कहाँ पुग्यो चीन जोड्ने गल्छी-रसुवागढी सडक निर्माण ?



सडक निर्माणका लागि हाल जग्गाको लगत कट्टा गरिँदै छ। कतिपय स्थानमा भने मुआब्जा नपाएको भन्दै स्थानीयहरुले विरोध गर्नुका साथै मुद्दा दायर गरेका छन् ।

काठमाडौं । लामो समयको प्रयासपछि अन्ततः चीन जोड्ने गल्छी– त्रिशुली– मैलुङ– स्याफ्रुवेसी–रसुवागढी सडक निर्माणले गति लिएको छ ।

जग्गा प्राप्तीसम्बन्धी समस्या समाधान भएपछि यो सडक खण्ड निर्माण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सोमबार उक्त सडक खण्ड निर्माण गर्न आवश्यक पर्ने जग्गाको लागि जग्गा प्राप्तिसम्बन्धी सूचना जारी गरेपछि यसको निर्माण सुरु हुने निश्चित भएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले विदुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्मको १ हजार १ सय २० जग्गाधनीको नाममा रहेको जग्गाको लगत कट्टा गरी सरकारको नाममा जग्गा ल्याउने प्रक्रिया अघि बढाएको हो ।

सडक सीमामा परेको जग्गाधनीको जग्गाको लगत कट्टा गर्ने विषयमा उक्त कार्यालयले सूचना जारी गरेको हो । सरकारले यो सडक निर्माण गर्न जग्गा प्राप्ति ऐन २०३४ अनुसार ३ सय रोपनी जग्गा प्राप्त गर्न लागेको हो ।

यससँगै गल्छी– त्रिशुली– मैलुङ– स्याफ्रुवेसी–रसुवागढी सडक सीमाभित्र परेको स्थानीय २७ जना बासिन्दाको घर टहराको क्षतिपूर्ति उपलब्ध गराउन पनि उक्त कार्यालयले सूचना जारी गरेको छ ।

सडक विभागका अनुसार २०७२ सालमा सुरु भएको उक्त योजना सडक सीमामा परेको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय बासिन्दाले विवाद उत्पन्न गरेपछि सडक निर्माणको कार्य अवरुद्ध भएको थियो ।

सरकारले काठमाडौं–त्रिशुली सडकलाई २०३४ असार २० गते राजपत्रमा सूचना जारी गर्दै सहायक मार्गमा वर्गीकरण गरेको थियो । २०७२ मंसिर १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडकलाई सहायक मार्ग तोकेर केन्द्र रेखादेखि दाँयाबाँया १५-१५ मिटर गरी कुल ३० मिटर सडक सीमा कायम गर्ने निर्णय गरेको थियो ।

यो निर्णयको सूचना २०७२ फागुन ३ गते राजपत्रमा प्रकाशित भएको थियो । उक्त सडक खण्ड १५-१५ मिटर गरी कुल ३० मिटर कायम भए पनि हालसम्म विस्तार नगरी यथावत अवस्थामै राखिएको थियो ।

स्थानीयवासीहरुले सडक सीमाभित्र आफ्नो जग्गा परेको भन्दै क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले निवेदकको ‘मागदाबी अनुसार आदेश जारी गर्नुपर्ने देखिँदैन’ भनेर २०७९ पुसमा आदेश जारी गरेपछि सडक निर्माण हुने बाटो खुलेको हो । गल्छी– त्रिशुली– मैलुङ– स्याफ्रुवेसी–रसुवागढी सडक योजनाका ध्रुवकुमार श्रेष्ठका अनुसार यो सडक दुईदेखि चार लेनसम्म फराकिलो बनाउन लागिएको हो । उक्त सडक गल्छीदेखि चीनको नाका मितेरीपुलसम्मको दूरी ८२ किलोमिटर छ ।

गल्छीदेखि स्याफ्रुबेसीसम्म ११ वटा पक्की पुल बनाउनुपर्नेमा ९ वटाको निर्माण सम्पन्न भइसकेको छ । ३ वटा निर्माणाधीन छन् । सन् २०१८ मा चीन सरकारसँग दुई लेनसहित कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा सुरु भएको यो योजना २०७९/८० सम्म आइपुग्दा ५५.९८ प्रतिशत समग्र काम भएको बताइएको छ । साथै आर्थिक वर्ष २०८१/८२ सम्म योजना सम्पन्न गर्ने बताइएको छ । यो मार्ग हुँदै काठमाडौंबाट चीनको केरुङ जान करिब ३ घण्टा मात्रै लाग्ने बताइएको छ ।

चालु आर्थिक वर्षको लागि यो सडक खण्ड निर्माण गर्न सरकारले ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । तर उक्त रकम निकै कम भएकाले सडक योजनाले थप ५० करोड करोड रुपैयाँ माग गरेको श्रेष्ठले जानकारी दिए ।

यो सडक खण्डलाई सरकारले हालसम्म ८ पटकसम्म म्याद थपिसकेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी एउटै सडक आयोजनालाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । यसबीचमा मैलुङ–स्याफ्रुको काम भरहेको छ भने स्याफ्रुबेसी–रसुवागढीमा सडक निर्माण गर्न चिनियाँ पक्षलाई भनिएको छ ।

पहिलो खण्ड गल्छी–मैलुङ ४६, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेसी १९ र अन्तिम खण्ड स्याफ्रुबेसी–रसुवागढी खण्ड १७ किलोमिटर दूरीको छ । पहिलो खण्ड गल्छीदेखि सुकौरे खोलासम्म ३२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यो सडक निर्माणका लागि कोभेक, तुण्डी र रसुवा कन्ट्रक्सन जेभीले २०७३ साल कात्तिक २२ गते ठेक्का सम्झौता गरेको हो । यो सडकको ८ पटक म्याद थप भइसकेको छ ।

गल्छी–देवीघाट–पिपलटारसम्म, गेर्खुखोला–बेत्रावती, रसुवाको नौबिसे, किस्पाङ मनकामनाको पुच्छारमा सडक कालोपत्रे भएको छ । देवीघाट पारि जिलिङ, पिपलटारदेखि ढुंगे, रसुवाको बेत्रावती, किस्पाङको शान्तिबजार क्षेत्रमा सडक कालोपत्र हुन बाँकी छ ।

कतै विरोध र मुद्दा

शान्तिबजार क्षेत्रमा भने स्थानीयहरुले मुआब्जा नपाएको भन्दै अवरोध गर्दै आएका छन् । यस्तै स्थानीयहरुको विरोध र मुद्दापछि अदालतले गंगटेदेखि ढुंगे सडक खण्डका घर टहराको मुआब्जा दिनुपर्ने फैसला गरेको छ । यस्तै रसुवाको बेत्रावतीदेखि बोगटीटार जाने बाटोसम्मको क्षेत्रका बासिन्दाले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

दोस्रो खण्डमा पर्ने मैलुङ–स्याफ्रुबेसी १९ किलोमिटर सडकको प्रगति २४ पनि प्रतिशत मात्रै छ । हाल त्यस क्षेत्रमा सडकको दायाँबायाँ जाली भर्ने र वाल लगाउने काम भइरहेको छ । उक्त सडक कालोपत्रे गर्न भारत कन्स्ट्रक्सन–सिद्धि साई जेभीले ०७७ साल साउनमा ठेक्का पाएको हो ।

यस खण्डमा सेनाले ट्र्याक खनिदिएको थियो । स्याफ्रुबेसी–रसुवागढीसम्मको १७ किलोमिटर सडक भने चीन सरकारको सहयोगमा निर्माण गर्ने भनिएको छ । यो सडक गल्छीमा पृथ्वी राजमार्गसँग जोडिएपछि वीरगञ्ज हुँदै भारतसँग पनि जोडिन्छ । यो सडक त्रिदेशीय मार्ग बन्ने छ ।

साढे १५ अर्बको आयोजना

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक आयोजनाको कुल लागत १५ अर्ब ५० करोड रुपैयाँ छ । त्यसमध्ये मुआब्जा, घरटहराको क्षतिपूर्तिमा ६ अर्ब र सडक निर्माणमा ९ अर्ब ५० करोड खर्च हुनेछ । हालसम्म सडकतर्फ ५ अर्ब १५ करोड र मुआब्जा (जग्गा–घरटहरा)मा ३ अर्ब २३ करोड रुपैयाँ खर्च भइइसकेको आयोजनाले जनाएको छ ।

२७ जनालाई घर टहरावापत ९३ लाख क्षतिपूर्ति

गल्छी– त्रिशुली– मैलुङ– स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले नुवाकोट जिल्लाको गङटेदेखि ढुङ्गे (विदुर नगरपालिका वडा नम्बर १,२,४ र ५) का सडक सिमानामा परेका २७ परिवारलाई घरटहरा वापत ९३ लाख दुई हजार चार सय ३० रुपैयाँ क्षतिपूर्ति रकम सरकारले उपलब्ध गराउन लागेको हो ।

यसैबीच सडक योजनाले सूचना जारी गर्दै ३५ दिनभित्र सडक सिमानामा परेका घर टहरा भत्काउन निर्देशन दिएको छ । ३५ दिनभित्र घरटहरा भत्काइसकेपछि मूल्यांकन गरिएको रकम लिन पनि सडक योजनाले सूचना जारी गरेको छ ।


राजेश बर्मा