सिरोहियालाई थप उपचारका लागि एयर एम्बुलेन्समा काठमाडौं लैजान अस्पतालको रिफर



काठमाडौं । नागरिकता प्रकरणमा गत साता पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं ल्याउने तयारी गरिएको छ ।

न्यायिक हिरासतमा रहँदा अस्वस्थ भएपछि जनकपुरको काभ्या अस्पतालमा उपचाररत सिरोहियालाई उक्त अस्पतालले काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरेको हो ।

सोमबार मात्रै उनलाई धनुषा जिल्ला अदालतले न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद थपको अनुमति दिएको थियो । तेस्रो पटक म्याद थपेर अनुसन्धान भइरहँदा उनलाई थप उपचारका लागि काभ्या अस्पतालले काठमाडौं रिफर गरेको हो । सोमबार पनि उनलाई काभ्या अस्पतालबाट सिधै अदालत उपस्थित गरिएको थियो ।

सिरोहियाको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यको गम्भीरता हेरेर एयरलिफ्ट गर्न समेत सुझाव दिएका हुन् । उनको स्वास्थ्यमा गम्भीरता देखिएकाले थप उपचार र डायग्नोसिस गर्नुपर्ने देखिएको पनि चिकित्सकहरुले बताएका छन् । नागरिकता कीर्ते मुद्दामा सिरोहियामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु