कृषिमा लगानी दशक घोषणा गरिने, कृषि उपजमा आत्मनिर्भर हुने घोषणा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्षलाई कृषिमा लगानी दशक घोषणा गरेका छन् ।

आगामी आर्थिक बर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आयात प्रतिस्थापन गरी निर्यात गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले आगामी आर्थिक बर्षलाई कृषिमा लगानी दशक घोषणा गरेका हुन् ।

उनले सम्भाव्यताको आधारमा छरिएर रहेका खेतीयोग्य जमिनमा एकीकृत रुपमा खेतीपाती गरिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए । कृषिलाई नयाँ परिवेशअनुसार पुनर्सरचना गरी बैज्ञानिक रुपमा कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक बर्षमा प्रमुख खाद्यान्न, तरकारीवाली, आत्मनिर्भर हुने घोषणा गरेका छन् । यसका साथै बीउमा पनि मुलुकलाई आत्मनिर्भर बनाउँदै दुई बर्षमा मत्स्य र पशुपन्छीमा आत्मनिर्भर र ५ बर्षमा फलफूलमा आत्मनिर्भर हुने घोषणा गरेका छन् ।

उनले कृषि क्षेत्रमा नीजि क्षेत्रलाई पनि आकर्षित गर्दै कृषि तथा अन्य प्रकारका उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने वातावरण बनाइने बताए । आगामी आर्थिक बर्षमा विशेष उत्पादन क्षेत्र घोषणा गरिने बताउदै उनले सम्भाव्यता क्षेत्रमा चैते धानलाई प्रवद्र्धन गरिने बताए ।

कृषि उपजको उत्पादन चक्र सुरु हुनअघि नै कृषि सुविधाको सुनिश्चितता गर्नुका साथै न्युनतम समर्थन मूल्यसमेत तोकिने उनले बताए । यसरी तोकिएको न्युनतम समर्थन मूल्यको आधारमा उत्पादन हुनुअघि नै क्रेता र बिक्रेताबीच सम्झौता गराइने व्यवस्था आगामी आर्थिक बर्षमा कार्यान्वयनमा आउने उनले बताए ।

उनका अनुसार आगामी आर्थिक बर्षमा नीजि क्षेत्रको सहभागितामा कृषि बजार सञ्चालनमा ल्याउनुका साथै गुणस्तरयुक्त, पारदर्शी र व्यवस्थित रुपमा मल आयात गरिने जानकारी दिए । नेपालमा आयात हुने तरकारी र खाद्यान्नको बिषादी अनिवार्य रुपमा परिक्षण गरिनेछ । यसका साथै खाद्यान्नसम्बन्धी प्रयोगशाला थप विस्तार गरी स्तरोन्नती गरिने उनले बताए ।

किसानलाई परिचय पत्र उपलब्ध गराइने र उक्त परिचयपत्रको आधारमा किसानलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराइने पनि उनले जानकारी दिए । १ प्रदेशमा १ हजार गाईभैसी अटाउने क्षमताको स्रोत केन्द्र स्थापना गरिनेछ । सिंचाई र खेतीयोग्य जमिनबीच समन्वय गरिने बताउदै उनले कृषियोग्य जमिनमा बर्षैभर सिंचाई सुविधा उपलब्ध गराइने बताए ।

उनका अनुसार आगामी आर्थिक बर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराइने छ । यस्तै तराईको ३ लाख १८ हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन स्यालो र डिप ट्युववेल कार्यक्रम सञ्चालनमा ल्याइने पनि उनले बताए । यसका साथै राष्ट्रिय महत्वको सिंचाई आयोजनालाई तिव्रगतिमा अघि बढाइने उनले बताए ।

राष्ट्रपति पौडेलले चालु आर्थिक बर्षमा मल र बीउको सहज आपूर्तिका कारण धानको उत्पादन अध्यधिक बढेको बताएका छन् ।
उनले कृषि सुविधाको उच्चतम सदुपयोग गरिएका कारण उत्पादन बढेको बताए । चालु आवमा ३ हजार हेक्टर क्षेत्रफलमा थप सिंचाई सुविधा पुगेको बताए ।


क्लिकमान्डु