अमेरिका र क्यानडा लैजाने भन्दै ५ करोड रुपैयाँ ठगी, ३ जना पक्राउ



काठमाडौं । अमेरिका र क्यानडा लैजाने भनेर करोडौं ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । मासिक ४ लाखभन्दा धेरै तलब हुने भन्दै १० जनाबाट २२ लाखदेखि ३० लाखका दरले ५ करोड रुपैयाँ संकलन गरी ठगी गर्ने गिरोहलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

कञ्चनपुर गड्डाचौकी नजिकै लुकिछिपी बसेको अवस्थामा प्रहरीले जगतबहादुर तामाङलाई पक्राउ गरी काठमाडौं ल्याएको जनाएको छ । तामाङ यस्तो मानव बेचबिखन धन्धाका मुख्य व्यक्ति रहेको र भारतको दिल्लीमा बसेर नेपालीहरुबाट ठगी गर्दैआएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

ओखलढुंगाका ४८ वर्षीय तामाङसँगै दिल्लीमा बसेर गिरोह चलाउने तनहुँका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यस्तै नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई उनीहरुले एजेन्टको रुपमा प्रयोग गरी रकम अशुल्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । तामाङलाई टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको छ । प्रहरीले तामाङलाई वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार उक्त गिरोहले दिल्लीस्थित पहाडगन्जस्थित होटलमा बसेर संगठित रुपमा मानव तस्करीमा संलग्न रहेको बुझिएको छ । उनीहरुले दुबइमा ट्रान्जिट बनाएर केन्या र युगान्डामा पुर्‍याइ उनीहरुबाट डलर खोसेर अलपत्र पार्ने गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यसरी उनीहरुले युगान्डा र केन्यामा पनि तिनै देशका नागरिकलाई आफ्ना एजेन्टको रुपमा प्रयोग गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु