मैले बिहा गर्ने कि कुमार नै बस्ने केन्द्रीय समितिले निर्णय गरिदेओस्: मुकुल ढकाल



काठमाडौं । रास्वपा महामन्त्री डा. मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनमाथि पार्टीका नेताहरूले आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसिरहेको केन्द्रीय समिति बैठकमा ढकालले फरक प्रस्ताव पेस गर्दै आफूलाई सोधेको स्पष्टीकरण, व्यक्तिगत जीवनमाथि उठेका प्रश्न लगायतको जवाफ दिएका छन् ।

पार्टीमा बोल्ने अधिकार केही नेतालाई मात्र हुने हो भन्दै उनले प्रश्न गरेका छन् ।

मिडियामार्फत आफ्नो व्यक्तिगत चरित्रमाथि पनि प्रहार भएको भन्दै ढकालले व्यक्तिगत रुपमै आफूमाथि आक्रमण हुँदा पनि कसैले साथ नदिएको उनको गुनासो छ ।

ढकालले आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका छन् ।

पार्टीका महिला सांसदलाई आफूसँग जोडेर प्रचार गरिएको भन्दै उनले आपत्ति जनाए ।

आफूले विवाह गर्ने कि नगर्ने, कुमारै बस्ने कि भन्ने कुराको निर्णय पनि केन्द्रीय समितिले निर्णय गरिदिए फरक नपर्ने उनले उल्लेख गरेका छन् ।

‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् ।’

पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए । त्यसको जवाफ ढकालले दिएका छन् ।

नारीप्रति पार्टीका नेताहरुले सम्मान गरिदिए हुने उनले बताए ।

‘गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान गरिएको भए हुन्थ्यो। म जान पाइन, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि , सायद मुकुल ढकालसँग जोडिएको विषय हो , कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’


क्लिकमान्डु