७० अर्बको नेपालको जुत्ताचप्पल बजारमा ६० प्रतिशत स्वदेशी उत्पादन, साढे ३१ अर्ब लगानी
काठमाडौं । पछिल्लो समय नेपालको जुत्ता चप्पल बजारको झण्डै ६० प्रतिशत माग स्वदेशी उद्योगले धान्दै आएको पाइएको छ।
स्वदेशी उद्योगको क्षमता शतप्रतिशत माग धान्ने भए पनि विभिन्न विदेशी ब्राण्ड, विदेशी जुत्ता चप्पल र अवैध आयातका कारण स्वदेशी उद्योगले ६० प्रतिशतको हाराहारीमा मात्रै बजार हिस्सा ओगट्दै आएका छन् ।
नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेका अनुसार नेपालमा वार्षिक ७० अर्ब मूल्यबराबरको १० करोड जोर जुत्ता चप्पलको माग छ ।
यसमध्ये स्वदेशी उद्योगबाट हाल ४२ अर्ब मूल्यबराबरको ६ करोड जोर उत्पादन हुँदै आएको छ । स्वदेशी उत्पादनले माग पूरा नहुँदा वैध अवैध रुपमा २८ अर्ब मूल्य बराबरको ४ करोड जोडा जुत्ता चप्पल भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै आएको छ ।
बन्जाडेका अनुसार आयात हुने परिमाणमध्ये झण्डै ३३ प्रतिशत तस्करी भएर आयात भइरहेका छन् । यसरी हेर्दा ४ करोड जोडामध्ये ३३ प्रतिशतका दरले ९ अर्ब २४ करोड रुपैयाँबराबरको १ करोड ३२ लाख जोडा जुत्ता चप्पल अवैध रुपमा भित्र्याएर तस्करले आफुखुशी व्यापार गर्दैआएको छ । अवैध रुपमा आयात हुने जुत्ता चप्पलवापत सरकारले प्राप्त गर्नुपर्ने राजस्वसमेत गुमाएको छ ।
‘वैध रुपमा ६७ प्रतिशतका दरले १८ अर्ब ७६ करोड रुपैयाँबराबरको २ करोड ६८ लाख जोडा जुत्ता चप्पल मात्रै आयात भएर बजारिकरण गर्दैआएको छ,’ बन्जाडेले क्लिकमान्डुसँग भने । एउटा जुत्ता चप्पलको औषत मूल्य ७ सय रुपैयाँको दरले हिसाब गरिएको छ ।
‘बजारको कूल मागको ६० प्रतिशत माग स्वदेशी उद्योगीले पूर्ति गर्दैआएको छ,’ बन्जाडेले भने,‘७० अर्बको कूल बजारमध्ये झण्डै ४२ अर्बको बजार स्वदेशी उत्पादनले ओगट्न सफल भएको छ । अर्थात ४२ अर्बको आयात दरलाई हामीले विस्थापित गर्न सफल भएका छौं । हाम्रो उद्योगको क्षमता कूल मागभन्दा बढी भए पनि अवैध रुपमा हुने आयात र व्यापारले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न सकेका छैनौं ।’
अवैध बाटोबाट तस्करी भएर आउने गुणस्तरहिन जुत्ता चप्पलका कारण कारण स्वदेशी उद्योग र उत्पादनलाई बजार पाउन समस्या भएको छ । त्यसमा पनि पछिल्लो समयमा आर्थिक मन्दी र वैदेशिक रोजगारीमा जाने क्रम अत्यधिक बढेपछि जुत्ता चप्पलको बजार निक्कै घटेको बन्जाडेको भनाई छ ।
उनका अनुसार सर्वसाधारणसँग पैसा नभएकाले अहिले त्यसको असर जुत्ता चप्पलको बजारमा पनि परेको छ । यसबाहेक वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा त्यसले पनि हाम्रो बजारलाई खुम्च्याएको छ ।
नेपाली उद्योगबाट २०७४ सालमा वार्षिक ३ करोड ३९ लाख जोडा जुत्ता चप्पल उत्पादन भएकोमा त्यसयताको ५ वर्षमा ६० प्रतिशतभन्दा बढीले उत्पादन बृद्धि भइसकेको एशोसिएसनले जनाएको छ ।
‘नेपाली उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता चप्पल उत्पादन गर्ने क्षमता भएपनि अहिले भइरहेको उत्पादनले ६० प्रतिशत माग धानिरहेको छ, अब हामीले स्वदेशी उत्पादनको खपत र निर्यात बढाउँदै जानुपर्छ,’ बन्जाडेले भने, ‘एशोसिएसनले आगामी ३ वर्षमा जुत्ता चप्पलमा प्रयोग हुने ८० देखि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने गरी काम गरिरहेको छ । दक्ष जनशक्तिको अभाव र जुत्ताको अनियन्त्रित आयात, न्यून विजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’
उद्योगीहरुका अनुसार १५ बर्षभन्दा माथि र ६० बर्ष मुनिका सर्वसाधारणले जुत्ता चप्पल बढी प्रयोग गर्छन् । १५ बर्ष मुनिका र ६० बर्षमाथिका सर्वसाधारण घरकै कुनै न कुनै सदस्यको जुत्ता चप्पलमाथि बढी निर्भर रहेको एक सर्वेक्षणले देखाएको बन्जाडेको भनाई छ ।
नेपालमा महिलाले लगाउने जुत्ता चप्पलको अत्यधिक खपत हुन्छ । परिवर्तन हुने फेसनअनुसार महिलाहरुले जुत्ता चप्पल पनि फेरि फेरी लगाउने हुनाले महिलातर्फको जुत्ता चप्पलको खपत अत्यधिक रहेको जुत्ता चप्पल उद्योग व्यवसायी संघका पूर्व महासचिब शंकर खत्रीले जानकारी दिए ।
‘बढी पैंसा हुनेले विदेशी ब्राण्डकै लगाउन खोज्छन, नेपालमा पनि उच्च गुणस्तरको फैसनेवल जुत्ता र चप्पल उत्पादन हुन थालेको छ । तर उनीहरुको रोजाई बाहिरकै ब्राण्डेड भएकाले खपत भएकोमध्ये ३० देखि ४० प्रतिशत बाहिरी मुलुकबाट आयात भएको हो,’ खत्रीले बताए ।
नेपालमा जुत्ता चप्पल बनाउन विदेशी कच्चा पदार्थको आयात गर्नुपर्छ । जुत्ता–चप्पलको सोलदेखि लेदरसम्म बाहिरबाटै ल्याउनुपर्छ । तर कच्चा पदार्थको भन्सार र रेडिमेड जुत्तामा लगाइएको भन्सार दरको प्रकृति उस्ता उस्तै हुनुले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न कठिनाई भएको उद्योगीको भनाई छ ।
स्वदेशी जुत्ता भनिए पनि ८० प्रतिशत कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ । हुनत् पछिल्ला दिनमा नेपालमा सोलहरु उत्पादन हुन थालेका छन् । तर गुणस्तरीय सोलहरु अझै उत्पादन हुन सकेको छैन । बन्जाडेका अनुसार पछिल्लो समयमा नेपाली उद्योगहरुले जुत्ता चप्पल उद्योगहरुमा खपत हुने प्याकेजिङ्ग बक्स र झोला, धागो, कपडा तथा सोल भने स्वदेशमै उत्पादन गर्न थालेका छन् । करिब ४० प्रतिशत कच्चा पदार्थ नेपालमै उत्पादन हुन थालेको उनको भनाई छ ।
स्वदेशमै छाला प्रशोधन उद्योग खोलेर छाला संकलन गरे आयातीत छालाको निर्भरता घट्ने उनको भनाइ छ ।
उनका अनुसार स्वदेशी उद्योगहरुबाट रोयल सुज, बिएफ डियर हिल, बिएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाइ लाइफ, केटीएम, डिजे सुज, बेली सुज, गोल्डस्टार, म्याजिक, शुल्याण्ड, उत्सव र कोसेली सुजलगायत ब्राण्डका कम्पनीहरुबाट करिब ५ हजारभन्दा बढी मोडल तथा डिजाइनका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् ।
देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न कतिपय वस्तुहरूको आयातमा प्रतिबन्ध नै लगाउनुपर्ने जानकारी दिँदै बन्जाडेले स्वदेशी जुत्ता चप्पलको उद्योग र बजारलाई संरक्षण गर्न सरकारले विदेशी जुत्ता चप्पलको आयातलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिए ।
‘बैंकको चर्को ब्याजदर, अनुभवी तथा अनुशासित श्रमशक्तिको अभाव, अनियन्त्रित चोरी पैठारी, बजारीकरणका समस्या, राजनीतिक अस्थिरताका कारण उत्पन्न हुने नीतिगत समस्यालगायतका कारण यस क्षेत्रले चुनौतीहरूको सामना गर्नुपरेको छ,’ बन्जाडेले भने,‘स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरूमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरू खुल्न सक्ने वातावरण बन्न सक्छ । स्वदेशी लगानी, श्रम र बजारलाई धरासायी बनाउने वा उकास्ने बिषयमा ठूलो भुमिका भने सरकारको हुन्छ ।’
नेपालमा स्यान्डल, स्कुल–कलेजका जुत्ता, पार्टी सुज, स्पोट्र्स सुज, क्याजुअल सुज, बुट, लेडिज तथा जेन्सले प्रयोग गर्ने विभिन्न प्रकारका चप्पलहरु उत्पादन भइरहेको छ । भारतलगायत तेस्रो मुलुकबाट पनि स्पोटर्स सुज, क्याजुअल सुज, बच्चाको जुत्ता–चप्पल, लेडिज जुत्ता तथा स्यान्डलहरू ठूलो परिमाणमा आयात हुन्छ ।
पुरुषले लगाउने जुत्ता चप्पलहरुमा आत्मनिर्भर उन्मूख भए पनि महिलाले लगाउने स्यान्डल नेपालमा खासै उत्पादन हुन सकेको छैन । नेपालमा गुणस्तरीय स्यान्डल उत्पादन नभएकाले हुँदा अधिकांश स्यान्डल विदेशबाटै आयात हुन्छ ।
‘तर पछिल्लो समय केही उद्योगहरुले लेडिज स्यान्डलहरु पनि उत्पादन गर्न सुरु गरेका छन् । स्यान्डलमा पनि केही वर्षभित्र आत्मनिर्भर हुन सक्छौं । नेपालमा स्यान्डल उत्पादन सुरु भएपनि आकर्षक डिजाइन नहुँदा महिलाको रोजाई विदेशी ब्राण्डको स्यान्डलमै छ,’ खत्रीले भने ।
रोजगारी सिर्जनामा जुत्ता चप्पल उद्योगहरुको योगदान पनि ठूलो रहेको खत्रीले बताए । उनका अनुसार नेपालको जुत्ता चप्पल उद्योगबाट झण्डै ६० हजारको संख्यामा प्रत्यक्ष रुपमा रोजगारीको अवसर सिर्जना भएको छ भने अप्रत्यक्ष रुपमा साढे २ लाख हाराहारीले रोजगारी पाएका छन् ।
स्वदेशी उद्योगमा करिब ३२ अर्ब लगानी
उनका अनुसार नेपालमा झण्डै १ हजार ७ सय ७५ वटा साना, मझौला र ठूलो उद्योगहरु सञ्चालनमा छन् । जसमध्ये सानोतर्फ १ हजार ५ सय, मझौलातर्फ २ सय ५० र ठूलोतर्फ २५ वटा जति जुत्ता चप्पलको उद्योग सञ्चालनमा छन् । सानोमा करिब डेढ लाख, मझौलामा १० करोड र ठूलो उद्योगमा २५ करोडसम्मको लगानी छ । यस्ता सम्पूर्ण उद्योगहरुमा ३१ अर्ब ५१ करोड ६२ लाख ५० हजार रुपैयाँको हाराहारीमा लगानी छ । कूल लगानीमध्ये झण्डै एक चौथाई बैंक तथा बित्तीय क्षेत्रको रहेको छ ।
यसबाहेक यसबाहेक दर्ता वेगर हातकै सहयोगमा निर्माण हुने जुत्ता चप्पलको उद्योग पनि करिब सयौंको संख्यामा रहेको बन्जाडेको भनाई छ । परम्परागत शिल्पीमा आधारित एक हजार ७२ र हस्तकलामा आधारित २ सय उद्योग छुट्टै सञ्चालनमा छन् । अधिकाँश ठूला र मझौला उद्योगहरू काठमाडौं, विराटनगर, वीरगञ्ज, बुटवल र भैरहवामा सञ्चालित छन् भने ०७४ सालपछि उद्योग स्थापना हुने क्रम बढेको छ ।
नेपालमा २०२२ जेठ २० मा चिनियाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना स्थापना भएपछि व्यावसायिक रूपमा छालाजन्य वस्तु र जुत्ता चप्पल उत्पादन सुरु भएको थियो । त्यसअघि परम्परागत रूपमा भइरहेको उत्पादनले उपभोक्ताको न्युन माग धान्दै आएको अवस्था थियो । ०४६ पछि सुरु भएको औद्योगीकरणमा निजी क्षेत्रको प्रवेशसँगै यसले व्यावसायिकता हासिल गरेको थियो ।
