले मानिन ।’
द्वारिकालाई थाह थियो उनी सबै सहेरै भए पनि परिवारमै बस्छिन् । एक दिन उनले जुक्ति निकाले र अम्बिकालाई भने ‘तिमी घरमै बस म चाहिँ निस्किन्छु यहाँबाट ।’ जसका लागि उनी नेपाल आएकी थिइन् उनैले जान्छु भनेपछि अम्बिकाले रोक्न सकिनन् । अम्बिका रित्तो हात लिएर श्रीमानसँग घरबाट निस्किइन् ।
घरबाट निस्किएपछि ठडियो द्वारिकाज होटल
घरबाटै निस्किएर श्रेष्ठद्वय हाल द्वारिकाज होटल रहेको स्थानमा बत्तिसपुतलीमा सरे । केही समय भाडाको घरमा बसेका उनीहरुले राणाहरुले घोडा बाध्ने तबेला बनाइरहेको स्थान किनेर त्यसलाई मर्मत गरेर घर बनाए । श्रीमान् द्वारिका पुराना शिल्पजडित काठहरुबाट मोहित थिए । उनी काठमाडौं डुल्दा पनि मक्किइ सकेका र फालिएका पुराना काठहरु भेला पार्थे । विभिन्न चित्र कुँदिएका पुराना काठहरुको संग्रह उनले घरमै गर्थे ।
अम्बिकाले भने घरमै गाई पालेकी थिइन् । द्वारिका वाणिज्य बैंकको सरकारी जागिर छोडेर ट्राभल एजेन्सीमा संलग्न थिए । उनले २०२५ सालबाट नै काठमाडौँ ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका थिए ।
त्यतिबेला काठमाडौँमा गेस्टहाउसहरु कम थिए । विदेशीहरु आउँदा बस्ने पर्याप्त ठाउँ थिएन । ट्राभल एजेन्सी भएका कारण द्वारिका आफैं पर्यटकका लागि होटल खोज्ने काम गर्थे । २०२८ सालमा वीरेन्द्रको राज्याभिषेकमा भाग लिन द्वारिकाकै एजेन्सीबाट विदेशी पाहुनाहरु ठूलो संख्यामा आउने र उनीहरुलाई बस्नका लागि होटल नपुग्ने भएपछि द्वारिका आफैं होटल खोल्न तम्सिए ।
आफूसँग भएका पुराना काठहरुको प्रयोग गरेर उनले सुरुमा ४ वटा कोठा भएको घर निर्माण गरे । उनको आधा घर आधा होटलले पनि प्रतिकृया राम्रो पाउँदै गयो । त्यसपछि उनी पुराना काठबाट एउटा/एउटा गर्दै साना घरहरु निर्माणमा जुटे । यद्यपी व्यवसायीक रुपमा भने द्वारिकाले विसं २०२८ बाटै द्वारिकाज होटलको सुरुवात गरेका हुन् ।
जब होटल सुम्पिएर द्वारिका बिदा भए
होटल बिस्तार गरेको केही वर्षमा नै द्वारिका थलिए । उनी मधुमेहबाट ग्रसित थिए । द्वारिका चाहन्थे नेपालमा हेरिटेज शैलीको उदाहरणीय होटल निर्माण गर्न सकुँ । उनी नेपाली शिल्पकला र यहाँको संस्कृति विदेशीलाई देखाउन चाहन्थे । तर उनको कमजोर बन्दै गएको शरीरले सपना पूरा गर्न दिएन ।
होटल पूर्णरुपमा सञ्चालनमा आइनसक्दै उनले संसारबाट बिदा लिए । ‘ठूलो लगानीबाट बनाएको भए २० औँ वर्ष लाग्दैन थियो तर हामीले टुक्राटुक्रामा सुरु गरेकाले होटल पूरै सञ्चालनमा आउनै समय लाग्यो’ उनले भनिन् ।
होटल सुरु भएको २० वर्षपछि अर्थात २०४८ साल द्वारिकाले शरीर छाडे । श्रीमानले छोडेर गएको आज ३२ वर्ष पुगिसक्यो । अम्बिका श्रीमानको सपना पूरा गर्न ९१ वर्षे उमेरमा पनि उस्तै खटिइरहेकी छिन् ।
द्वारिकाको सपनालाई द्वारिकाकै नामबाट पूरा गरिरहेकी छिन् । उनी द्वारिकाज होटलकी अध्यक्ष भएर जीवनको उतरार्धमा पनि श्रीमानको सपना पूरा गर्न लागिपरिरहेकी हुन् ।