शर्तअनुसार काम नगरेपछि दाताले रोक्यो तनहुँ हाइड्रोमा लगानी, आयोजना चरम आर्थिक संकटमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाले शर्तअनुसार काम नगरेको भन्दै दाताले भुक्तानी रोक्दा आर्थिक संकटमा परेको छ ।
जग्गाको विवादका कारण दातृ निकाय युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) ले साढे दुई वर्षदेखि रकम निकाशा गरेको छैन ।
दातृ निकायले निकासा नै दिन छाडेपछि कम्पनी आर्थिक संकटमा परेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार इआईबीले निकासा नदिँदा ८ महिनादेखि कम्पनीले निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको खुलेको छ ।
‘सुरुमा ड्यामको सेफ्टी देखाएर निकासा रोकियो । अहिले ऐलानी जग्गालाई पनि अन्य जग्गा सरह मुआब्जा दिनुपर्छ भनेर निकासा रोकिएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो,’ हामीले केहि गर्न सक्ने होइन । समिति बनाएर अध्ययन गरिरहेका छौं । मन्त्रिपरिषद्ले निर्णय गरे मात्रै दिन सकिन्छ ।’
कम्पनीका एक अधिकारीका अनुसार प्याकेज-१ मा एसियाली बिकास बैंक (एडीबी), इआईबी र नेपाल सरकारले सयुक्त रुपमा लगानी गर्ने समझौता छ । एडीबीले दिइरहेपनि इआईबीले शर्त अनुसार काम नगरेको भन्दै निकासा रोकेको हो ।
‘साढे दुई वर्षदेखि इआईबीबाट एक रुपैयाँ भुक्तानी आएको छैन । तिहारसम्म जेनतेन चलेको थियो । हामीले काम गरेको आधा भुक्तानी दिइरहेका थियौं । अहिले डेढ अर्ब एउटै कम्पनीको बाँकी छ । उसले पनि कसरी काम गरोस्,’ कम्पनीका एक इन्जिनियरले भने- ‘काम जेनतेन भइरहेको थियो, अब रोकिन्छ । अर्थ मन्त्रालयसँग निकासा मागेका छौं ।’
प्याकेज-१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम/कालिका कन्सट्रक्सन (प्र) लिमिटेड. नेपाल जेभीले गरिरहेको छ ।
स्रोतका अनुसार आयोजनाको जलाशयमा पर्ने १२ कित्ता (करिब ८० रोपनी) जग्गाको विवाद छ । उक्त जग्गा धनीले मुआब्जा लिन मानेका छैनन् ।
‘हामी खेतीपाती गर्ने मान्छे हौं, हामीलाई जग्गाको सट्टा जग्गा नै चाहिन्छ भनेका कारण उनीहरुले मुआब्जा लिन मानेनन्,’ स्रोतले भन्यो,- ‘अहिले यो विषय एडीबी, जाइका, इआईबी पुगेको छ । उनीहरुको गाइडलाइन अनुसार हुन सकेको छैन । सोही कारण आयोजनालाई समस्या भएको छ । यदि यी बैंकहरुले निकासा रोके भने आयोजना थप समस्यामा पर्छ ।’
यो आयोजनाको जलाशय भीमाद-५ पर्छ । ऋषिङमा बसोबास गर्ने १२ घरधुरीले जलाशयमा पर्ने जग्गाको साटो जग्गा मागेका हुन् ।
‘हामीले पालिकासँग पनि समन्वय गरिरहेका छौं । कतै जग्गा पाए दिने भन्नेनै हो । तर एनजिओहरुले खेलेर बिगारे,’ तनहुँ हाइड्रोपावर लिमिटेडका एक सञ्चालकले भने,’अहिले मुआब्जाबाहेक अन्य समस्या छैन ।’
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैंक (एडीबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख , युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
तनहुँ जलविद्युत् आयोजना ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५को सीमाना भएर बग्ने सेती नदीमा निर्माणाधीन छ । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको छ ।
आयोजनाको प्याकेज-२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । अहिले मुख्य सुरुङको कंक्रिट लाइनिङलगायका काम भइरहेको कम्पनीका अधिकारीहरुले बताएका छन् ।
नेपालमा कुलेखानी (१०० मेगावाट) बाहेक जलाशय प्रकृतिको आयोजना छैन। अधिकांश नदी प्रवाहमा आधारित छन् । जसको हिउँदमा उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण विद्युत प्राधिकरणलाई हिउँदको माग पूरा गर्न भारतबाट ६०० मेगावाट आयात गर्नुपर्छ । वर्खामा सरप्लस भएर ५०० मेगावाटभन्दा बढी खेर जान्छ । सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग हुने अपेक्षा गरिएको छ ।
मुख्य संरचनाहरुलाई तीन प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ । यो आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । प्याकेज-१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण कार्य धमाधम भइरहेको छ ।
आगामी असार दोस्रो सातभित्र जग खन्ने कार्य सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज-१को समग्र भौतिक प्रगति २९ प्रतिशत रहेको छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ ।
भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केईसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरहरुको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत रहेको छ ।
आर्थिक संकटको अवस्था आइपरे आयोजनाको लक्ष्य परे धकेलिने छ ।