काठमाडौं महानगरले सुरु गर्‍यो नि:शुल्क लोकसेवा तयारी कक्षा, २०५ ले आवेदन दिँदा छानिए १७८ जना



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ ।

वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।

आवेदन मागपछि कक्षामा सहभागी हुनका लागि २०५ जनाले आवेदन दिएका थिए ।

आवेदकमध्ये १७८ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको महानगरले जनाएको छ ।

आइतबार कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए ।

‘युवाहरुको वौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ,’ उनले भने, ‘महानगरबासीहरुमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो ।’

नेपाल सरकारका पूर्वसचिव एवं कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने बताए । ‘यसमा व्यक्तिको होइन, क्षमताको मूल्याङ्कन गरिन्छ । यसकारण सबैका लागि समान अवसर छ’ उनले भने ।

तालिम लिने व्यक्तिले भौतिक रुपमा कक्षामा उपस्थित हुनै पर्ने र यसमा अनलाइन कक्षा लिने सुविधा नभएको महानगरको सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले भनिन् । ‘कक्षाबिचमा छोड्ने छुट कसैलाई पनि छैन । यदि कसैले कक्षा छोड्यो भने त्यसवापतको शुल्क भुक्तानी गर्नुपर्नेछ’ उनले भनिन् ।

तालिम संयोजक रितु कर्णकाअनुसार तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ । तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० बर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ ।


क्लिकमान्डु