नेकपा एसले आफूलाई अस्थिर भनेकोप्रति प्रचण्डको असन्तुष्टि, पुनःविचार गर्न आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाए ।

राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै उनले एकीकृत समाजवादीलाई पुनःविचार गर्न आग्रह गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आफू अलिकति पनि अस्थिर नभएको बताए । आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने उनले जिकिर गरे ।

आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको उनको दाबी थियो।
प्रचण्डले एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद नभइ गड्गडाउँदो नदी जस्तो भएर हुर्रिनु नै माक्सवाद भएको बताए ।

माक्सवाद जमेको पोखरी जस्तो नभएको बताउँदै उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु माक्सवाद भएको बताए ।

प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिष्ट आन्दोलनको एकता कायम गर्ने उद्देश्यमा समान धारणा रहेको बताए ।


क्लिकमान्डु