जुत्ता चप्पल उद्योगमा कामदारको रुपमा कार्यरत करिब ६० हजारमध्ये ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी कामदार कार्यरत रहेका छन् । कूल कामदारमध्ये एक तिहाइ महिला कामदार कार्यरत छन् ।
निर्यात पनि हुन्छ नेपालको जुत्ता
एशोसिएसनका अनुसार नेपालमा उत्पादन हुने जुत्ता चप्पल विभिन्न मुलुकमा निर्यात पनि हुने गरेको छ । भारत, अमेरिका, मलेसिया, युरोपेली राष्ट्रमा नेपाली जुत्ता चप्पलको निर्यात हुन्छ ।
‘सरकारले पछिल्लो समय निर्यातमा अनुदान दिन थालेपछि उद्योगलाई प्रोत्साहन मिल्नुका साथै आर्थिक रूपमा पनि केही राहतको महसुस भएको छ’, बन्जाडेले भने, ‘सरकारी नीतिअनुसार कुनै एक उद्योगीले वार्षिक ५० करोडभन्दा बढीको निर्यात गरेमा आठ प्रतिशत अनुदान प्राप्त हुने व्यवस्था छ ।’
११ महिनामा झण्डै ८ अर्बको जुत्ता चप्पल आयात
नेपालमा पछिल्लो ११ महिनाको अवधीमा झण्डै ८ अर्बको जुत्ता चप्पल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि जेठसम्मको अवधीमा ७ अर्ब ८० करोड रुपैयाँबराबरको १ करोड ६४ लाख ३५ हजार ६१२ जोडा जुत्ता चप्पल आयात गरेको छ । तयारी जुत्ता चप्पल आयातबाट सरकारले हजार रुपैयाँबराबरको राजस्व प्राप्त गरेको छ ।
नेपालमा मुख्यगरी चीन, भारत, थाइल्याण्ड, ताइवान, भियतनामलगायतका मुलुकबाट अत्यधिक परिमाणमा जुत्ता चप्पल आयात हुँदै आएको छ । पछिल्लो ११ महिनाको अवधिमा सबैभन्दा बढी चीनबाट जुत्ता चप्पल आयात भएको छ । चीनबाट ६ अर्ब ५५ करोड ४१ लाख २० हजार रुपैयाँबराबरको १ करोड ३१ लाख १० हजार १ सय ९९ जोडा जुत्ता चप्पल आयात भएको छ ।
यस्तै भारतबाट ७३ करोड ७२ लाख ८४ हजार रुपैयाँबराबरको २८ लाख १५ हजार ६ सय ५८ जोडा जुत्ता चप्पल आयात भएको छ । त्यस्तै तेस्रोमा थाइल्याण्डबाट ७ करोड २३ लाख ६३ हजार रुपैयाँबराबरको २ लाख ४३ हजार ६ सय ६८ जोडा आयात भएको छ ।
डेढ अर्बको कच्चा पदार्थ आयात
पछिल्लो ११ महिनाको अवधीमा १ अर्ब ५४ करोड रुपैयाँबराबरको २ करोड ५ लाख ६१ हजार ७ सय ७ जोडा जुत्ता चप्पल निर्माण सम्बन्धी आवश्यक पर्ने विभिन्न प्रकारको कच्चा पदार्थ पनि आयात भएको छ । कच्चा पदार्थ आयातबाट सरकारले ५४ करोड ३० लाख ३९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ
भन्सारको तथ्यांक अनुसार यस्ता कच्चा पदार्थ पनि सबैभन्दा बढी चीनबाटै आयात भएको छ । चीनबाट १ अर्ब २४ करोड ४९ लाख १४ हजार रुपैयाँबराबरको १ करोड ४० लाख २५ हजार ५ सय ५ जोडा जुत्ता चप्पल निर्माण हुने गरी कच्चा पदार्थ आयात भएको छ ।
यस्तै भारतबाट २७ करोड २२ लाख १३ हजार रुपैयाँबराबरको ६३ लाख ५६ हजार ८२ हजार जोडा जुत्ता चप्पल तयार पार्न आवश्यक पर्ने कच्चा पदार्थ आयात भएको हो । भारतपछि ताइवानबाट २ करोड २४ लाख ५६ हजार रुपैयाँबराबरको १ लाख ७६ हजार ७ सय ६८ जोडा जुत्ता चप्पल निर्माण गर्न कच्चा पदार्थ आयात भएको छ ।