सेयर बजार २००० बिन्दु वरिपरि घुमेको वर्ष

बिसं २०८० लाई फर्केर हेर्दा



काठमाडौं । २०८० साल सेयर बजारका लागि धेरै उल्लेख्य सुधारको वर्ष भने देखिएन । यो वर्ष बजार ९४.०२ अंकले मात्रै बढ्यो । २०८० सालको वैशाख ३ गते पहिलो कारोबार १९३१.६८ बाट सुरु भएको बजार चैत २८ गते २०२५.७० बिन्दुमा बन्द भयो ।

यो वर्ष बजार १८ बिन्दुबाट तल पनि झरेन भने २२ सयको बिन्दु पनि पार गरे । वर्षभरी भएका २३० कारोबार दिनमा बजार अधिकांश दिन १८ सय र २ हजार बिन्दु वरिपरि घुमि नै रहे । केही समय बजार १९ सय त केही समय २१ सयको बिन्दुमा पनि रहे ।

यो वर्ष १८ सयदेखि २२ सय अर्थात २ सय बिन्दुबीचमा घुमेको बजारमा धेरै खेलोफडको भने १९ सय र २ हजारको बिन्दुमा बढी भएको देखिन्छ ।

२०८० साल वैशाख ३ गते सेयर बजार १९३१.६८ बिन्दुमा रहेको थियो । यो वर्ष बजारको अधिकतम बिन्दु २२२७.१६ बिन्दु रह्यो भने सबैभन्दा कम १८१८.३१ बिन्दुमा रह्यो ।

वर्षको पहिलो कारोबारमा नेप्से परिसूचक १९३१.६८ रहेको भएपनि त्यसको एक सातामा नै बजार १९ सय बिन्दुबाट घटेर वैशाख १० गते १८८५.६० बिन्दु कायम रह्यो । त्यसको करिब १ महिनासम्म बजार १८ सयको सेरोफेरोमा नै घुमिरह्यो ।

जेठ २ गते भने बजार यो वर्षकै न्यून बिन्दु अर्थात १८१८.३१ बिन्दुमा पुगेको थियो । त्यसको लगत्तै बजारमा एकाएक सुधार देखियो । अर्थात एक महिनाको अवधिमा बजार २०२ अंकले बढेर २०२० बिन्दुमा पुग्यो । बजेट घोषणा भइसकेपछि अर्थात जेठ ३० गते बजार २०२०.६४ बिन्दुमा पुग्यो । कुनै नयाँ नीतिगत सुधार नभए पनि बजेटपछि बजार क्रमैसँग बढ्दै गयो ।

क्रमैसँग बढेको बजार असार १० सम्म पुग्दा २११७.७३ बिन्दुमा पुग्यो । त्यो क्रम अझै रोकिएन । साउन ७ गतेसम्म पुग्दा बजार २२२७.१६ बिन्दुमा पुग्यो । बजार २२ सय बिन्दुमा भने धेरै टिकेन । यो वर्ष बजार २२ सय बिन्दुमा २ कार्यदिन मात्रै रह्यो । साउन ७ गते २२२७.१६ बिन्दुमा रहेको बजार साउन ८ गते बजार घटेर २६ अंकले घटेर २२ सय बिन्दुमा रह्यो । त्यसपछि भने बजार गिरावट आयो । बजारमा एक साताको अवधिमा १५० अंकको गिरावट आएर २०७७.५८ बिन्दुमा झर्यो ।

यसपछि घटेको बजार कात्तिकमा आइपुग्दा १८७५.६५ बिन्दुमा झर्यो । मंसिर तेस्रो सातासम्म १९ सय बिन्दु भन्दा तल रहेको बजार त्यसपछि भने केही सुधार देखियो । त्यसयता बजारले १८ सय बिन्दुमा हिडन परेन । मंसिर २४ सम्म पुग्दा बजार १९६३.९८ बिन्दुमा पुग्यो । लगत्तै पुस १ सम्म पुग्दा बजार २०२२.३५ बिन्दुमा रहेको थियो । सामान्य उतार चढाबकाबिच बजार २०२५.३० बिन्दुमा पुग्यो ।

यो बजारमा ४ सय अंकको उतार उढाव हुँदा राजनीतिक उतार चढाब, मन्त्री परिवर्तनको प्रभाव पनि देखियो नै । २०७९ चैत १७ गते देशले नयाँ अर्थमन्त्री (काँग्रेसका डा. प्रकाशशरण महत) पाइसकेको थियो । २०८० सालमा पनि नयाँ अर्थमन्त्री बर्षमान पुन बने । फागुन २१ गते १२ वर्षपछि बर्षमान पुन अर्थमन्त्रालयमा फर्किए ।

फागुन २० गते बजार १९६०.३० बिन्दुमा रहेको बजारले नयाँ मन्त्री पुनलाई राम्रैसँग स्वागत गरेझैं गर्यो । बजारमा एकाएक हरियाली देखियो । बजार ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुग्यो । तर त्यो खुसी धेरै समय टिक्न पाएन । त्यसको भोलिपल्ट नै बजारमा ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा रोकियो । त्यसपछि भने बजारमा सामान्य सुधार देखियो । पुन आएपछि बजार बढेर त्यसको एक सातापछि २१११.२१ बिन्दुमा पुग्यो । त्यसपछि घटेको बजार २ हजारको सेरोफेरोमा घुमिरहेको छ ।

यो वर्ष सेयर बजारका लागि निकै ‘हटकेक’ दोस्रो स्टक एक्सचेञ्ज रह्यो । नयाँ स्टकको विषयमा निकै चर्चा भयो । निकै उतार चढाबका, अदातली उजुर बाजुरकाबिच वैशाख १० गतेसम्ममा तीन वटा कम्पनीले नयाँ स्टक चलाउँछौ भनेर आवेदन दिए ।
नयाँ स्टक एक्सचेन्जका लागि तीन वटा घरानाले आवेदन दिए । हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिए ।

हिमालयनमा दीपक भट्ट, शंकर ग्रुप, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा, निवर्तमान अध्यक्ष शेखर गोल्छा, राजेन्द्र खेतान, सौरभ ज्योतिलगायतको लगानी छ ।

नेसनल स्टकमा सिद्धार्थ ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, अग्नि ग्रुपलगायतको मुख्य लगानी छ । नेसनलमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, बद्री केसी र कुल आचार्यको पनि लगानी छ । नेसनल स्टकको प्रस्तावित सञ्चालकमा दीपक तिमिल्सिना, महेशकुमार श्रेष्ठ, ऋषि अग्रवाल, अंकित केडिया र स्वतन्त्र सञ्चालकमा रामजी रेग्मी छन् ।

अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी रहेको छ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि बाटो खोलेपछि व्यावसायिक घरानाको आवेदन परेको हो । नयाँ स्टकमा आर्थिक चलखेल भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकबाट वैशाख २८ गते थप अध्ययन गर्नुपर्ने भन्दै नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिए । त्यसपछि रोकिएको नयाँ स्टकको प्रकृया अहिलेसम्म रोकिएको छ ।

नयाँ स्टकको विषय प्रधानमन्त्रीले मात्रै नभएर २०८० जेठ २९ गते अर्थ समितिले पनि रोक्यो । धितोपत्र बोर्डले कात्तिक १६ गते समितिलाई पत्र लेख्दै नयाँ स्टकको लाइसेन्समा सहजीकरण गर्न अपिल गर्यो । बोर्डले समितिलाई कात्तिक १६ गते पत्र लेखेपछि कात्तिक २४ गते साँझ बसेको अर्थ समितिको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दियो ।

समितिले उक्त निर्देशन दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नोट अफ डिसेन्ट लेखे । उनी नयाँ स्टकका सन्दर्भमा पुराना समितिले गरेको अध्ययनको भारी बोक्न नहुने र यही समितिले अध्ययन गरेरमात्रै थप प्रक्रिया अघि बढाउनुपर्ने तर्कमा अडिग रहे ।

स्टक ल्याउने विषय निकै संवेदनशील भएको र यसमा प्रिपेड करप्सन भएकाले तत्काल प्रक्रिया अघि बढाउन नहुने उनको दाबी थियो । नयाँ स्टक चाहिन्छ कि चाहिँदैन भनेर सबै पक्ष बसेर तिहारपछि अध्ययन गर्न उनले प्रस्ताव गरेका थिए । तर त्यसो हुन सकेन ।

पुस ६ गते नेपाल धितोपत्र बोर्डले पहिल्यै अध्ययन गरिसकेको भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने जवाफ अर्थ मन्त्रालयलाई पठाउँदै उक्त जानकारी प्रधामन्त्री कार्यालयलाई गराउन अपिल गरेको थियो । मंसिर अन्तिममा हमालले बोर्ड सञ्चालक समितिको बैठकबाट पारित गरेर अर्थ मन्त्रालयलाई उक्त अपिल गरेका हुन् ।

बोर्डको अघिल्लो बैठकले पनि अर्थ मन्त्रालयलाई नयाँ स्टकको लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै पत्र लेखेकोमा अर्थ मन्त्रालयले थप स्पष्ट बनाउन भन्दै मन्त्रिपरिषद्‍मा नलगी धितोपत्र बोर्डमा नै फिर्ता पठाएको थियो । नयाँ स्टकको लाइसेन्सका लागि अध्ययन गर्न आवश्यक छ कि छैन भनेरसमेत अर्थ मन्त्रालयले बोर्डसँग स्पष्ट पार्न पनि आग्रह गरेको थियो।

अर्थ मन्त्रालय नभई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएकोले सोही अनुसारको पत्र पठाउन पनि अर्थ मन्त्रालयले बोर्डलाई पत्र फिर्ता पठाएको थियो । जसकारण धितोपत्र बोर्डले २०७९ असोज २ गते ४५ दिनको म्याद राखेर नयाँ स्टकको लाइसेन्सका लागि माग गरेको आवेदनले पुर्णता यो वर्ष पनि पाउन सकेन ।

सर्वोच्च अदलातमा मुद्दा परेपछि यो प्रकृयामा अवरोध भयो । पुस २४ गते बोर्ड अध्यक्ष हमालको कार्यकाल सकियो । देशले नयाँ स्टक पाउने हो वा होइन भन्ने यकिन हुन सकेन । यो बिचमा हाल रहेको नेप्सेलाई नै निजीकरण गर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउने विषयमा पटक पटक अध्ययन भयो । त्यो अध्ययन प्रतिवेदनमा अर्थमन्त्री प्रकाशशरण महत हुँदा धेरै पटक छलफल पनि भयो ।

सरकारका मन्त्री परिवर्तन भएसँगै त्यस विषयमा थप छलफल प्रभावकारी रुपमा हुन सकेको छैन । भएको स्टकलाई पुनसंरचना गर्ने विषयमा अर्थमन्त्रालयबाट नेप्सेमा अध्यक्षता गर्न आउने कर्मचारी नै बाधक बन्ने, नेप्सेबाट मन्त्रालयमा पुगेका फाइल माथिल्लो तहमा नपुर्याउने जस्ता समस्या देखिएको चर्चा पनि निकै नै भयो ।

यो वर्ष नयाँ स्टकको चर्चा बढी नै भएपछि नयाँ स्टक आवश्यक हो वा होइन भनेर माघ ३ गते सरकारले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा वर्तमान सञ्चालक चिन्तामणी शिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । त्यो समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन ।


सोभित थपलिया