सम्पत्ति शुद्धिकरण र ग्राहक संरक्षणको काम छुट्टाछुट्टै महाशाखाले गर्ने, गभर्नर झन् शक्तिशाली



काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण र वित्तीय समावेशिता तथा ग्राहक संरक्षणसम्बन्धी काम नेपाल राष्ट्र बैंकको छुट्टाछट्टै महाशाखाले हेर्ने भएका छन् । केन्द्रीय बैंकले निरीक्षण तथा सुपरिवेक्षण विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

दुइ फरक कामको फरक निरीक्षण तथा सुपरिवेक्षण गर्ने गरी राष्ट्र बैंकको सम्पत्ति शुद्धिकरण निवारण महाशाखा टुक्र्याइएको हो ।

संशोधित विनियमावलीले ‘महाशाखा’को परिकल्पना गरेको छ । मशाखा भन्नाले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा बुझिनेछ ।

वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ । जसअनुसाार वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधिनमा रही महाशाखाले काम गर्नेछ । महाशाखाले छुट्टै कार्यविधि (म्यानुअल), टुलकिट बनाई लागू गर्न सक्नेछ भने प्रुडेन्सियल सुपरभिजनसँग जोडिएका विषयमा सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गर्नेछ ।

महाशाखाले पनि विभाग झैं काम गर्नेछन् । संशोधित व्यवस्थाअनुसार दुवै महाशाखाले तयार गरेको स्थलगत, विशेष र गैर–स्थलगत सुपरिवेक्षण इकाइले तयार गरेको बार्षिक प्रतिवेदन प्रतिवेदन गभर्नरले स्वीकृत गर्नेछन् ।

विनियमावली संशोधन गर्दै केन्द्रीय बैंकका गभर्नरलाई थप शक्तिशाली बनाइएको छ । विनियमावली कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु