महँगी दर घट्यो, कति पुग्यो ?



काठमाडौं । अघिल्लो बर्षको फागुनको तुलनामा चालु आर्थिक बर्षको फागुन महिनामा मुद्रास्फीति (महँगी) दर घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक बर्षको फागुन महिनाको तुलनामा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा मुद्रास्फीति दर घटेको हो ।

अघिल्लो बर्षको आठ महिनाको तुलनामा मुद्रास्फीति दर झरेर चालु आर्थिक बर्षमा ४.८२ प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको फागुन मसान्तसम्म यसको दर दर ७.४४ प्रतिशतमा पुगेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।

समीक्षा अवधीमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ ।

घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार समीक्षा महिनामा गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ ।

यस्तै यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ ।

२०८० फागुन महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको पाइएको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु