गुरुप्रसाद न्यौपानेले इन्साइडर ट्रेडिङमार्फत सम्पत्ति शुद्धीकरण गरेको पुष्टि: १ वर्ष कैद र ४ करोड जरिवाना
काठमाडौं । विशेष अदालतले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सेयरको भित्री कारोबार गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै एक वर्ष कैद र ३ करोड ९८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज आइतबार न्यौपानेलाई १ वर्ष कैदसहित ३ करोड ९८ लाख रुपैयाँ जरिवाना सुनाएको हो ।
सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै न्यौपानेलाई विशेष अदालतले २०८० चैत ७ गते दोषी ठहर गरेको थियो । उक्त सजायको दोषी आज सार्वजिनक गरेको छ ।
कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै गत कात्तिक २ गते मुद्दा दायर गरेको थियो ।
न्यौपानेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ विपरीत कार्य गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो । सेयरको भित्री कारोबारसम्बन्धमा विभागले दायर गरेको यो पहिलो मुद्दा हो।
न्यौपानेले १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ जानीजानी प्राप्ति गरेको भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा तोकिएको निषेधित कार्य गरेको पाएपछि उल्लिखित रकम बराबर बिगो कायम गरी ऐनको दफा ३० को उपदफा १ बमोजिम बिगोको दोब्बर जरिवाना, कसुरको मात्रा अनुसार कैद सजायको माग सुद्धीकरणले गरेको थियो ।
न्यौपाने २०७७ चैत १९ देखि २४ साउन २०७८ सम्म रिडी पावर कम्पनीका अध्यक्ष थिए । न्यौपाने अध्यक्ष भएको समयमा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म रिडी पावरको १४ पटकमा ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद र १२ पटक २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर बिक्री गरेका थिए ।
उनी अध्यक्ष भएका बेला २०७८ जेठ ४ गते रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निणर्य गरेका थिए । उक्त निर्णय जेठ ४ गते भएको भए पनि २०७७ चैत १९ गते, २२ गते, २३ गते, २४ गते, २०७८ वैशाख १४ गते १५ गते ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद गरेका थिए । यस्तै न्यौपानेले २०७८ असार २ गते, ३ गते र साउन २४ गते २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर खरिद गरेका थिए ।
न्यौपानेले भित्री कारोबार गरेको भन्दै २०७९ चैत ८ गते धितोपत्र बोर्डले काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको छ । न्यौपानेले भित्री कारोबार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले मुद्दा दायर गरेको हो । मुद्दामा ३ करोड २३ लाख ९७ हजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार न्यौपानेले गरेको देखिएको मुद्दामा उल्लेख गरेको छ ।
धितोपत्र ऐन २०६३ को दफा ९१ मा धितोपत्रको भित्री कारोबारसम्बन्धी कसुर तथा दण्डसजाय व्यवस्थामा ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाए वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरूलाई दिए त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भन्ने उल्लेख छ ।