१० वर्षदेखि थन्किएको हजारौं टन चामल थाइल्याण्डले अब कसरी बेच्छ ?



के पुरानो चामल स्वास्थ्यका लागि हानीकारक हुँदैन ? यसको स्वाद र पौष्टिकतामा कमी आउँछ कि आउँदैन ? यस्तै प्रश्नहरुको सामना गरिरहेको थाइल्यान्डलाई १० वर्षदेखि भण्डारण भएको १५ हजार टन चामल बेच्नैपर्ने बाध्यता छ ।

एजेन्सी । पुरानो चामल स्वादिलो र स्वस्थकर हुन्छ भनेर प्राय:मानिसहरुले भनेको सुनिन्छ । तर के १० वर्ष पुरानो चामल पनि खान हुन्छ ? यो चर्चा यस्तो समयमा भइरहेको छ कि जतिबेला थाइल्यान्डका वाणिज्यमन्त्री फमथाम वेचायाचाइले मिडिया समक्ष १० वर्ष पुरानो चामल खाएर देखाए ।

यसरी पुरानो चामल खानुको पछाडि, हालै थाइ सरकारले लिलाम गरेको १५ हजार टन चामल खानयोग्य छ भनेर प्रमाणित गर्नु उनको उद्देश्य थियो । थाइ प्रशासनलाई यसरी सार्वजनिक रुपमा चामलको प्रमाणित गर्नुपर्ने अवस्था किन पनि आयो भने लिलाम गरिएको उक्त चामल भण्डार गरिएको १० वर्ष भइसकेको थियो ।

२०११ मा तत्कालीन थाइ प्रधानमन्त्री यङ लिक शिनावात्राले एक विवादित अफर लागू गराइन् । जसकारण किसानहरुले बजार मूल्यभन्दा अत्यधिक धेरै दरमा ५४० लाख टनभन्दा धेरै चामल खरिद गरे । जवकि यस्तो स्किमलाई तत्कालीन प्रधानमन्त्रीको गलत आर्थिक नीतिको रुपमा लिइन्छ ।

यो स्किमपछि थाइ सरकारले धेरै आर्थिक संकट सामना गर्नुपरेको थियो । किनकि उक्त चामल बेच्न सक्ने अवस्था पनि रहेन । साथै सरकारसँग चामलको एक विशाल भण्डार बन्यो । गत महिना थाइल्यान्डका वाणिज्यमन्त्रीले त्यही चामल बिक्रीको निगरानीका लागि एक समिति बनाउने घोषणा गरेका थिए ।

१७ जुनमा एक थाइ कम्पनीले ‘भि ८ इन्टरट्रेडिङ’ले २८ करोड ६० लाख भाट (७८ मिलियन डलर) को कबुल लगाएर लिलामी गरेको थियो । तर मानिसहरुमा कस्तो चिन्ता छ कि, १० वर्ष पुरानो चामल कति खानयोग्य छ ?

थाइल्यान्ड विश्वकै धेरै चामल निर्यात गर्नेहरुमध्ये एक देशको रुपमा चिनिन्छ । तर यसका बावजुद थाइल्यान्डले चामलबाट नाफा पाउन सकिरहेको छैन । थाइल्यान्डको अर्थ मन्त्रालयका अनुसार यो स्किममा सरकारलाई १५ अर्ब डलर घाटा नै भयो ।

२०१४ सालमा केही महिनासम्म भएको प्रदर्शनपछि भएको सैन्य विद्रोहमा प्रधानमन्त्री याङ लिक शिनावात्राको सरकार उल्टियो । त्यसपछि २०१७ मा शिनावात्रामाथि यही चामल सम्बन्धी गलत नीतिका कारण देशलाई आर्थिक नोक्सानमा पुर्‍याएको भन्दै मुद्दा चल्यो र उक्त मुद्दामा अदालतबाट दोषी ठहर पनि भइन् ।

चामलको गुणस्तर कस्तो छ?

थाइल्यान्डमा चामललाई वर्षौंदेखि ठूला गोदामहरुमा स्टोर गरेर राखिएको छ । गत महिना थाइल्यान्डका वाणिज्यमन्त्रीले यसको गुणस्तर सावित गर्न त्यही गोदामबाट निकालिएको चामल मिडिया समक्ष खाएर देखाएका थिए । वाणिज्यमन्त्री फमथामले चामल खाँदै भनेका थिए, ‘चामलको दाना अहिले पनि ज्यादै मिठो लागिरहेको छ ।’ तर उक्त चामलको रंग केही पहेँलो हुनसक्ने र पुरानो जस्तो देखिएको उनको भनाइ थियो ।

वाणिज्यमन्त्रीले मिडियाकर्मीहरुको अगाडि चुनौती दिँदै भनेका थिए, तपाइँहरु चामलको कुनै पनि बोरा छेडेर यसको गुणस्तर मापन गर्न सक्नुहुन्छ ।’ थाइ वाणिज्यमन्त्रीले स्वास्थ्य मन्त्रालयको एउटा ल्याबमा उक्त चामलको जाँच गरे र त्यसको नतिजा मिडियासामु सार्वजनिक गरेका थिए । नतिजा सार्वजनिक गरिरहँदा उनले चामलमा विशाक्त केमिकल केही पनि नपाइएको बताएका थिए ।

ल्याबले पनि उक्त पुरानो चामलको पौष्टिकता अहिले पनि बजारमा पाइने चामलभन्दा फर नभएको बताएको छ । स्थानीय टिभी च्यानल ३ ले उल्लेख गरे अनुसार एक स्वतन्त्र ल्याबबाट चामलको अर्को पनि परीक्षण गराउँदा त्यसको नतिजा पनि खानका लागि सुरक्षित रहेको नै आएको थियो ।

के चामल कहिल्यै बिग्रिन्छ ?

संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)का अनसार यदि चामललाई हावा नचल्ने सुख्खा वा चिसो ठाउँमा कुनै कन्टेनरमा राखियो भने उक्त चामल लामो समयसम्म पनि खानका लागि सुरक्षित नै हुन्छ । यसैगरी अमेरिकाको राइस फेडरेसनले यदि चामललाई सही ढंगबाट स्टोर गर्न सकियो भने त्यो चामल लगभग अनिश्चितकालसम्म खानलायक नै हुने प्रतिक्रिया दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

पौष्टिकता र स्वादमा असर

बीबीसीको समाचारमा उल्लेख भए अनुसार यदि कुनै पनि औषधिको प्रयोग गरेर पनि त्यसलाई सावधानीपूर्वक सुरक्षित गरियो भने चामलमा विषाक्तता पैदा नहुने एफएओले जनाएको छ । अर्थात् त्यसले चामललाई नबिगार्ने बताइएको छ ।

तर १० वर्षसम्म पनि के चामलको पौष्टिकतामा कमी आउँदैन त भन्ने विषयमा भने एफएओले चामलमा थोरै मात्रामा देखिने माइक्रो न्युट्रिएंट्सको कमी हुनसक्ने जानकारी दिएको बीबीसीमा उल्लेख छ । तर त्यस्तो चामलको कुल पौष्टिकतामा खासै फरक नपर्ने बताइएको छ ।

साथै एफएओले चामलको प्रयोगबाट सबैभन्दा धेरै पौष्टिक लाभ त्यसमा हुने स्टार्चको उच्च गुणस्तरबाट पाइने उल्लेख गरेको छ । र मानव शरीरले यसलाई ऊर्जामा परिवर्तन गरिदिन्छ । तर आम रुपमा लामो समयसम्म चामल थन्क्याएर राख्दा यसको स्वाद हराउन भने सक्छ । तर त्यसमा पनि चामललाई कसरी स्टोर गरिएको छ भन्ने कुराले नै निर्धारण गर्ने बताइन्छ । यसबीचमा थाइल्यान्डमा लामो समय भण्डार गरिएको चामल चाख्ने क्रम भयो । सार्वजनिक रुपमा त्यसको परीक्षण गरिएको छ । किनकि उक्त चामलकै कारण देशको अर्थतन्त्र नै समस्यामा परेको थियो ।

अब थाइल्यान्डको चामल के हुन्छ?

थाइ राइस एक्सपोर्टर्स एसोसिएशनका अनुसार गत वर्ष सबैभन्दा धेरै थाइ चामल खरिद गर्ने देश इन्डोनेसिया र दक्षिण अफ्रिका थिए । थाइ अधिकारीहरुका अनुसार प्राय विपन्न देशहरुले थाइलयान्डको पुरानो चामल खरिद गर्छन् । दक्षिण अफ्रिका बाहेक थाइल्यान्डले अन्य अफ्रिकी देशहरुमा पनि चामल निर्यात गरेको छ ।

वाणिज्यमन्त्री फमथामले भने केही अफ्रिक देशहरुबाट थाइ चामलको माग गरिरहेको बताएका छन् । थाइ सरकारको लिलामीको घोषणासँगै अफ्रिकामा सोसल मिडियामा त्यो पुरानो चामलको विषयमा आशंका र प्रश्न उठ्न थालेको छ । कतिपयले त अफ्रिकालाई सबैले डम्पिङ साइट बनाउने गरेको भन्दै विरोध पनि गरेका छन् । तर लिलामीमा बोली लगाउने कम्पनी वी ड इन्टरट्रेडिङसँग चामल खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्नका लागि ३० दिनको मात्रै समय छ ।


क्लिकमान्डु