अमेरिकामा रोजगारी थपिने क्रम घट्यो, मार्चभन्दा १ लाख ४० हजार कम



एजेन्सी । अमेरिकामा पछिल्लो समय रोजगारी थपिने क्रम घटेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सीएनएनमा प्रकाशित समाचार अनुसार पछिल्लो अप्रिलमा १ लाख ७५ हजार रोजगार थपिएको श्रम विभागले जनाएको छ ।

शुक्रबार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो दर अपेक्षितभन्दा कम र गत वर्षको अप्रिलपछि सबैभन्दा कम रोजगारी दर हो । संघीय सरकारले मुद्रास्फिति नियन्त्रण गर्नका लागि माग कम गराउन खोजिरहेको बेला यस्तो यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

उच्च ब्याजदरका कारण श्रम बजार मन्द हुँदै गएको अर्थशास्त्रीहरुले बताएका छन् । जवकि मार्च महिनामा रोजगारी संख्या ३ लाख १५ हजार थियो । जुन एक महिनाको अवधिमा १ लाख ४० हजारले रोजगारी संख्या घटेको हो ।

हालको बेरोजगारी दर हेर्दा ३ दशमलब ९ प्रतिशतले बढेको श्रम विभागले जनाएको छ । जुन १९९० को दशकको अन्त्यतिर देखिएको जस्तै अवस्था देखिएको पनि बताइन्छ । साथै अर्थशास्त्रीहरुसहित विभिन्न निकायले गत अप्रिलमा २ लाख ३५ हजार रोजगारी थपिने र बेरोजगारी दर ३ दशमलब ८ प्रतिशतमा स्थिर रहने अपेक्षा गरेका थिए ।

अप्रिलमा नयाँ थपिएको रोजगारीमध्ये झण्डै आधा ८७ हजार रोजगारी भने स्वास्थ्य र सामाजिक सहायता क्षेत्रमा थियो । जुन क्षेत्रलाई अमेरिकामा रोजगारी पाउने प्रमुख क्षेत्र पनि मानिन्छ । थप रोजगारी यातायात, भण्डारण र खुद्रा ब्यापार लगायतका क्षेत्रमा रहेको बताइएको छ । २०२४ को सुरुवातदेखि नै आर्थिक गतिविधि बिग्रिएको र पछिल्ला महिनाहरुमा मुद्रास्फीति वृद्धि हुनुका साथै अपेक्षित रुपमा तलब वृद्धि सहज भएन ।

यद्यपि कतिपय अर्थशास्त्रीहरुले यो तथ्यांकलाई चिन्ताजनक नरहेको बताइरहेका छन् । २०२३ मा आकलन गरेजस्तो अवस्था नरहेको उनीहरुले बताएका छन् । अर्थशास्त्री माइकेल पग्लिजले श्रम बजार अझै बलियो रहेको दाबी गरेका छन् । श्रम बजारको अवस्था तुलनात्मक रुपमा कमजोर रहे पनि २००९ र २०२० को जस्तो अवस्था भने नरहेको उनको भनाइ छ ।

यसबीचमा रोजगारी छोड्नेहरु पनि कम रहेको बताइएको छ । ‘१ लाख ७५ को रोजगारी संख्या चिन्ताजनक हो जस्तो मलाई लाग्दैन । मलाई लाग्छ यो ठीकै संख्या हो,’ श्रम विभागमा वरिष्ठ नीति सल्लाहकारको रुपमा काम गरेकी पूर्वअधिकारी जेन ओट्सले भनेकी छन् । साथै आगामी महिनाहरुमा श्रम बजारको अवस्था सामान्य हुँदै जाने ओट्सको भनाइ छ ।

तर गत वर्ष आकलन गरिएको बोरोजगारी दरभन्दा कम देखिएको हो । अप्रिलसम्म अमेरिकामा प्रतिमहिना नयाँ रोजगारी सिर्जना हुने संख्या सरदरमा २ लाख ४५ हजार ५ सय थियो भने गत वर्ष सरदर रोजगारी संख्या २ लाख ५१ हजार थियो । कतिपय अर्थशास्त्रीहरुले भने एक महिनाको तथ्यांकले नै समग्र श्रम बजारको प्रवृत्ति बनाउन नसक्ने बताउँदै आएका छन् । यसलाई केही महिनासम्मको शिलशिलाबाट हेर्नुपर्ने उनीहरुको तर्क छ ।


क्लिकमान्डु