सुन तस्करी प्रकरणमा पेवेल-सजिलो पेः तीन सहकारीको आधा करोड बढी पैसा रोक्का



काठमाडौं । ब्रेकसु मार्फत सुन तस्करीको भुक्तानी प्रकरणमा जोडिएका पेवेल नेपाल, सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिका कारण केही सहकारी संस्था पीडित बनेका छन् ।

गैह्रकानुनी काममा सजिलो पे, पेवेल नेपाल संलग्न भएपछि नेपाल राष्ट्र बैंकले दुवैको खाता रोक्का गरेको छ । राष्ट्र बैंकले खाता रोक्का गर्दा सजिलो पेमार्फत सेवा प्रवाह गरिरहेका तीनवटा सहकारीको ५८ लाख २८ हजार १० रुपैयाँ रकम रोक्का भएको छ।

सजिलो पेको खाता रोक्किदा चन्द्रागिरी बचत तथा ऋण सहकारीको १६ लाख ७७ हजार ८७५ रुपैयाँ रोक्का भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार सजिलो पेमा स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १७ लाख ८० हजार ७८४ रुपैयाँ, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको २२ लाख ४४ हजार ७९५ रुपैयाँ फसेको हो ।

यस्तै राष्ट्र बैंकले पेवेलको खाता रोक्का गर्दा चन्द्रागिरी बचत तथा ऋण सहकारीको १ लाख २४ हजार ५५६ रुपैयाँ रोक्का रहेको छ । पेवेलमा चन्द्रागिरीको मात्रै रहेको छ ।

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण कुमार श्रेष्ठका अनुसार सन् २०२३ जनवरी १९ मा सजिलो पे पे, उक्त सहकारी र एम बैंक टक्नोलिजीबीच त्रीपक्षीय सम्झौता भएको थियो ।

सहकारीमा रहेका सदस्यहरुको बचत रकम सदस्यहरुले ईछ्याएको बैंकमा आफैंले ट्रान्सफर गर्नका लागी सजिलो पेलाई गेटवेका रुपमा प्रयोग गर्दै आएका उनको भनाइ छ । सहकारी संस्थाहरुले आफै| सिधै बैंकमा पैसा जम्मा गर्न नसक्ने हुँदा ई–मनि वालेटका मार्फत मात्र बैंकमा पैसा ट्रान्सफर गर्न मिल्ने हुँदा सहकारीले उक्त त्रीपक्षीय सम्झौता गरेको उनले बताए ।

सहकारीले सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको खातामा विभिन्न मितिमा ७ करोड ७३ लाख ९८३ डिपोजिट गरेको थियो । उक्त रकमको स्रोत सहकारी सस्थांका सदस्यहरु बचत भएको जनाइएको छ ।

सहकारी संस्थाले पेवेल नेपाल प्रालिसँग समेत रेमिट्यान्समा सहकार्य गर्ने भनि एम बैंकमार्फत परीक्षणको रुपमा केही भुक्तानीहरु गर्दै आएको थियो । सहकारीले १३ लाख ९६ हजार ४८७ रुपैयाँको कारोबार रेमिट्यान्सको लागि गरेको छ ।

सहकारीले सजिलो पे र पेवेल नेपालमा रोक्का भएको रकम सहकारीको नाममा दिलाई भराई पाँउ भन्ने माग गरेको छ ।
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका तुलसी राम थापाका अनुसार राष्ट्र बैंकले सजिलो पेको खाता रोक्का राख्दा १७ लाख ८० हजार ७८४ रुपैयाँ सहकारीको पैसा रोक्का रहेको छ ।

सन् २०२३ फेब्रुअरी १६ मा सजिलो पे, स्वर्ण लक्ष्मी सहकारी र एम बैंक टक्नोलिजीसँग त्रीपक्षीय सम्झौता भएको थियो । सहकारीमा रहेका सदस्यहरुको बचत रकम उनीहरुले चाहेको बैंकमा आफैंले बैंक ट्रान्सफर गर्नका लागी सजिलो पेलाई गेटवे का रुपमा प्रयोग गर्दै आएको सहकारीले जनाएको छ ।

सहकारीका सदस्यहरुले ईच्छयाएको बैंकमा रकम ट्रान्सफर गर्ने सिलसिलामा सजिलो पेको खातामा विभिन्न मितिमा १ अर्ब ३ करोड ८८ लाख ३८ हजार ५१० रुपैयाँ डिपोजिट भएको थियो । उक्त रकमको स्रोत सहकारी बचतकर्ताको भएको जनाइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अरुण भण्डारीका अनुसार सजिलो पेमा सहकारीको २२ लाख ४४ हजार ७९५ रुपैयाँ रोक्का भएको छ ।

सन् २०२३ जनवरी २४ मा सजिलो पे, उक्त सहकारी र एम बैंकिङ टक्नोलिजीसँग त्रिपक्षीय सम्झौता भएर सहकारीमा रहेका सदस्यहरुको बचत रकम ईछ्याएको बैंकमा आफैले बैंक ट्रान्सफर गर्नका लागि सजिलो पे लाई गेटवे का रुपमा प्रयोग गर्दै आएको जनाएको छ ।

सहकारी संस्थाहरुले सिधै बैंकमा पैसा जम्मा गर्न नसक्ने हुँदा उक्त त्रिपक्षीय सम्झौता गरी सोही अनुसारको कार्य गर्दै आएको जनाएको छ ।

सहकारीका सदस्यहरुले ईछ्याएको बैंकमा रकम ट्रान्सफर गर्ने सिलसिलामा सजिलो पेको खातामा विभिन्न मितिमा १ अर्ब २३ करोड ५१ लाख ८१३ रुपैयाँ डिपोजिट भएको जनाएको छ ।

राष्ट्र बैंकले सजिलोपेको खाता रोक्का राख्दा उक्त सहकारीको २२ लाख ४४ हजार ७९५ रुपैयाँ सजिलोपेको खातामा रोक्का रहेको छ ।

एम बैंकिङ टेक्नोलोजिजका सञ्जय महासेठले एम बैंकिङ टेक्नोलोजिजले प्रविधीको विकास गर्ने र उक्त प्रविधिमा जोडिन चाहने कम्पनीहरुलाई जोडेको बताएका छन् ।

उक्त प्रविधिमा काम कारबाही गर्दा समस्या उत्पन्न भएमा समस्याको समधान आफूहरुले गरेको उनले जनाए । कम्पनीले सजिलो पे र सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लगायतका अन्य सहकारी संस्थाहरुलाई जोडी सबैको सहकार्य गराएको जनाए ।

एम बैंकिङले उक्त सहकारीको नाममा मोबाइल एप्लिकेसन बनाई उक्त मोबाईल एप्लिकेसनबाट कारोबार गर्न मिल्ने प्रविधिको विकास गराएको उनले बताए ।

सहकारीले प्रत्यक्ष रुपमा बैंकिङ कारोबार गर्न नमिल्ने हुँदा सजिलो पे पेको गेट वे मार्फत उक्त कार्य गर्नका लागी त्रिपक्षीय सम्झौता गरेको उनको भनाइ छ । उक्त एपमार्फत सम्बन्धित सहकारीका ग्राहकहरुले सजिलो पेको गेट वे प्रयोग गरी ग्राहकहरुले चाहेको बैंकमा सहकारीको पैसा ट्रान्सफर गर्न मिल्ने उनको भनाइ छ ।

यो कार्यमा सजिलो पेको खाता प्रयोग हुने हुँदा सम्बन्धित सहकारीहरुले उक्त सजिलो पेको खातामा पैसा डिपोजिट गर्ने गरेको प्रहरीसँगको बयानमा उनीहरुले जनाएका छन् ।


क्लिकमान्डु