जोखिममा चिनियाँ बन्ड, सिलिकन भ्याली जस्तै संकटको चेतावनी



एजेन्सी । चीन सरकारको बन्डमा तीब्र रुपमा पैसा आइरहेको छ । लगानीकर्ताहरुले धमाधम बन्ड खरिद गरिरहेका छन् । तर यसले निकट भविष्यमा ठूलो वित्तीय संकट निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् ।

बिग्रँदो घरजग्गा बजार र अस्थिर सेयरको विकल्पको रुपमा लगानीकर्ताहरु हाल सरकारी बन्डमा आकर्षित त भएका छन् तर यसले निम्त्याउने संकटतर्फ सरकारको वा लगानीकर्ताहरुको ध्यान नपुगेको भन्दै विश्लेषकहरुले सुझाव दिइरहेका छन् ।

हालको अवस्थामा बन्डको मूल्य तीब्र रुपमा बढ्नुका साथै उत्पादकत्व न्यून हुँदै गएको छ । लगानीकर्ताहरुले बिग्रँदो घरजग्गा बजार र अस्थिर सेयरको विकल्प खोजिरहेका बेला यस्तो अवस्था आएको हो ।

ब्याजदरको विस्तृत दायरका लागि बेन्चमार्क मानिएको चीनको १० वर्षे सरकारी बन्डले सोमबार मात्रै २.१८ प्रतिशत छोयो । जुन २००२ पछिको सबैभन्दा कम रेकर्ड हो । २० वर्षीय र ३० वर्षीय बन्डको पनि ऐतिहासिक रुपमा न्यूनस्तरको आसपास देखिएको छ । लगानीकर्ताहरुलाई बन्ड होल्ड गर्नका लागि प्रस्ताव गरिएको प्रतिफल र मूल्य अहिले बढिरहेको छ ।

तर बन्डमा तीब्र रुपमा बबलको खबर फैलिरहेको छ । जसलाई लिएर चिनियाँ नीति निर्माताहरुले चिन्ता व्यक्त गरेका छन् । गत वर्ष अमेरिकाको सिलिकन भ्याली बैंकको पतन जस्तै संकट आउन सक्ने उनीहरुले चेतावनी दिएका छन् । बन्डहरुमा तीब्र रुपमा बबलको खबर फैलिरहेका बेला यस्तो चिन्ता व्यक्त भएको हो ।

पिपुल्स बैंक अफ चाइनाले गत अप्रिलदेखि नै बन्ड बबल फुट्न सक्ने भन्दै १० पटकसम्म फरक फरक चेतावनी दिँदै आएको छ । जसले गर्दा बजार अस्थिर हुने र चिनियाँ अर्थतन्त्रको असमान अवस्थाले ट्रयाक छाड्ने चेतावनी दिइएको छ । हाल मूल्य कम गर्नका लागि त्यसलाई बेच्न उधारोमा ऋण दिइएको छ ।

विश्व वित्तीय संकटको इतिहासमै सिलिकन भ्यालीको संकट एउटा ठूलो उदाहरण मानिन्छ । सिलिकन भ्याली बैंकले अमेरिकी सरकारको बन्डमा अर्बौं डलरको लगानी गरेको थियो । जुन एक सुरक्षित उपाय भएको दाबी गरिए पनि फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न ब्याजदरमा वृद्धि गरेपछि बैंकको उक्त योजना विफल भएको थियो । सिलिकन भ्यालीसँग जति बन्ड थियो त्यसको मूल्यमा गिरावट आएपछि वित्तीय अवस्था ध्वस्त भएको थियो ।

चिनियाँ नीति निर्माताहरुले चिनियाँ बन्डमा पनि सिलिकन भ्यालीको जस्तै अवस्था आउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । चिनियाँ बन्डको मूल्य यही वर्षको सुरुदेखि नै तीब्र रुपमा बढिरहेको छ । अनिश्चित आर्थिक याेजनाका कारण यसमा चिनियाँ लगानीकर्ताहरुले लगानी गरिरहँदा यसको मूल्य तीब्र रुपमा बढिरहेको हो ।

यससँगै सम्पत्ति संकटका कारण ऋणकाे माग कमजोर भइरहेको र परिणाम स्वरुप बैंकहरुले ठूलो बन्ड खरिद गर्नुपर्ने अवस्था देखिएको विश्लेषकहरु बताउँछन् । र हाल ठूलो पैसा अन्तरबैंक बजारमा फसिरहेकोले यसले समस्या निम्त्याउने उनीहरुको सुझाव छ । चिनियाँ अर्थविद् ल्यारी हुले भनेका छन्, ‘नीति निर्माताहरुका लागि चिन्ताको विषय भनेको ब्याजदरको जोखिम हो । जुन संकुचनबाट पुन:मुद्रास्फीतिमा बढ्ने छ ।’


क्लिकमान्डु