‘तत्काल जग्गा खण्डीकरण नरोकिने, व्यवस्थित आवासका लागि सरकार-निजी क्षेत्र सहकार्य आवश्यक’



काठमाडौं । देशभर भइरहेको जग्गा खण्डीकरण तत्कालका लागि रोक्न नसक्ने सरोकारवालाहरूले बताएका छन् । कुपण्डोल भइरहेको दुईदिने नेपाल रियल इस्टेट सम्मेलन-२०२४ मा सरोकारवालाहरूले तत्काल जग्गा खण्डीकरण रोक्न नसक्ने बताएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बढ्दो शहरीकरण र बसाइँसराइका कारण भइरहेको जग्गा खण्डीकरण रोक्न नसक्ने बताए ।

सरकारले जग्गा खण्डीकरण रोक्ने नीतिसहित भूउपयोग नियमावली जारी गरेको उनले बताए । तर लागू हुन नपाउँदै समस्या आएको उनले बताए । अहिले सरकारले खुला गरे पनि पूर्णरूपमा खुला गर्न सकेको छैन । जसले गर्दा समस्या आइरहेको छ ।

उनले देशमा व्यवस्थित आवासको विकास गर्न निजी क्षेत्रको ठूलो भूमिका रहेको बताउँदै व्यवस्थित शहरीकरणसँगै उत्पादन र उत्पादकत्व बढाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

देशको अर्थतन्त्रमा ठूलो सम्भावना भएको क्षेत्रमा हजारौंको संख्यामा व्यवासयीहरू छन् । ती व्यवसायीहरूको करिब तीन खर्ब लगानी छ । तर औपचारिकभन्दा अनौपचारिक कारोबार गर्नेको संख्या बढी भएकाले सरकारले आवश्यक नीति नियम ल्याए व्यवस्थित गर्न सकेमा राज्यलाई ठूल्यो योगदान पुग्ने उनले जिकिर गरे।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले घरजग्गा व्यवस्थित बनाउँन व्यवसायीसँग सहकार्य गरेर मात्रै सम्भव हुने बताइन् । उपत्यकामा जग्गा खण्डीकरण उच्च भइरहेको भन्दै उनले यसका लागि प्राधिकरणले रोक्ने प्रयास गरिरहे पनि नसकेको उनले बताइन् ।

घरजग्गा कारोबारमा लाइसेन्स प्राप्त कम्पनीमार्फत् मात्रै कारोबार गर्न पाउने व्यवस्था नगरेससम्म व्यवस्थित आवासको विकास हुन नसक्ने उनको भनाइ छ । जबसम्म व्यक्ति व्यक्तिले घर बनाउने प्रकृति हट्दैन तबसम्म आवासको समस्या नहट्ने उनको तर्क छ ।

पूर्वाधारविद् किशोर थापाले बढ्दो बसाइँसराइले पहाडबाट तराई र तराईबाट उपत्यका छिर्ने प्रवृत्ति रहेको बताए । बसाइँसराइलाई व्यवस्थित गर्न निजी क्षेत्रको ठूलो भूमिका रहेको उनले बताए ।

उनकाअनुसार नेपालमा घरजग्गा कारोबारमा मध्यस्ताकर्ताको बढी प्रयोग हुने गरेको छ । तर मध्यस्तकर्ता वैधानिक नहुँदा कारोबारमा समस्या आइरहेको र राज्यले ठूलो रकमको राजस्व गुमाइरहेको उनले बताए । सरकारले नीतिगत सुधार गरी घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु