आफ्नालाई उपभोगमा, कमसल धितोमा ऋण दिनेका कारण सहकारीमा संकट आयोः उपरजिष्ट्रार उपाध्याय



काठमाडौं । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका बिचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो औल्याइएको छ ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी सचेतना’ अभिमुखीकरण कार्यक्रममा यस्तो खाँचो औल्याइएको हो ।

सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने जस्ता कारण सहकारीहरुमा संकट बढेको सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले संकटहरुमा प्रहरी र सहकारीकर्मीको भेट हुने गरेको बताए । ‘२०८० साउनदेखि चैत मसान्तसम्म २२५ वटा सहकारीलाई कारबाही गर्न लेखेर आयो’ उनले भने ‘यसमा काठमाडौँ महानगरपालिकाभित्रका ९३ वटा छन् ।’

दुःखले राखेको बचत कसले लग्यो भन्ने बचतकर्तालाई थाहा नभएको उनको भनाइ छ । कतिपय सहकारीले ऋणीको ५० लाख रुपैयाँसम्म व्याज मिनाहा गरेको र यसको मनसाय के हो भन्ने स्पष्ट भएको बताए ।

सहकारी नियमनका विषयमा संघ सरकारकोे सहयोग आवश्यक ठानिएको छ । महानगरपालिकाको कृषि, सहकारी तथा पशुपन्छी व्यवस्था समितिका संयोजक रामजी भण्डारीले सहकारी क्षेत्रमा गलत गर्नेका कारण राम्रो काम गर्नेले राम्रा हुन पाएनन् । हामी राम्रोलाई राम्रो देखिने र गलतलाई कानुनी दायरामा ल्याएर सुधार गर्छौँ । महानगरपालिका कार्य क्षेत्र भएका सबै सहकारीले आफ्ना विवरण नियमित अद्यावधिक गराएका छैनन् । यस्ता सहकारीलाई खोज्दैछौँ ।’

अहिले काठमाडौं महानगरपालिकाभित्र १ हजार ९५३ वटा सहकारी संस्था छन् । जसमा १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, ३ वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सिपमूलक सहकारी, २ वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका १÷१ वटा सहकारी रहेका छन् ।

विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को युजर नेम र पासवर्ड लिने सहकारीको संख्या १ हजार ६०३ रहेको छ । सहकारी विभागमा नियमित विवरण बुझाउने ९५५ वटा छन् ।

सहकारी विभागका अनुसार देशमा ३१ हजार ३७३ वटा सहकारी संस्थामा ७३ लाख ८१ हजार २८१ जना सदस्य छन् । ९४ अर्ब १५ करोड रुपैयाँ कुल शेयर पुँजी रहेको सहकारी क्षेत्रमा ४ खर्व २६ अर्व २५ करोड ऋण लगानी छ । यस क्षेत्रमा ९३ हजार ७७१ जनाले रोजगारी पाएका छन् ।


क्लिकमान्डु