स्पेकुलेटिभ बबल: जुवाडे सोच कसरी महामारी बन्छ ?



अङ्ग्रेजीमा ‘स्पेकुलेटिभ बबल’ भनिने शब्दावलीलाई नेपालीमा ‘सट्टेबाजी फोका’ भनेर अनुवाद गर्न त सकिन्छ तर यसले दिन खोजेको भावलाई बुझाउन भने कठिन हुन्छ ।

हामीकहाँ प्रचलनमा नभएकाले पनि हुन सक्छ ‘सट्टेबाजी फोका’ अर्थहीन लाग्छ ।

बर्खामा हावा भरिएको पानीका फोका उठ्छन् र फुट्छन् । अर्थतन्त्रमा सम्पत्तिहरूको मूल्यमा उच्छल आउने र चकनाचुर हुने प्रवृत्तिलाई औँल्याउन विकसित मुलुकहरूमा त्यही बिम्बको प्रयोग गरिन्छ । ती मुलुकहरूमा विभिन्न समयमा आएका जस्तै गहिरो र फराकिलो किसिमका वित्तीय संकट बेहोर्नु नपरेकोले पनि हुनसक्छ हामी यो बिम्बसँग धेरै परिचित छैनौँ ।

केही दशकदेखि हाम्रो अर्थतन्त्रको मौद्रिकीकरण हुँदै गएको छ, कारोबारहरू औपचारिक हुँदै गएका छन् । भूमि, श्रम, वस्तु तथा वित्त बजार एकअर्कोसँग सघन रूपमा जोडिन थालेका छन् । त्यसैले एउटा क्षेत्रमा आउने समस्या अर्को क्षेत्रमा फैलिन सक्छ ।

एक दशकअघिसम्म हाम्रो सेयर बजारलाई ‘काठमाडौंको रिङरोडभित्र सीमित छ’ भनिन्थ्यो । त्यसबेला सेयर बजारको उतारचढावले प्रभावित हुने जनसङ्ख्या थोरै थियो ।

अहिले गाउँगाउँमा सेयर बजार पुगेको छ । तिलहरी, बाख्रा, कुखुरा बेचेर सेयरमा लगानी गरेको समाचार पढ्न पाइन्छ । विदेशिएका नेपालीहरूको पनि सेयर बजारमा उत्तिकै रुचि रहेको देखिन्छ । प्राथमिक तथा दोस्रो बजारमा उनीहरूले लगानी गरिरहेका छन् ।

सेयर जम्मा गर्नका लागि ६१ लाख डिम्याट खाता खोलिएका छन् । दोस्रो बजारमा सेयर कारोबार गर्ने अनलाइन प्रयोगकर्ताको सङ्ख्या २० लाख पुगेको छ । सेयर ब्रोकरले १९० कारोबार विन्दु (ट्रेडिङ टर्मिनल्स) वा शाखाबाट सेवा प्रवाह दिइरहेका छन् । बजारको आकार हाल ३२ खर्ब रुपैयाँ पुगेको छ । दैनिक औसत चार अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको छ ।

बैकिङ कारोबारको इतिहास सेयर बजारको भन्दा धेरै पुरानो छ । राष्ट्र बैंकबाट इजाजतपत्र लिएर ११२ वटा बैंक तथा वित्तीय संस्था सञ्चालित छन् । ती संस्थाको शाखा ११ हजार ५७० पुगेको छ । ७५३ पालिकामध्ये बझाङको साइपालबाहेकका सबै पालिकामा कम्तीमा एउटा बैंक शाखा पुगेको छ । यो आलेख तयार पार्दासम्म बैंक तथा वित्तीय संस्थाले ६१.८१ खर्ब रुपैयाँ निक्षेप संकलन र ५०.८८ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बीमा सेवा दिने कम्पनीको सङ्ख्या ३४ पुगेको छ । तिनको शाखा सङ्ख्या झण्डै तीन हजार पुगेको देखिन्छ ।

