प्रधानमन्त्री प्रचण्डले भेटे नवनियुक्त भारतीय विदेशमन्त्री जयशंकर, सम्झौता कार्यान्वयनबारे छलफल



काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेश मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा पुन नियुक्त भएकोमा जयशङ्करलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे । आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे ।

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको उनको भनाइ छ ।

भेटमा प्रधानमन्त्रीका सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो भने भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी थियो ।


क्लिकमान्डु