टाटा र आइसरसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालमा भारतबेन्जको उपस्थिति नाजुक बन्दै



काठमाडौं । एकातिर महँगा गाडी तथा कमजोर उपस्थिति र अर्कातिर उत्पादनमा विविधिकरण गर्न नसक्नुको परिणाम नेपाली बजारमा भारतबेन्जले भोग्नु परेको छ । नेपाल भारतबेन्च बेच्ने कम्पनीको वार्षिक व्यापार खस्किएर २ वर्षअघिको तुलनामा ६ भागको एक भागमात्र कायम भएको छ भने भविष्यमा सुधार्न नसके नेपाली बजारमा भारतबेन्च ट्रकको अस्तित्व नै संकटमा परेको हो ।

नेपालमा भारतबेन्चको ट्रक ओम्नी ग्रुपअन्तर्गतको ओम्नी मोटर्स प्रालि नामक कम्पनीले बेच्दै आएको छ । ओम्नी मोटर्सको वार्षिक सञ्चालन आम्दानी हेर्ने हो भने २ वर्ष अघिको तुलनामा करिब ८० प्रतिशतले घटेको छ । यो तथ्यले भारतबेन्चको उपस्थिति झनझन् कमजोर बन्दै गएको पुष्टि गर्छ ।

ओम्नी मोटर्सले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २८ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो जुन पछिल्लो ५ वर्षकै उच्च थियो । तर, गत आवमा यस्तो व्यापार ७० करोड रुपैयाँमा खस्कियो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ४० करोड रुपैयाँमात्र आम्दानी गरेको छ ।

भारतबेन्जको ट्रकको मूल्य औसतमा ३७ लाखदेखि ८५ लाख रुपैयाँसम्म पर्छ । जसको आधारमा कम्पनीले पछिल्लो ९ महिनामा १ सयवटामात्र ट्रक बेचेको बुझ्न सकिन्छ । तर, यस अविधमा कम्पनीले ट्रक बेचेर गर्ने र पार्टपुर्जा बेचेर गर्ने आम्दानी बराबर हुनुले ट्रक बिक्री ५० वटाको हाराहारीमा मात्र छ ।

भारतबेन्जको ट्रक फिचरका कारण प्रशिद्ध छन् । कम्पनीको ट्रकलाई लग्जरी ट्रक मानिन्छ । यी ट्रक तथा टिप्पर निर्माण कार्यमा प्रयोग गरिन्छ । नेपालमा निर्माण गतिविधि धमाधम भइरहेको र नयाँ परियोजना पनि थालनी भइरहेको परिस्थितिमा नेपालमा भारतबेन्जको अस्तित्व नै संकटमा परेको छ ।

ओम्नी मोटर्सको खुद वर्किङ क्यापिटल सञ्चालन आम्दानीको दोब्बर भन्दा बढी भइसकेको छ भने डिप्रिसियसन, ब्याज र कर अघि सञ्चालन नाफा ४ प्रतिशतमा खुम्चिएको छ । व्यवसाय राम्रो रहेका बेला नाफाको दर १३ प्रतिशत थियो भने सञ्चालन आम्दानीको तुलनामा वर्किङ क्यापिटल ६० प्रतिशतमात्र थियो ।

गत आर्थिक वर्षमा कम्पनीले १० प्रतिशत बजार हिस्सा गुमाएको थियो । ट्रकको विक्रीमा ह्रास आउँदा अहिले कम्पनीको आम्दानी पार्टपुर्जाबाट मात्र बढेको देखिन्छ । हाल कम्पनीको आधा आम्दानी पार्टपुर्जा विक्री गरेर भइरहेको छ । अहिले कम्पनीको २५२३सी मोडलको ट्रकमात्र विक्री भइरहेको छ जसबाट कम्पनीको ४० प्रतिशत आम्दानी हुन्छ ।

कम्पनीको स्थिति नाजुक हुनुको मुख्य कारण प्रतिस्पर्धामा चुक्नु रहेको मानिएको छ । धेरै प्रतिस्पर्धीमध्ये टाटा र आइसर मुख्य प्रतिस्पर्धी हुन् । उनीहरुसँग उत्पादनको विविधिकरण हुनु, राम्रो डिलरसिप सहित बजारमा उपस्थिति बलियो हुनु भारतबेन्जको लागि मुख्य चुनौती हुन् । साथै टाटा र आइसरका ट्रक सस्तो हुनाले भारतबेन्जलाई बजारमा उपस्थिति बनाउन निकै मुस्किल छ।

सन् २०१४ मा स्थापना भएयता ओम्नी मोटर्सले देशभर ११ विक्री आउटलेटमाफत् भारतबेन्ज बिक्री गर्दै आएको छ जुन प्रतिस्पर्धीको तुलनामा कमजोर हो ।

कम्पनीले हालैमात्र १३ अर्ब २५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले ४५ करोड रुपैयाँबराबरको अल्पकालीन कर्जाका लागि इक्राएनपी एलबी माइनस रेटिङ दिएको छ । यसअघि ५ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि कम्पनीले सोही रेटिङ पाएको थियो ।

कम्पनीले दीर्घकालीन कर्जा घटाएर अल्पकालीन कर्जा बढाउने योजना बनाएको हो । यसैगरी ८७ करोड ५२ लाख रुपैयाँ दीर्घकालनीन कर्जाका लागि इक्राएनपी एफोर प्लस सुनिश्चित गराएको छ । यसअघि १ अर्ब २१ करोड ५० लाख रुपैयाँबराबरको दीर्घकालीन कर्जाका लागि यही रेटिङ पाएको थियो ।


क्लिकमान्डु