प्रधानमन्त्रीले फेरि काँग्रेससँग सरकार बनाउने छलफल अघि बढाएपछि यो अवस्था आयोः एमाले



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रश्ताव गरेपछि एमाले र काँग्रेस मिलेर सरकार बनाउने सहमति भएको जनाएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी पदाधिकारी बैठकले सो एमाले र काँग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री दाहालले गत एक हप्तादेखि काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए ।

प्रधानमन्त्रीको प्रश्ताव नेपाली काँग्रेसले अस्वीकार गरेपछि एमाले र काँग्रेसले छलफल अघि बढाएको बताए। उनले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई मिलेर अघि बढ्ने निर्णय भएको बताए । बैठकले नेपाली काँग्रेस र एमालेको बीचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको बताए ।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको बताए ।

दुई ठूला दल सहमतिमा पुगिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्नेकुरा वाञ्छनीय हुने बताए ।


क्लिकमान्डु