समुदायमा आधारित सहकारीमा उस्तै छ विश्वास, सन्तानेश्वर नौधारा र सिकालीको उदाहरणीय काम



काठमाडौं । गाँउ गाँउमा सहकारी, घर घरमा रोजगारी ! जन्मदेखि मृत्यु पर्यन्तसम्म सहकारी ! साँच्चै यी शब्द सुन्दा अब अचम्म नलाग्ने कमै मात्रै होलान् । एक समय यस्तो थियो की, सहकारी भनेपछि हुनेखाने देखि हुँदा खानेसम्म सबैको प्यारो ।

दिनभरी श्रम गरेर, पसिना बगाएर कमाएको पैसाबाट खर्च कटाएर बचेको पैसा बचत गर्ने ठाँउ थियो सहकारी । सानो सानो बचत, छरिएर रहेको बचत, जायजेथा बेचबिखन गरेको पैसा, हुँदा हुँदा घर जग्गा बिक्री गरेको पैसा समेत राख्ने माध्यम सहकारी बन्यो ।

यता सहकारीमा निक्षेपको पैसा बढ्दै गयो । उता सञ्चालकमा लोभ बढ्दै गयो । सहकारीका सञ्चालक बचतकर्ताको बचतको पाले बन्नु पर्ने हो । तर, उनीहरु मिटरब्याजी नै बन्न भ्याए । परिणाम अहिले सहकारीको नाम सुन्नासाथ मान्छेलाई ‘ठग’ हो भन्ने अवस्था सृजना भयो ।

अझ बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी त झनै ठूलो समस्यामा छन् । देशभर ३१ हजार ३७३ वटा सहकारी छन् । अहिले करिब ५ सय सहकारीमा समस्या छ । ती ५ सय सहकारीका सञ्चालकका कारण सबै सहकारी खराब हुन् भन्ने भाष्य निर्माण भएको छ ।

तर, के साँच्चै सबै सहकारी खराब हुन् त ?

हो यही प्रश्न बोकर हामी ललितपुरमा रहेका एउटा बचत तथा ऋण र एउटा बहुउद्देश्यीय सहकारीमा पुग्यौं ।

ती सहकारी थिए श्री सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था गोदावरी नगरपालिका–१३ झरुवारासी र सिकाली बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर महानरपालिका–२१ खोकना ।

सहकारीको मूल्य, मान्यता अनुसार चल्ने हो र समुदायमा आधारित रहेर कारोबार गर्ने हो भने सहकारी सदैव सहकारी जस्तो हुन्छ भनेर यी संस्थालाई उदाहरणको रुपमा लिन सकिन्छ ।

गोदावरी नगरपालिका-१३ झरुवारासीमा रहेको श्री सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था १९ वर्षअघि समूह मिलेर बनेको संस्था हो । अहिले संस्थाको अध्यक्षमा शशी खड्का गुरुङ रहेकी छिन् ।

२०५७ सालमा स्थापना भएको कारितास नेपालले तत्कालीन समयमा बचत संकलन गर्ने, आवश्यक परेको खण्डमा बचत परिचालन गर्ने र सामूहिक काम गर्नका लागि बचत रकम खर्चने गर्दथ्यो । त्यो समयमा प्रत्येक महिना २० रुपैयाँ बचत गर्ने गरेको थियो ।

उक्त समयमा सामूहिक खेती कसरी गर्ने, सामूहिक काम, सामाजिक हिंसा कसरी न्यूनीकरण गर्ने भन्नेमा संस्थाको ध्यान केन्द्रित थियो । तत्कालीन समयमा झरुवारासीमा पानीको समस्या थियो । पानीको लागि घन्टौं खर्चन पर्ने तथा पानी कै कारण खानेपानीको गुणस्तर पनि कम थियो । पानीको संरक्षण गर्न आवश्यक ठानेर भएका कुवा, इनार बनाउने, पुरानालाई पुनः निर्माण गर्ने काम संस्थाले गरेको थियो ।

सामाजिक काम गरिरहेको संस्थाका सदस्य मिलेर २०६३ जेठ २६ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा सहकारी दर्ता गरेको संस्थाकी अध्यक्ष गुरुङ बताउँछिन् । संस्था खुल्दा कुल पुँजी ८५ हजार रुपैयाँ रहेको थियो । २५ जना महिलाले सुरुवात गरेको संस्था अहिले ३ हजार ७७९ सदस्यको साझा सम्पत्ति बनेको छ ।

सहकारी खुलेको समयमा झरुवाबासी क्षेत्रमा गोलभेडा खेती निकै हुने गरेको थियो । सहकारीका केही सदस्य गोलभेडा खेती गर्थे । गोलभेडा खेती कसरी थप राम्रोसँग गर्ने भनेर संस्थाले ४५ दिन पाठशाला सञ्चालन गरेको अध्यक्ष सम्झन्छिन् । पाठशालाबाट प्राङगारीक मल बनाउन पनि सिकाएको थियो संस्थाले ।

यो बचत तथा ऋण सहकारी भएका कारण आर्थिकका साथै सामाजिक काम पनि गर्नुपर्ने बाध्यता थियो । सुरुको १० वर्ष सामाजिकका साथै आर्थिक रुपमा संस्थाको कारोबार बढाउँदै जाने र संस्थालाई सुशासनमा लैजाने काम गरेको, सहकारीलाई सहकारी जस्तो बनाउन आवश्यक विधि, कार्यविधि, विनियमावली बनाएको अध्यक्षको दाबी छ ।

८५ हजारमा २०६३ सालमा सुरु गरेको सहकारीसँग २०८१ जेठ ३२ गतेसम्म आइपुग्दा ७० करोड ६४ लाख १७ हजार १२४ रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ । सहकारीमा ३ हजार ७८० सदस्य रहेका छन् । जसमध्ये ९८० जना बाल सदस्य रहेका छन् ।

सुशासनलाई केन्द्रमा राखेर सहकारी सञ्चालन गर्दै जाँदा प्रगति छिटो हुँदैन तर, जब प्रगति हुन्छ त्यो दीर्घकालीन हुने अध्यक्ष गुरुङको बुझाइ छ ।

सहकारीले आफना सदस्यलाई दिएको तालिम तथा शिक्षा उनीहरुले व्यवहारमा उतार्दा संस्था समेत सफल बन्न सकेको उनको बुझाइ छ ।

‘सहकारी सञ्चालन गर्दा धेरै कुरा जान्दा पनि जानेनौं । जे जान्यौं, जे सिक्यौं त्यो कुरालाई व्यवहारमा उतार्दा अघि बढ्न सजिलो भयो । जुन कुरा हाम्रा सदस्यले पनि पालना गर्नु भएको छ,’ उनी भन्छिन् ।

सहकारीको काम बचत संकलन गर्ने तथा ऋण दिने मात्रै होइन, यसले सामाजिक काम पनि गर्दछ । किनकि सहकारी भनेका फाइनान्स कम्पनी होइनन् ।

‘हामीले अझै पनि सामाजिक कामलाई छोडेका छैनौं । जसले गर्दा सदस्यले हामीलाई विश्वास गरिरहनु भएको छ,’ उनले भनिन्, ‘सहकारीको ठूलो सम्पत्ति भनेको विश्वास नै हो । सहकारीमा अहिले परेको खडेरी भनेको विश्वासको हो । हामीले सदस्यलाई विश्वास दिलायौ भने सहकारीमा समस्या हुँदैन ।’ र सहकारी सदस्यलाई विश्वास दिलाउन आर्थिक अनुशासन पहिलो सर्त भएको उनी बताउँछिन् ।

सुरुमा बचतकर्ताहरुले दैनिक ज्यालादारी काम गर्ने र त्यसबाट आएको पैसालाई बचत गर्ने बानी बन्यो । विस्तारै बचतकर्ताले सहकारीबाट कर्जा लिएर नगदे बाली, कुखुरा पालन र विभिन्न फर्म सञ्चालन गरे । त्यसबाट सदस्यको आय आर्जन बढ्यो । आय आर्जन भएको रकम बचतकर्ताले बचत गरेको गुरुङको भनाइ छ ।

सहकारीको कार्यालय शहरबाट नजिक भएका कारण घर जग्गा बिक्री गर्नेले पनि आफनो आय बचत गर्ने गरेको उनले बताइन्।

सहकारी बचत गर्ने मात्रै नभएर आवश्यक परेको खण्डमा कर्जा दिने, सदस्यको दुःख सुखमा साथ दिने सके, सामाजिक काममा सहभागी जनाउन सकेको खण्डमा सहकारीमा विश्वास बढ्ने र अहिले देखिएको समस्या कम हुने अध्यक्ष गुरुङको भनाइ छ ।

जहाँ समस्या, त्यहाँ सेवा

सहकारी चल्ने भनेको सदस्यको बचतले हो । त्यसैले जसले बचत गरेर संस्था चलाएको हुन्छ, उसको हितमा काम गर्नु सच्चा सहकारीता हो । सहकारीको दायित्व पनि हो । ‘त्यो दायित्व संस्थाले भुलेको छैन,’ गुरुङ भन्छिन् ।

सहकारीका सदस्यलाई केही समस्या परे वा कुनै रोग लागेर अस्पताल जानु परेको खण्डमा अस्पताल नै गएर पनि सहयोग गर्ने, घर–घरमा पुगेर सहयोग गर्ने गरेको उनले सुनाइन् । कतिपय अवस्थामा सानो रकमले पनि सदस्यको गर्जो टर्ने र त्यसले सदस्यलाई संस्थाप्रति आत्मिय बनाउने काम गरेको उनको तर्क छ ।

उद्यमशिलताको सारथी

सानो होस या ठूलो । उद्यमशिलताका लागि लगानी चाहिन्छ । थोरै थोरै लगानी गर्दै जाँदा नै त्यसले ठूलो रुप लिने हो । सहकारीले पनि ससाना ऋणीलाई ऋण दिने र उद्यमी बनाउने काममा सघाइरहेको छ । सहकारीले सदस्यको चाहना र माग अनुसार कर्जा दिने गरेको अध्यक्ष गुरुङको दाबी छ ।

‘पहिला सहकारीका कतिपय सदस्यले पशुपालन गरेका, केहीले सिलाइ बुनाइ गरेका थिए,’ उनले भनिन्, ‘सहकारीमा सदस्य बनेपछि उनीहरुले आफुले गरेका कामलाई व्यवसायिक रुपमा विस्तार गर्न लगानी थपेका छन् ।’

सहकारीबाट ऋण लिएर व्यवसायिक रुपमा काम गर्ने धेरै सहकारीका सदस्य रहेको उनको दाबी छ । बचतकर्ताले महिनामा १ हजार बचत गर्ने गरेका छन् । घरमा बस्ने, जागिर नहुनेका लागि संस्थाले धनबर्षा, पेन्शन, सन्तानेश्वर, नौधारा बचत, स्वाभिमानी नारी बचत शिर्षकका बचत कार्यक्रम पनि ल्याएको छ । यसमा बचत गरेर आर्थिक सशक्तिकरणमा लागेको उनको भनाइ छ ।

सहकारीबाट कर्जा लिएर कतिपयले क्याटरिङ, केहीले नर्सरी खोलेका छन् । ‘फूल खेती गर्न सहकारीले तालिम दिएको थियो । सहकारीले दिएको तामिल लिएर केही महिलाहरुले नर्सरी चलाउनु भएको छ,’ उनले भनिन्, ‘तरकारी खेती, माछा पालन, कुखुरा पालन, बंगुर पालन गर्ने गर्नु भएको छ । कतिपयले ऋण लिएर पसल खोल्ने, कपडा पसल चलाउने, टंयाकरबाट पानीको ढुवानी गर्ने गरेका छन् ।’

३७ सय बढी सदस्यमा करिब ६ सय व्यवसायिक सदस्य छन् । बाँकी सदस्यले बचत गर्ने र आवश्यक परेको खण्डमा कर्जा लिने गरेको उनको भनाइ छ ।

बचत तथा ऋण सहकारी भए पनि कृषकहरु पनि सदस्य छन् । अहिले कृषकका लागि मलको विषय निकै बिकराल बन्दै गएको छ । सहकारीले गोदावरी नगरपालिकासँग समन्वय गरेर रासायनिक मल बिक्री वितरण गर्ने गरेको छ । सहकारीका सदस्यलाई मल दिने गरेको छ ।

सहकारीले कृषि विभाग, पशु विभागसँग समन्वय गरेर कृषकलाई तालिम पनि दिने गरेको छ । यस्तै सहकारीले सदस्यलाई झोल साबुन बनाउने तालिम दिने गरेको छ । संस्थाले नै प्रशिक्षक बोलाएर झोल साबुन, हारपिक बनाउने तालिम दिने गरेको उनी बताउँछिन् ।

तालिम लिएका ४७ जनाले अहिले पनि काम गरिरहेको अध्यक्ष गुरुङको भनाइ छ । उनीहरुले गरेको उत्पादनको बजारीकरणमा सहकारीले पनि सहयोग गर्ने गरेको छ । आफ्ना सदस्यले गरेको उत्पादनलाई संस्थाबाट नै बिक्री वितरण गर्ने गरेको उनले बताइन् ।

‘तपाईंहरु उत्पादन गर्नुहोस्, हामी बजारीकरण गर्छौं भनेका छौ,’ उनले भनिन् । सहकारीले उत्पालन गरेको उत्पादनलाई प्रवद्र्धन गर्न ललितपुर जिल्ला सहकारी संघले हल बनाएको र संस्था सदस्यले गरेको उत्पादन बाँकी रहेको खण्डमा जिल्ला संघमा लगेर पनि बजारीकरण गर्ने गरेको उनको भनाइ छ ।

सहकारी सबैको साझा हो । त्यो साझा बनाउने काम, संस्था मेरो हो भन्ने काम बचतले पनि गर्छ । अध्यक्ष गुरुङ आफै पनि सहकारीमा बचत गर्छिन् । न्यूनतम १ हजार रुपैयाँ सबैले बचत गर्ने गरेका छन् । उनले पनि मासिक न्यूनतम १ हजार रुपैयाँ बचत गर्ने गरेको बताइन् ।

सहकारीमा समस्या आउनुको मुख्य कारण भनेको सञ्चालक आफैंले कर्जा लिएर पनि हो । सन्तानेश्वर नौधारा सहकारीले भने एक पटकमा २ जना सञ्चालकलाई मात्रै न्यूनतम कर्जा दिने गरेको उनको भनाइ छ ।

यसका लागि संस्थाले आन्तरिक विनियम नै बनाएको छ । ‘संस्थामा ९ जना सञ्चालक रहेका छन् । त्यसमध्ये २ जनाले कर्जा लिनु भएको छ भने अन्यले लिनुहुन्न । समूहिक रुपमा कतै लगानी गरेको छैन,’ उनले भनिन्, ‘ऋण लगानी सदस्यमा नै गर्ने गरेका छौ र सामाजिक काम पनि गर्ने गरेका छौ ।’

सदस्यलाई सहयोग

जन्मदेखि मृत्युसम्म सहकारी भन्ने मूल मान्यताका साथ सहकारीले काम गर्दै आएको उनको दाबी छ । सदस्यको घरमा नवजात शिशु जन्मँदा उसलाई २ हजार ५ रुपैयाँ दिने गरेको छ । बच्चाको लागि बाल बचत खाता रहेको छ । त्यो बालकले नागरिकता पाएपछि सहकारीको पुर्ण सदस्य बन्न पाइन्छ ।

सहकारीका सदस्यको मृत्यु भएमा उसको परिवारलाई घरमा नै पुगेर सदगद खर्च भनेर १० हजार दिने गरेको छ । सहकारीको प्रधान कार्यालयसहित गोदावरी, गोदामचौर र विशंखुनारायणमा सेवाकेन्द्र रहेको छ । सबै सेवाकेन्द्रले सामाजिक काम गर्दै आएका छन् ।

सहकारीको अभिभावक भनेको संस्थाका जेष्ठ सदस्य हुन् । यो पटक सहकारीले जेष्ठ सदस्यको स्वास्थ्य परिक्षण, पोषण सम्बन्धि कार्यक्रम गरेको छ । ‘जेष्ठ नागरिकका लागि मनोविश्लेषक चिन्तामणी योगीलाई ल्याएर प्रवचन दिने, योग प्रशिक्षक ल्याएर निरोगी रहने उपायहरु पनि सिकायौं,’ उनले भनिन् ।

सहकारीले प्रत्येक वर्ष महिलाका लागि स्त्री रोग, पाठेघरको स्वास्थ्य परिक्षण गर्ने, थाइराइड, मुटु रोगको स्वास्थ्य शिविर राख्ने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति पनि दिने गरेको छ ।

सदस्यको अपेक्षा, बचतको सुरक्षामा चासो

अहिले बचतकर्ताको अपेक्षा भनेको सहकारीमा राखेको बचत सुरक्षित होस् भन्ने नै रहेको गुरुङको भनाइ छ ।
‘त्यसमा हामी दत्तचित्त भएर लागेका छौं,’ उनी भन्छिन्, ‘बचतकर्ताको विश्वासघात हुन दिने छैनौं ।’

यस्तै सहकारीले बढी ब्याज दिए हुने थियो भन्ने बचतकर्ताको पनि कमी छैन । तर सहकारीले धान्न नसक्ने ब्याज दिएर पनि समस्यामा पर्न सक्ने भएकाले सन्तुलित ब्याजदर राखेको उनको दाबी छ ।

सहकारीले हरेक बर्ष समयमा नै साधारण सभा गर्ने गरेको छ । आर्थिक वर्ष सकिएको २ महिना कट्नु अघि नै साधारण सभा बोलाउने गरेको छ । यसका साथै, बचतकर्तालाई दसैं अघि नै बोनस दिने गरेको छ । यो वर्ष असार १२ गते सभा गर्ने कार्यतालिका नै बनेको छ ।

सहकारीले सदस्यसँग सम्बन्ध कसिलो बनाइ राख्न सदस्य शिक्षा कार्यक्रम हरेक महिना गर्ने गरेको छ । सदस्यलाई संस्थाको काम मन परेको छ की छैन ? आगामी दिनमा के कस्तो काम गर्नु पर्ने हो ? भन्ने सुझाव लिने पनि गरेको छ । यसले संस्थालाई सञ्चालन गर्न सहयोग भएको अध्यक्षको भनाइ छ । यस्ता कार्यक्रम सहकारीका सेवाकेन्द्रबाट पनि हुने गरेको छ ।

सहकारीले सानादेखि ठूला व्यवसायका लागि कर्जा दिने गरेको उनी बताउँछिन् । सदस्यलाई १० हजार देखि ७० लाखसम्म कर्जा दिएको भए पनि बिना धितो कर्जा नगएको गुरुङको दाबी छ ।

सहकारीका सदस्य स्थानीय बासिन्दामात्रै रहेका छन् । त्यसैले सहकारीमा सदस्यता लिन पनि सजिलो छैन । सदस्यका लागि आवेदन दिएपछि अध्यक्षले स्वीकृत नगरी सदस्य बन्न पाइदैन । सदस्य बन्न गोदावरी नगरपालिका भित्रकै स्थायी बासिन्दा हुनुपर्छ, उनी भन्छिन् ।

सहकारीको पछिल्लो वित्तीय अवस्था

जेठ मसान्तसम्म सहकारीको सम्पत्तितर्फ नगद मौज्दात २० लाख ३८ हजार ८४६ रुपैयाँ रहेको छ । बैंक मौज्दात ८ करोड ९७ लाख २३ हजार ४२१, ऋण लगानी ५३ करोड ८१ लाख ४९ हजार ३०१ रुपैयाँ, पाउनु पर्ने हिसाब ९५ लाख ३१ हजार ५२० रुपैयाँ, स्थिर सम्पत्ति २ करोड ५५ लाख ४१ हजार ४०२ रुपैयाँ, खर्च ४ करोड २ लाख ९६ हजार ६३२ रुपैयाँ रहेको छ ।

संस्थाको दायित्व तर्फ सेयर पुँजी ५ करोड ३५ लाख २२ हजार ६००, कोष हिसाब ५ करोड ८८ लाख ५९ हजार ५९७ रुपैयाँ, निक्षेप (बचत) हिसाब ५३ करोड ८१ लाख ४९ हजार ३०१ रुपैयाँ, ऋण नोक्सानी ब्याज २ करोड २४ लाख ५५ हजार २२१ रुपैयाँ, अन्य दायित्व १४ लाख १० हजार ४९४ रुपैयाँ, जम्मा आम्दानी ५ करोड ८२ लाख ४१ हजार ७१० रुपैयाँ रहेको छ ।


तोरीको तेलका कारण प्रख्यात सहकारी

कार्यक्षेत्र सानो भए पनि समुदायमा आधारित रहेर सञ्चालन भएको अर्को संस्था हो ललितपुर महानगरपालिका-२१ खोकनाको सिकाली बहुउद्देश्यीय सहकारी संस्था ।

यो सहकारी तोरीको तेलको कारण स्वेदश तथा विदेशमा प्रख्यात छ ।

संस्थाका अध्यक्ष तिर्थराम डंगोल बचत तथा ऋणको काम गर्दा मात्रै सहकारी समुदायमा आधारित नहुने भएर उत्पादनमा जानु परेको बताउँछन् । सहकारीमा अहिले १८ सय बचतकर्ता रहेका छन् । जसमा १ हजार ३५० बचतकर्ता र ४५० बाल बचत सदस्य रहेका छन् ।

सहकारीले कृषकहरुलाई मल पनि बिक्री वितरण गर्दै आएको छ । कृषकको माग अनुसार नै मल बिक्री गरेको अध्यक्ष डंगोल बताउँछन् ।

सहकारीले तेल मिल सञ्चालन गर्ने बाहेक आफ्नो कार्यक्षेत्र २१ नम्बर वडा भित्रका सदस्यलाई विभिन्न सेवा दिने गरेको छ ।
एसईई उत्तीर्ण भएका सदस्यका सन्तानलाई आर्थिक सहयोग, कुलो, सांस्कृतिक कार्यक्रम, पाटी पौवा बनाउन सहयोग, फाल्चा बनाउन सहयोग जस्ता विविध कार्यक्रम गर्ने गरेको छ । यसका साथै, जेष्ठ नागरिकलाई तीर्थयात्रा पनि गराउने गरेको उनी बताउँछन् ।

अन्य सहकारीमा झैं यस सहकारीका सदस्यको ध्यान पनि बढी ब्याजदर र बढी बोनसमा हुने गरेको उनी बताउँछन् । तर, अहिले भनेको समयमा ऋण चाहिने, समय समयमा तालिम र त्यो तालिमले रोजगारी मिलोस् भन्ने अपेक्षा पनि बचतकर्ताको रहेको उनको भनाइ छ । ‘स्वाभाविकरुपमा आफनो बचत सुरक्षित रहोस् भन्ने अपेक्षा राख्ने त भइहाले ।’

सदस्यहरुले सहकारीबाट कर्जा लिएर मेडिकल सञ्चालन गरेको, सुन बनाउने तालिम लिएर सुन पसल खोलेका जस्ता उदाहरण पनि उनी सुनाउँछन् । ‘तरकारी खेती, गाई भैसी पालनमा पनि सहकारीले ऋण दिने गरेको छ ।’

सहकारीबाट कर्जा लिएर एक सदस्यले केमोमाइम (फूलबाट बनेको चिया) मा लगानी गरेका छन् । सहकारीका सदस्यले समूह बनाएर खोकनामा केमोमाइल (फूलबाट बनेको चिया) को व्यवसायिक उत्पादन गरेका हुन् ।

सहकारीले १० हजारदेखि अधिकतम ५० लाखसम्म कर्जा दिने गरेको अध्यक्ष बताउँछन् । ‘सहकारीका सञ्चालक भनेका बचतकर्ताको पैसाको पाले हुन । पालेले गलत नगर्ने हो भने सहकारीमा समस्या आउँदैन,’ उनी भन्छन्, ‘हामीले इमान्दार भएर कर्तव्य निर्वाह गरेका छौ । हामीमा कुनै स्वार्थ छैन ।

पछिल्लो समय सहकारी भागेका समाचार आउन थालेपछि बचतकर्ता पनि संस्थामा आउने बुझ्ने क्रम बढेको उनको भनाइ छ ।
सहकारीमा बुझ्न आउने सदस्यलाई संस्थाको वास्तविकताका बारेमा जानकारी गराएपछि सदस्यले चित्त बुझाएर जाने गरेको उनको भनाइ छ ।

सहकारीको कार्यक्षेत्र एउटा वडा मात्रै भएका कारण सबैले सबैलाई चिन्ने हुनाले पनि समस्या नभएको उनको भनाइ छ । सहकारीले आफ्नो समुदाय, आफ्ना सदस्यमा काम गरिरहेका भएर कुनै समस्या नभएको अध्यक्षको दाबी छ ।

खोकना, सिकाली र तेल

एउटा वडामा मात्रै कार्यक्षेत्र भएको सहकारीले उत्पादनमा जानुका साथै पुर्खाको पेशालाई जगेर्ना गरिरहेको छ । भुटेको तोरीको तेल भन्नासाथ खोकनाको याद सबैलाई आउँछ । त्यसमा पनि संस्थागत गर्ने काम सिकालीले गरेको छ ।

एक जमानामा खोकनामा ४ वटा तेल मिल थिए । सबै मिल बन्द भएपछि सहकारीले नै मिल सञ्चालन गर्न थाल्यो ।

खोकना भन्ने थाहा नै नभएका व्यापारीले खोकनाको तेल भन्दै बिक्री गर्न थालेपछि सहकारीले आफैं तेल उत्पादन गर्न थाल्यो । २०६४ सालमा न्हुँसा तेलमिलको जिर्णाेद्धार गरेर सञ्चालन सुरु गरेको अध्यक्ष डंगोलले बताए ।

उक्त समयमा सहकारीले भवन निर्माण लगायतका काममा ५ लाख रुपैयाँ ५ प्रतिशत ब्याजदरमा दिएको उनको भनाइ छ । तत्कालीन समयमा मिल सञ्चालन हुन सकेन । त्यसको तीन वर्षपछि २०६७ सालमा बुद्ध पुर्णिमाको दिनबाट मिल सुरु गरेको हो।

‘बजारमा खोकनाको तेल भनेर मिसावट भएको तेल पाइने भएकोले त्यो समयमा हामीलाई बजारमा प्रतिस्पर्धा गर्न निकै गाह्रो भयो,’ डंगोलले भने, ‘तर, हाम्रो तेल १०० प्रतिशत शुद्ध छ ।’

सुरुमा काठको कोलमा तेल पेल्दा पीनाबाट पुरै तेल नआएका कारण घाटा लागेको उनको भनाइ छ । ‘पछि हामीले काठले च्याप्ने र मेसिनबाट पनि तेल पेल्न थाल्यौ । यसले ३ देखि ५ प्रतिशत तेल बढी आउन थाल्यो । साढे २ वर्ष घाटामा भएपनि त्यसपछि भने बिस्तारै नाफामा जान थाल्यो ।’

सहकारीका उत्पादनलाई बजारीकरणमा असहयोग, उपहार खेरै गयो !

सहकारीले १४ वर्षदेखि तेल बिक्री गर्दै आएको छ । तर, अझै बजारीकरण हुन सकेको छैन । सहकारीको उत्पादन बजारीकरणका लागि अध्यक्ष डंगोलले लामो समयदेखि तेल कार्टुनमा बोकेर धेरै ठाँउ दौडिए ।

अहिले सहकारीको उत्पादन ‘खोकना सिकाली तेल’ को प्रचार प्रसारका लागि जिल्ला सहकारी संघ ललितपुर, बहुउद्देश्यीय सहकारी संघ, प्रारम्भिक सहकारी, सहकारीले खोलेका विभिन्न पसलबाट तेल बिक्री हुने गरेको छ ।

ललितपुरको साना गाँउमा रहेको अभिवादन बहुउद्देश्यीय सहकारीले त गत साधारण सभामा आफ्ना सदस्यलाई बोनसको सट्टा सिकलीको उत्पादन तेल नै दिएको छ । अभिवादन सहित केही सहकारीले सदस्यलाई तेल वितरणका लागि सम्झौतालाई नै भइसकेको अध्यक्षले बताए । अन्य केही सहकारीले संस्थाको तेल प्रचार प्रसार गर्ने गरेको अध्यक्षले बताए ।

खोकनाको तेलको सहजै बजारीकरण हुन नसकेकोमा डंगोलको गुनासो छ । ‘विभिन्न कार्यक्रममा जाँदा मायाको चिनोको रुपमा मैले तेल दिने गरेको छु,’ अध्यक्ष डंगोलले भने, ‘हाम्रो सहकारीले गरेको उत्पादन बजारीकरण गरिदिनुहोस् भनेर दिने गरेको छु । जिल्ला संघ, महासंघलाई प्रचार प्रसार गरिदिनु भनेको छु । तर कसैले पनि गरेनन् ।’

सहकारीले आयोजना गर्ने प्रायजसो कार्यक्रममा सहकारीको उत्पादनलाई माया गरिदिनु भनेर उपहार दिने गरेको उनको भनाइ छ ।

‘सहकारीको उत्पादन भनेर मायाको चिनोको रुपमा तेल दिने गरेको छु’ उनले भने, ‘तर, यो सहकारीको उत्पादन हो भनेर कसैले पनि प्रचार गरिदिएनन् । अभियानका नेताहरुले पनि वास्तै गर्दैनन् । हाम्रो सहकारीले उत्पादन गरेको तेल सहकारीका नेतादेखि मन्त्री प्रधानमन्त्रीहरु प्रचण्ड, केपी ओली, आईएलओका अध्यक्षलाई समेत दिइसकेका छौं । मैले कार्यक्रममा पनि सहकारीको बारेमा बोलिदिनु भनेर चिट समेत दिने गरेको छु । तर कसैले बोलेनन् ।’

सहकारी विकास बोर्डमा प्रचार प्रचार गरिदिन सहयोग गरी पाउँ भनेर निवेदन दिएको तर बोर्डले मद्दत नगरेको उनको गुनासो छ । बोर्डमा जाँदा तेल मिललाई सहयोग गर्न मिल्दैन । तोरी खेतीलाई मात्रै मिल्छ भनेर पठाएको उनको गुनासो छ ।

केन्द्रीय उपभोक्ता संघ, बहुउद्देश्यीय सहकारी संघ, बचत तथा ऋण सहकारी संघमा पनि मायाको चिनोको रुपमा दिएको तर प्रभावकारी रुपमा प्रचार प्रसार सहयोग नगरेको उनको गुनासो छ । सहकारीको उत्पादनलाई प्रचार प्रसार गरीदेउ भन्दा निजी सम्पत्ति प्रचार गर भनेको जस्तो गर्न नहुने उनको गुनासो छ ।

सहकारीले गरेको उत्पादन प्रचार प्रसार भएको खण्डका सहकारीका बचतकर्ताको समेत हित हुने र उत्पादन बढ्ने उनको विश्वास छ ।

उपत्यकामा तोरीको अभाव, आधा भारतबाट आयात

तेल पेल्न उपत्यकामा तोरी पाउन छोडेपछि चितवन, दाङ, कैलाली तथा भारतको राजस्थानबाट तोरी आयात गर्ने गरेको उनको भनाइ छ । तेल पेल्न नेपालको ५० र भारतको ५० प्रतिशत तोरी उपभोग हुने गरेको अध्यक्षको भनाइ छ।

तेल मिलले दिनमा ८०० किलो तोरी पेल्ने गरेको छ । ८०० किलो तोरी पेल्दा ३०० लिटर तेल आउने गरेको छ । कोलबाट तोरी पेल्दा १५० लिटर तेल आउँछ भने मेसिनबाट पेल्दा २९० देखि ३२० लिटर दैनिक तेल उत्पादन हुने गरेको उनी बताउँछन् ।
उत्पादन भएको तेलमध्ये ४० प्रतिशत खोकनाका साथै बुङमती, चुन्निखेल, भैंसेपाटी, चाल्नाखेल, फर्पिङका उपभोक्ताले सहकारीमै आएर किन्ने गरेका छन् ।

खाद्य प्रविधि तथा गुणस्तर कार्यालयले पनि सहकारीले उत्पादन गरेको तेललाई १ बर्षभित्र प्रयोग गर्न अनुमति दिएको छ । तर, १ वर्षसम्म पनि तेलमा कुनै समस्या नआएको सहकारीको दाबी छ ।

सहकारीले काँचो र भुटेको तेलको मूल्य एउटै कायम गरेको छ, प्रति लिटर ३६० रुपैयाँ ।

सहकारीबाट उत्पादन भएको तेल नेपाली बढी जाने मूलुक, जापान, कोरिया, अष्ट्रेलिया पनि निर्यात हुने गरेको अध्यक्ष डंगोलले बताए । तेल सहकारीले नपठाउने तर, ग्राहक आफै आएर लैजाने गरेको भन्दै उनले जापानमा एक नेपालीले खोलेको रेष्टुरेन्टका लागि तेल लैजाने गरेको बताए । ती ग्राहकले महिनामा १, २ पटक तेल लिन आउने अनि एक पटकमा ३६ लिटरसम्म लैजाने गरेका अध्यक्षले बताए ।

एकपटक खोकनाको तेल प्रयोग गर्ने प्रयोगकर्ताले पटक पटक यही तेल प्रयोग गर्ने गरेको उनी बताउँछन् । सहकारीको उत्पादन बजारीकरण हुने हो भने सर्वसाधारणमा सहकारी प्रतिको बुझाई पनि सकारात्मक हुने उनको भनाइ छ ।


सोभित थपलिया