यिनीहरूले अघिल्लो वर्ष एक खर्ब ८२ अर्ब प्रिमियम संकलन गरेका थिए । जीवन बीमाले ४४ प्रतिशत जनसङ्ख्यालाई समेटेको नेपाल बीमा प्राधिकरणको दाबी छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले उपदान तथा अवकाश कोषको व्यवस्थापन गरिरहेका छन् । उपलब्ध पछिल्लो तथ्यांकअनुसार सञ्चय कोषले चार खर्ब ७० अर्ब रुपैयाँ, नागरिक लगानी कोष दुई खर्ब ५० अर्ब रुपैयाँ र सामाजिक सुरक्षा कोषले ५० अर्ब रुपैयाँ बराबरको सम्पत्ति परिचालन गरेका छन् ।

देशभर करिब ३५ हजार सहकारी दर्ता भएको र तीमध्ये १३ हजारले बचत तथा ऋणको कारोबार गर्छन् भनिन्छ ।

यिनीहरूले कति रकम परिचालन गरिरहेका छन् भन्ने यकिन तथ्यांक हामीसँग छैन । विगत एक दशकको तथ्यांकलाई हेर्ने हो भने पनि क्रमिक रूपमा वित्तीय क्षेत्रको विस्तार भइरहेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ सम्म मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय क्षेत्रको हिस्सा चार प्रतिशतको हाराहारीमा थियो भने २०७९/८० मा यो हिस्सा सात प्रतिशतको नजिक पुगेको देखिन्छ । वित्तीय क्षेत्रको विस्तारले समग्र आर्थिक वृद्धिको गतिलाई सहयोग पुर्‍याउन सक्छ, सँगसँगै यसले तीव्र उतारचढावको जोखिमलाई पनि बढाउँछ । निर्वाहमुखी अर्थतन्त्रमा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका हुँदैन । तर हाम्रो अर्थतन्त्र अब वित्तीय क्षेत्रको भूमिकालाई नजरअन्दाज गर्न सकिने तहमा छैन भन्ने माथिका आँकडाले संकेत गर्दछन् ।

पछिल्ला केही वर्षमा हामीकहाँ बैंकिङ प्रणालीको तरलता, सेयर बजारको ज्वारभाटा, घरजग्गा कारोबारको अवस्थालाई एकअर्कासँग जोडेर चर्चा हुन थालेको छ । यो विषय उपल्लो तहको नीति तर्जुमा र कार्यान्वयनमा सीमित नभएर आम चर्चाको मुद्दा बनेको छ । त्यसैले यस लेखमा वित्तीय क्षेत्रको तीव्र उतारचढावले निम्त्याउने जोखिमको सामान्य चर्चा गर्न खोजिएको छ । सामान्यतया फोका बन्ने र फुट्ने कुरालाई सेयर बजारसँग जोड्ने गरिन्छ । तर सेयर बजार अस्तित्वमा आउनु अघिदेखि नै सम्पत्तिहरूको मूल्य ह्वात्तै बढ्ने र घट्ने अनि अर्थतन्त्रमा समस्या खडा हुने गरेको घटना विश्व इतिहासमा पाइन्छ ।

सट्टेबाजी उत्साह
यसमा सम्पत्तिको मूल्य वृद्धिको समाचारले लगानीकर्ताको उत्साह बढाउँछ । यो मनोविज्ञान एक व्यक्तिबाट अर्कोमा तीव्र गतिमा सङ्क्रामक रूपमा फैलिन्छ । यस प्रक्रियामा मूल्यवृद्धिलाई जायज ठहर्‍याउने कथाहरूको रचना र प्रचारप्रसार पनि व्यापक रूपमा भइरहेको हुन्छ । लगानीकर्ताहरूको समुदाय फराकिलो बन्दै जान्छ । सम्पत्तिको वास्तविक मूल्यसँग कसैलाई वास्ता हुँदैन । अरूको सफलताले पैदा गरेको ईर्ष्याभावबाट प्रेरित भई सम्पत्तिको बजारमा जुवा खेल्ने उत्तेजना हावी हुन्छ ।

उत्साह, शंका, ईर्ष्या, अड्कलबाजी जस्ता धेरै मनोवैज्ञानिक वा भावनात्मक तत्त्वहरूले यसमा काम गरेका हुन्छन् । बहुसङ्ख्यक अर्थशास्त्रीहरूले यसमा खासै जोड दिँदैनन् । किनकि उनीहरूले आर्थिक निर्णयमा मानवीय भावनाले भूमिका खेल्छ भन्ने मान्यतालाई स्वीकार गर्दैनन् । उनीहरूले सिद्धान्त बनाउँदा वा विश्लेषण गर्दा वा नीतिगत सिफारिस गर्दा होमो इकोनोमिक्स (विवेकशील आर्थिक मानव) लाई आधार बनाउने गर्छन् ।

सट्टेबाजी उत्साह एक मनोसामाजिक चुनौती हो । यसको निदान सजिलो हुँदैन । किनकि यो समस्या फरक समय र सन्दर्भमा फरक किसिमले प्रकट हुन्छ । मानसिक चिकित्सामा रगत दिसापिसाब परीक्षण वा एक्सरे आदिबाट रोगको निदान गर्न नसकिने हुनाले लक्षणहरूको सूची बनाइन्छ र धेरै लक्षण मिल्न गएमा रोगको अनुमान गरेर उपचार थालिन्छ । यस्तै किसिमको चुनौती आर्थिक उतारचढावलाई सम्बोधन गर्ने सन्दर्भमा पनि आउँछ ।

सामाजिक महामारी
तर सट्टेबाजी उत्साह व्यक्तिगत भन्दा पनि सामाजिक समस्या हो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री रबर्ट सिलरका अनुसार यो समस्या धेरै मान्छेको अन्तरक्रियाबाट उत्पन्न हुन्छ । यसमा कोही जानी बुझिकन लागेका हुन्छन्, कोही अञ्जानमा । सम्पत्तिहरूको मूल्य बढ्न थालेको देखेपछि बढीभन्दा बढी मानिसहरू यसमा प्रवेश गर्दछन् ।

आमसञ्चार माध्यम, पारिवारिक जमघट, सार्वजनिक समारोह सबैतिर यसको चर्चा हुन थाल्छ । यसले सकारात्मक चक्र सिर्जना गर्छ । मूल्य थप बढ्न थाल्छ ।

धेरैको सोचाइ पहिलेको मूल्य बढाइ र अहिलेको फरक हो भन्ने हुन्छ । बजारमा अनेकौँ किसिमका कथाहरू व्याप्त भएका हुन्छन् । यसमा सहभागी नभए अवसर गुम्छ भन्ने डर पनि हुन्छ । सम्पत्तिका आकाङ्क्षीहरूको अन्तरमनमा मूल्य वृद्धि दिगो होइन भन्ने शंका हुन सक्छ ।

त्यो अवस्थामा उसले अरू कसैलाई बेचेर उम्किन्छु भन्ने जोखिम उठाउँछ । ठिक यसै गरी नकारात्मक चक्र पनि उत्पन्न हुन्छ । यो चरणमा मूल्य घट्न सुरु भएपछि नकारात्मक कथाहरू व्याप्त हुन थाल्छन् । सम्पत्ति बिक्रीलाई प्रोत्साहन गर्नेगरी निराशा र विपत्तिका कथाहरू व्यक्तिगत तथा सार्वजनिक चर्चामा आउने गर्छन् । धेरैको ध्याउन्न नोक्सानी कम गर्नेतर्फ हुन्छ ।

यसलाई अवसरको रूपमा बुझ्नेहरू कम हुन्छन् ।

अवसरको रूपमा बुझेर मात्रै हुँदैन । स्वामित्व ग्रहण गर्ने क्षमता पनि हुनुपर्छ । त्यसैले खरिद गर्ने चाहना र स्रोत भएकाहरू कम हुन्छन् । अर्को कुरा नकारात्मक होस् कि सकारात्मक चक्र कहिले समाप्त हुन्छ भन्ने यकिन जानकारी कसैसँग पनि हुँदैन । अल्पकालको सच्चिने प्रवृत्ति (बढिरहेको भए घट्ने, घटिरहेको भए बढ्ने)ले बजार सहभागीलाई झुक्याउँछ । त्यसैले सम्पत्तिको मूल्य घट्दो वा बढ्दो प्रवृत्तिका विरुद्धमा जानु ठूलो जोखिम मोल्नु हुन्छ ।

व्यक्तिगत सहभागीको कुरै छोडौँ संस्थागत र पेसेवर बजार सहभागीलाई पनि सम्पत्तिको ठिकठिक मूल्यांकन गर्न कठिन हुन्छ । प्रचलित वित्तीय सूचकांक पनि पूर्ण रूपमा वस्तुगत हुन नसक्दा सम्पत्तिको यकिन मूल्यांकन गरी खरिद वा बिक्री गर्ने निर्णय मनोगत हुन जान्छ ।

महामारीका लक्षण
मनोगत निर्णयमा संज्ञानात्मक त्रुटिहरू हुनसक्ने विद्वान्हरूले औँल्याएका छन् । यसमध्ये पहिलो हो, अङ्कुशे प्रभाव । यो यस्तो मनोवैज्ञानिक अङ्कुश हो जसले हामीलाई एउटा विन्दुमा अड्याएर राख्छ । हाम्रो अवचेतन मन कुनै सूचना, संकेत, विम्ब, अंक, घटना आदिमा अड्किएको हुन्छ । त्यसरी अड्किएको मनले चिजहरू परिवर्तनशील हुन्छन् भन्ने हेक्का राखेको हुँदैन ।

त्यसैले हामीले कुनै बेला सही ठहर्‍याएको वस्तु, घटना वा उपाय सधैँ सही हुन्छ । सम्पत्तिको मूल्यांकनमा यो कमजोरी हावी हुनसक्छ । अर्को समस्या मनोगत लेखांकन हो । पैसाको उपयोगलाई प्राप्त स्रोतअनुसार मानसिक रूपमा अलग्याउने यस किसिमको प्रवृत्तिले सहभागीलाई सम्पत्तिबाट प्राप्त हुनसक्ने सम्भावित उच्चतम प्रतिफल हात पार्नबाट रोक्छ ।

अति आत्मविश्वासबाट प्रभावित भएर पनि बजार सहभागीले धेरै गल्ती गर्छन् । कुन सम्पत्ति किन्ने, कुन बेच्ने, कहिले किन्ने, कहिले बेच्ने भन्ने कुरा अरूलाई भन्दा मलाई बढी थाहा छ भन्ने अति विश्वास केही बजार सहभागीमा हुन्छ । विकसित बजारमा गरिएका अध्ययनअनुसार यस्ता सहभागीले अनावश्यक रूपमा सम्पत्ति किनेबेच गर्दछन् र उनीहरूको कारोबार लागत बढ्छ, प्रतिफल कम हुन्छ ।

पुष्टीकरण र पूर्वदर्शी पूर्वाग्रहले पनि बजार सहभागीलाई झुक्याउँछ । हामीले जे देख्न वा सुन्न चाहेका हौँ, त्यही देख्ने वा सुन्ने गर्छौं । लगानीकर्तालाई कुनै सम्पत्ति ग्रहण गर्न मन लागिरहेको छ भने उसले त्यसका बारेमा सकारात्मक कुरा मात्रै सुन्छ वा देख्छ । यहाँनेर सम्पत्ति असल भएर उसले राम्रा कुरा थाहा पाएको होइन, बरु पहिल्यै एक किसिमको धारणा बनाएर सोधखोज गरेकाले राम्रो हो भन्ने पुष्टि हुन गएको हो ।

पूर्वदर्शी आग्रहबाट प्रभावित बजार सहभागीले आफूलाई बजारको उतारचढावबारे पहिल्यै जानकारी थियो भन्ने स्वाङ पार्छ । जस्तो कि; उसलाई सेयर बजार बढ्छ वा घट्छ, घरजग्गाको भाउ बढ्छ वा घट्छ, ब्याजदर बढ्छ वा घट्छ भन्ने पहिल्यै थाहा थियो । जुवाडे त्रुटि अर्को मनोवैज्ञानिक समस्या हो ।

हाम्रो दैनिक जीवनमा, हाम्रा टोलछिमेकमा यस्ता कैयौँ पात्र फेला पर्छन् । सेयर बजारमा लगातार चार दिन बढेको कम्पनीको सेयर पाँचौँ दिन पनि बढ्छ भन्ने मानसिकताबाट प्रभावित भएर लगानी गर्नेहरू यो वर्गमा पर्छन् । समय विभाजनको आधार भने दिन, साता, महिना वा वर्ष कुनै पनि हुनसक्छ । लोभलालचले अन्धो बनाएपछि मान्छेले भिडलाई पछ्याउँछ । हाम्रोमा यस्तो घटना गलैंचाको व्यापार, पश्मिनाको निर्यात, घरजग्गा कारोबार, वैदेशिक रोजगारलगायतका क्षेत्रमा देखापरेको छ । यस्तो पूर्वाग्रहपीडित मान्छेले वास्तवमा कुनै चिजले कसरी काम गरिरहेको छ भनेर भित्री कुरा बुझ्ने कष्ट गर्दैन ।

अनपेक्षित समाचार आउने बित्तिकै सम्पत्ति बेचिहाल्ने र आफूलाई मनपर्ने किसिमको समाचार वा आफ्नो आग्रहलाई पुष्टि गर्ने किसिमको समाचार आए किनिहाल्ने प्रवृत्तिका व्यक्ति पनि बजारमा हुन्छन् ।

सूचनाहरूमा यस किसिमको तत्काल र तीव्र प्रतिक्रिया दिने सहभागीले अधिकतम लाभ सुनिश्चित गर्न सक्दैनन् । यस्ता लगानीकर्ता हावी हुँदा नयाँ सूचनाले बजार ह्वात्तै बढ्ने, ह्वात्तै घट्ने हुनसक्छ ।

हालसालैको घटनाबाट अति प्रभावित हुने र केही समयपछि त्यसलाई पूरै बिर्सिदिने मनोवैज्ञानिक समस्या पनि बजार सहभागीमा हुन्छ । यस्तो समस्या भएका सहभागी अल्पकालीन लगानीमा रमाउँछन् ।

दीर्घकालीन लगानी दृष्टिकोणको सर्वथा अभाव हुन्छ ।

यसले उनीहरूलाई दीर्घकालीन लगानीबाट प्राप्त हुने सहज तथा सुरक्षित लाभबाट वञ्चित बनाउँछ ।

मान्छेले उपलब्धिलाई भन्दा नोक्सानीलाई बढी भार दिन्छन् । अनुसन्धाताका अनुसार यस्तो मानसिक समस्याबाट ग्रस्त व्यक्तिले नराम्रो सेयर लामो समयसम्म लिएर बस्छन्, त्यसलाई बिक्री गरेर नोक्सानी घटाउँदैनन् ।

यसै गरी, उनीहरू राम्रो सेयर अलिकति मूल्य बढ्दैमा आत्तिएर बेचिहाल्छन् र नाफा कम गर्छन् ।

लाभ–हानि वा विजय–पराजयको कुनै पनि खेलमा प्रवेश गरिसकेपछि सामान्य मान्छेमा तार्किकताभन्दा अहम्ले बढी काम गर्छ । यसमा बोली लगाइने वस्तु वा सम्पत्तिको आन्तरिक मूल्य वा वास्तविक मूल्यभन्दा खरिदकर्ताले बोलेको मूल्य धेरै बढी हुन्छ । लिलामी मूल्य आन्तरिक मूल्यमा ठूलो अन्तरलाई सामान्यतया अपूर्ण जानकारी, भावनात्मक वेग र अन्य व्यक्तिपरक कारणहरूले बल पुर्‍याएको हुन्छ । यस किसिमको खेलमा भाग लिने एक जनाले मात्र नभई धेरै जनाले वस्तु वा सम्पत्तिको मूल्यलाई अनावश्यक रूपमा माथि धकेल्छन् ।

सङ्ज्ञानात्मक समस्याले व्यक्तिगत र सांस्कृतिक स्तर दुवैमा काम गर्दछ । सांस्कृतिक स्तरमा यसले सट्टेबाजी उत्तेजनालाई बढाउँछ ।

समस्या बजार व्यवस्थाको मात्र होइन समस्याको पहिचान भइसकेपछि हाम्रो ध्यान यसलाई कसरी नियमन गर्ने वा रोक्ने भन्नेतर्फ जान्छ । धेरैले यसमा अनियन्त्रित बजार व्यवस्थाको दोष देख्छन् ।

तर अर्थतन्त्रलाई निस्तेज पार्न सक्ने यस किसिमको सामाजिक महामारी बजार व्यवस्थाको विशिष्ट चरित्र होइन ।

एक पटक बिसौं शताब्दीको पूर्वाद्र्धदेखि सुरु भएको साम्यवादी योजनाबद्ध अर्थतन्त्रलाई हेरौँ । बजारको भूमिका नभएका ती अर्थतन्त्रहरू पनि चरम आर्थिक संकटबाट गुज्रिएका थिए । त्यहाँ लेखको सुरुमा भनिएको जस्तो फोकाहरू सतहमा देखिएका थिएनन्, तर अर्थतन्त्र भित्रभित्रै खोक्रो भई एकाएक विघटनमा जाने र ठूलो मानवीय विनाश निम्त्याउने किसिमको थियो ।

सोभियत संघले सन् १९२९ मा श्रम, भूमि, पुँजीजस्ता उत्पादनका साधनहरू राज्यको स्वामित्वमा लिएर योजनाबद्ध आर्थिक अभियान सुरु गर्‍यो ।

योजनामार्फत कृषिको व्यापक पुनर्गठन भयो । स–साना व्यक्तिगत कृषि कर्मलाई विशाल सामूहिक खेतीमा रूपान्तरण गरियो । कृषिको यान्त्रीकरण र उत्पादकत्व बढाउने भनियो । यो योजना सफल हुन्छ भन्ने प्रारम्भिक अनुमान र उत्साह छक्क पार्ने किसिमका थिए ।

मान्छेहरू यति उत्साही थिए कि कसैकसैले आफ्ना बच्चाको नाम ‘त्र्याक्तर’, ‘इलेक्त्रिफिक्तासिया’ सम्म राखे भनिन्छ ।

श्रम, पुँजी, भूमि कुनैको पनि बजार मूल्य थिएन ।

त्यसैले बजार मूल्यमा उतारचढाव आउने प्रश्नै भएन ।

वासलात, नगद प्रवाह, नाफा नोक्सानका विवरण सार्वजनिक हुन्थेनन् । कुनै उद्योग व्यवसायले राम्रो गरिरहेको छ वा नराम्रो भन्ने विश्लेषण गर्ने न आधार थियो न स्वतन्त्रता ।

तैपनि संकट आयो, सन् १९३२–३३ मा एक करोड १० लाख मान्छे भोकमरीले मरे ।

यस्तै घटना चीनमा पनि भयो– सन् १९५८ देखि १९६१ सम्मको कम्युनिष्ट चीनमा ‘द ग्रेट लिप फर्वार्ड’का नाममा । त्यहाँ पनि वित्त बजारलाई निमिट्यान्न पारिएको थियो । कृषिको सामूहिकीकरण र आक्रमक रूपमा उद्योग प्रवद्र्धन गर्ने अभियान सरकारले चलाएको थियो । विशेष गरी फलाम र इस्पात उद्योगमा सरकारले जोड दिएको थियो । त्यहाँ पनि बजार मूल्यहरू अस्तित्वमा थिएनन् ।

वासलात, नाफा–नोक्सानको विवरण र स्वतन्त्र विश्लेषकहरू थिएनन् ।

गाउँगाउँमा स्टिल उत्पादन गर्ने भट्टीहरू खडा भए ।

‘स्टिल उद्योग’ चलाउन गाउँलेले आफ्ना भाँडाकुँडा दिएर सामूहिक भान्छामा खाना खान थाले । यसरी ‘‘स्टिल उद्योग’ चल्दैन भनेर बुभ्mने मान्छे चीनमा नभएका होइनन् । तर उनीहरू चुप लागे । द्रुत गतिमा भूमि र श्रम कृषिबाट कथित उद्योगतर्फ मोडियो । देशमा अनिकाल देखापर्‍यो, करोडौं मान्छेले (कसैले डेढ करोड भनेका छन् कसैले साढे चार करोड) ज्यान गुमाए ।

सोभियत संघको राष्ट्रियकरण र चीनको ग्रेट लिप फर्वार्ड एक किसिमले पश्चिमा मुलुकहरूको ‘मार्केट म्यानुपुलेसन’ भन्दा कम थिएन । माओका चिकित्सक तथा जीवनी लेखक लि झिसुइका अनुसार सन् १९५९ मै मन्चुरियाको एउटा आधुनिक स्टिल प्लान्ट अवलोकनपछि माओलाई गाउँगाउँमा खडा गरिएका भट्टीहरूले काम गर्दैनन् भन्ने लागेको थियो । तर उनले त्यसलाई रोक्न भनेनन्, अभियानलाई उल्ट्याउन चाहेनन् । भट्टी नचलोस्, जनशक्ति तथा अन्य स्रोत साधन खेर जाओस् उनलाई चिन्ता भएन ।

माओले जनताको उत्साहलाई मार्न चाहेनन् ।

जसरी बजार अर्थव्यवस्थामा गलत विवरण प्रस्तुत गरेर सहभागीलाई झुक्याइन्छ, त्यसैगरी सोभियत सङ्घ र चीनमा पार्टी र प्रशासनका तल्ला निकायले गलत तथ्यांक केन्द्रमा पठाएका थिए । किसान, मजदूर र तीनका परिवारको भोक मेटाउने एक गेडो अन्न नहुँदा पनि केन्द्रमा पर्याप्त उत्पादन भइरहेको छ भन्ने विवरण पठाइएको थियो । बरु बजार व्यवस्था अँगालेका मुलुकले सोभियत संघ र चीनमा जस्तो विनाशकारी घटना बेहोरेका छैनन् ।

यसबाट खुला बजार, स्वतन्त्र विश्लेषक, वासलात, नगद प्रवाह, नाफा–नोक्सान तथा आय विवरणले त्यस्ता प्रकोप रोकथाममा मद्दत गर्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

वित्तीय स्थायित्वको मार्ग पहिलेपहिले पनि साना–ठूला वित्तीय संकट देखापर्दा विकसित मुलुकहरूमा यसको समाधानबारे चर्चा नहुने गरेका होइनन् ।

तर सन् २००८ को विश्वव्यापी वित्तीय संकटले सबै देशका सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सोच्न बाध्य बनायो । सबैतिर वित्तीय स्थायित्वका लागि नीतिगत, संस्थागत तथा व्यवहार गत पुनः अभिमुखीकरणको आवश्यकता महसुस गरियो । ढल्न नहुने प्रणालीगत हिसाबले महत्त्वपूर्ण वित्तीय संस्थाहरू (सिफी) को चर्चा हुन थाल्यो ।

जोखिम पहिचान, संस्थाहरूको वित्तीय सबलीकरणका लागि कडा नियम कानुन बनाइए, संस्थाहरूलाई अनुशासनमा बस्न भनियो ।

तथापि, यी सबै अभ्यासले आर्थिक संकटलाई रोक्छन् भनेर निश्चिन्त हुन सकिँदैन । मानिसका सट्टेबाजी उत्साहलाई पहिचान गर्न सजिलो छैन । बजारका प्रत्येक सहभागी कुन मनसुबा लिएर कारोबारमा सहभागी भइरहेका छन् भनेर पहिल्याउनु कठिन कार्य हो । यसलाई संस्थाहरूको औपचारिक दस्तावेजमा रेकर्ड गर्न सकिँदैन । सूचनाहरूमा विशृङ्खलता थपिँदै जान्छ । एक खालको बारुदको घर क्रमशः बन्दै जान्छ । यसमा नियामकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । तर ती निकायमा पनि अन्तिम निर्णय गर्ने मान्छे नै हुन्छन् । मान्छेले सधैँ वस्तुगत निर्णय गर्छ भन्ने हुँदैन ।

सट्टेबाजी उत्साह र निराशासँगै बाँच्ने कसरी ?

माथिको चर्चाबाट के थाहा हुन्छ भने वित्त बजार विकसित होस् कि नहोस् अथवा समग्र बजार व्यवस्थालाई नै नकारे पनि, बजार मूल्य प्रणालीलाई निलम्बन गरे पनि संकट त आइहाल्छ । त्यसैले बजार मूल्य प्रणाली र सट्टेबाजी उत्साहलाई पन्छाएर बढ्न असम्भव छ ।

श्रम, भूमि, पुँजी, वस्तुलगायत सबै किसिमका बजार मूल्यहरूको प्रतिनिधित्व सेयर बजारमा सूचीकृत कम्पनीहरूको मूल्य र बजार सूचकांकले गर्छ भन्ने मान्ने हो भने नोबेल अर्थशास्त्री पल स्यामुअल्सनको भनाइ सान्दर्भिक हुन्छ । उनले भनेका थिए, ‘स्टक प्राइसेस आर माइक्रो इफिसिएन्ट एन्ड म्याक्रो इनएफिसिएन्ट ।’

यसलाई अर्को शब्दमा कुनै एकल वस्तु वा सम्पत्तिको मूल्य निर्धारणमा बजार दक्ष हुनसक्छ तर समग्र बजारको मूल्य निर्धारण भने पूर्ण हुँदैन भन्न सकिन्छ । बजारको मूल्य निर्धारण विधि पूर्ण नभए पनि यसको भरपर्दो अर्को विकल्प छैन भन्ने कुरा हामीले सोभियत संघ र चीनको भयावह घटनाबाट बुझ्न सक्छौं ।

त्यसैले बजारको मूल्य उतारचढावसँग बाँच्ने कलाको विकास आवश्यक देखिन्छ । किनभने बजार मूल्य उतारचढावमा सट्टेबाजी उत्साह र निराशाले महत्त्वपूर्ण भूमिका खेल्छ ।

बजार कति दक्ष हुन्छ भन्ने बारेमा अर्का अर्थशास्त्री फिसर ब्ल्याकको भनाइ सान्दर्भिक हुन्छ । खासमा उनको यो भनाइ पनि स्टक मार्केटकै सन्दर्भमा थियो । उनले भनेका थिए, ‘कुनै पनि कम्पनीको सेयरको बजार मूल्य धेरैजसो समयमा वास्तविक मूल्य (अन्तर्निहित मूल्य)को न्यूनतम आधादेखि अधिकतम दोब्बरसम्मको सीमाभित्र हुन्छ भने त्यो बजारलाई दक्ष मान्नुपर्छ ।’ उनले धेरैजसो समय भनेर ९० प्रतिशत समयलाई संकेत गरेका थिए ।

तसर्थ, बजार अपूर्ण भए पनि यसले स्रोत परिचालन गर्ने विषयमा महत्त्वपूर्ण सूचना दिएको हुन्छ । त्यो बजार चाहे वित्तीय सम्पत्तिको होस्, श्रमको होस् वा कुनै वस्तुको । यो सूचनालाई आधार बनाएर सार्वजनिक नीतिहरू बन्नुपर्छ, व्यवहार गरिनुपर्छ ।

र, यसमा ख्याल गर्नुपर्ने कुरा मान्छेका उत्साह र निराशाले बजारलाई चलायमान बनाउँछ भन्ने हो । कुनै वस्तुगत कारण नै चाहिन्छ भन्ने होइन । त्यस किसिमका उत्साह र निराशाले महामारीको रूप नलिओस् भन्नेतर्फ सदा सचेत रहनुपर्छ ।

(नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रवक्ता पराजुलीको यो लेख नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक विशेषांकबाट साभार गरिएको हो ।)


क्लिकमान्डु