सीजीको होटल चितवनले ७ महिनामा गर्‍‍यो सवा ६ करोडको व्यापार



काठमाडौं । चौधरी ग्रुपको होटल चितवन प्रालिले सन् २०२४ को ७ महिनाको अवधिमा ६ करोड १२ लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा १२ करोड ८४ लाख रुपैयाँ, सन् २०२२ मा ११ करोड ४३ लाख रुपैयाँ, सन् २०२१ मा ९ करोड ७७ लाख रुपैयाँ र सन् २०२० मा ७ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले व्यवसायिक कम्प्लेक्ससँगै तीनतारे होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले होटलमा ४८ वटा कोठाको सुविधा दिँदै आएको छ । त्यस्तै कम्पनीले १ लाख ८० हजार स्क्वायरफिट क्षेत्रफलमा ७० वटा रिटेल स्टोरको मल्टिप्लेक्सको सुविधा दिँदै आएको छ ।

कम्पनीले भारतको द इन्डियन होटल कम्पनी लिमिटेडसँग सम्झौता गरेर नेपालमा फ्रेन्चाइज भित्र्याएको हो । होटल चितवनले सम्झौता गरेको फर्न रेसिडेन्सी ब्राण्डलाई बन्द गरेर भिभान्ता होटल सञ्चालन गर्दै आएको छ । साथै कम्पनीले मल भने सीजी ल्यान्डमार्क ब्राण्डमा सञ्चालन गर्दै आएको छ ।

निर्वाण चौधरीको ५३.३ प्रतिशत, सारिका चौधरीको ६.५ प्रतिशत र एमएस एप्पालो क्यापिटल इन्भेष्टमेन्टको ४०.२ प्रतिशत हिस्सा रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब २६ करोड २९ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु