बैंकर/व्यवसायी छुट्याउने विधेयकबारे के भन्छन् बैंकर केसी र श्रेष्ठ ?



काठमाडौं । प्रतिनिधिसभामा प्रस्तुत गरिएको बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (बाफिया)को संशोधन विधेयकप्रति बैंकरहरुले चाँडै प्रतिक्रिया दिने भएका छन् ।

प्रस्तावित बाफिया र बैंकिङ कसुर ऐन संशोधनको विषयमा नेपाल बैंकर्स संघले जस्तो व्यवस्थाले बैंक र बैंकिङ जगतलाई राम्रो हुन्छ सोहीअनुसारको पक्ष लिने बताएका हो ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका संघका अध्यक्ष सुनिल केसी भन्छन्, ‘केही दिनमा नै बाफिया र बैंकिङ कसुर ऐन संशोधनको विषयलाई कसरी टिप्पणी गर्ने ? सम्बन्धित निकायसँग कसरी छलफल गर्ने ? भन्ने तय हुनेछ ।’ उनका अनुसार यो विधेयकले बैंकिङको स्थायित्व, सबल र दिगोपन कायम कसरी गर्न सकिन्छ भन्ने पक्षमा रहेर बैंकरहरुले टिप्पणी गर्नेछन् । ‘जे गर्दा बैंकलाई राम्रो हुन्छ, सोहीअनुसार आधिकारिक प्रतिक्रिया दिनेछौं,’ उनले भने ।

बाफिया र बैंकिङ कसुर ऐन रणनीतिक र नीतिगत स्तरको विषय रहेकाले टिप्पणी गर्नुभन्दा पनि कमिटी नै बनाएर अध्ययन गरिरहेको केसीले बताए ।

संघ आफैंले र सम्बन्धित विषयका जानकारसँग छलफल गरेर तथा हरेक बैंकबाट औपचारिक राय माग गरेर विश्लेषण गरिरहेको छ ।

‘हाम्रो लागि पनि महत्वपूर्ण कुरा के हो भने व्यवस्थापन पक्ष वा नेपाल बैंकर्स एसोसिएसन जे भनौं, बैंकिङ क्षेत्रको स्थायित्व ज्यादै महत्वपूर्ण विषय हो,’ उनले भने ।

अर्का बैंकर किरण श्रेष्ठले बैंकर/कर्मचारी वा साहुजी भन्नुभन्दा पनि बैंकिङ प्रणाली रोबस्ट बनाउन कस्ता किसिमका व्यक्तिसँग वा कतिसम्म स्वामित्व भएको व्यक्ति हुनुपर्ने विषय स्पष्ट हुनुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका श्रेष्ठले भने, ‘यो पक्ष र त्यो पक्ष भन्दा पनि बैंक राम्रो हुनुपर्छ । अहिले बैंकहरुसँग सुझाव माग गरिएको छ । विज्ञसँग छलफल गरिरहेका छौं, अन्तर्राष्ट्रिय अभ्यास के छ ? बैंकर र व्यवसायीबारे के व्यवस्था छ ? भन्ने अध्ययन गरिरहेका छौं ।’

बैंकर र व्यवसायी छुट्याउने भन्ने विषय संवेदनशील र लामो समय चलेको छलफल हो भन्दै श्रेष्ठले बाँकी प्रतिक्रिया एक साता पछिमात्र भन्न सकिने बताए । राष्ट्रिय वाणिज्य बैंकमा श्रेष्ठको कार्यकाल एकसातामा सकिँदैछ ।

‘सैद्धान्तिक रुपमा के बुझ्न जरुरी छ भने बाफिया संशोधन केही विषयमा आवश्यकता महसुस गरेर प्रस्ताव गरिएको छ । केही ठाउँमा संशोधन नगरी नहुने थियो, त्यो मिलाउने प्रयास गरिएको छ,’ श्रेष्ठले थपे, ‘अहिलेको अभ्यास ठीक छ वा प्रस्तावित विषय ठीक छ भन्ने कुरामा निक्र्योल यथासक्य चाँडो गरिनुपर्ने गम्भीर विषय हो ।’


क्लिकमान्डु