वैशाख ३ गते हुँदैछ नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा ‘ब्रेक थ्रु’, सवारीसाधन गुड्न कति समय लाग्छ ?



काठमाडौं । सरकारले आगामी वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने भएको छ ।

यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ । यहि २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङ्गमार्गको पूर्वनागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोड्ने कार्यतालिका तयार पारिएको छ ।

चैत ५ गतेदेखि पुनः निर्माण कार्य सुरु भएपछि सुरुङ्ग खन्न बाँकी रहेको १४ मिटरमध्ये सोमबारसम्म ११ मिटर सुरुङ्ग खन्ने काम सम्पन्न भएको छ । यस्तै मंगलबार थप १ मिटर खन्ने काम सम्पन्न हुँदैछ ।

यसरी मंगलबारसम्ममा १४ मिटरमध्ये १२ मिटर सम्पन्न गरि २ मिटर दूरीको क्षेत्र सुरक्षित रुपमा राखेर बैशाख ३ गते अन्तिम ब्रेक थु्र गर्ने तयारी भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

त्रिभुवन राजमार्गको धादिङ्गको सिस्ने खोलादेखि सुरु भएको उक्त सुरुङ्गमार्ग काठमाडौंको चन्द्रागिरी वडा नम्बर २ को किसिपिडिसम्म अवस्थित छ ।

‘सुरुङ खन्ने काम मंगलबारसम्म मात्रै हुन्छ, २ मिटर दूरी भएको क्षेत्र बाँकी रहँदा उक्त दूरी सुरक्षित राखेर पूर्व र पश्चिमबाट खनिदैं आएको अन्तिम मिलन विन्दुमा ब्लास्टिङ्ग प्रविधिमार्फत निर्धारित कार्यतालिकाअनुसार ब्रेक थ्रु गर्ने तयारी भएको छ,’ कोइरालाले क्लिकमान्डुसँग भने ।

अब निर्धारित समयमै पूर्व र पश्चिमबाट खनिँदै आएको अन्तिम मिलन विन्दुमा ब्लाष्टिङ्ग गरेर अन्तिम पटकको ब्रेक थ्रु हुनेछ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाका अनुसार खन्न २ मिटर मात्रै बाँकी रहेपछि ब्रेक थ्रु गरिनेछ । २ हजार ५ सय ५७ मिटर दूरी भएको आपतकालीन सुरुङ्गको ‘ब्रेक थ्रु’ भने गत साउन २२ गते सम्पन्न भइसकेको छ ।

‘मंगलबार थप एक मिटर सुरुङ्ग खनिएपछि प्राविधिकरुपमा सबै परिवेशले सहयोग गरेमा आगामी बैशाख ३ गते यो मार्गमा अन्तिम छेड्ने काम (बे्रक थ्रु) सम्पन्न गर्ने कार्यतालिका निर्धारण भएको छ,’ कोइरालाले भने ।

उनका अनुसार निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनका आयोजना प्रमुख केनइची इनोई अहिले जापानमा रहेकाले उनी नेपाल फर्केपछि मात्रै निर्धारित कार्यतालिकाअनुसार सुरुङ छेड्ने कार्यक्रम हुनेछ ।

ब्रेक थु्रका लागि समय भने अहिले निर्धारण गरिएको छैन् । स्रोतका अनुसार ठेक्केदार कम्पनीका प्रमुख इनोई नेपाल फर्केपछि बाहुन पण्डितबाट सुभ साइत निकालेर सोही समयमा पूजाआजा गरेर ब्रेक थ्रु गर्ने तयारी भएको छ ।

यसअघि फागुन २२ गतेभित्र खन्न बाँकी रहेको १४ मिटर खनेर २३ गते ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर स्थानीयबासीको आन्दोलनका कारण फागुन २३ गते अन्तिम ‘ब्रेक थ्रु’ रोकिएको थियो । आन्दोलनका कारण गत् फागुन ६ गतेदेखि चैत ५ गतेसम्म गरी एक महिना पूर्णरुपमा काम ठप्प भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको नेतृत्वमा चैत ५ गते मन्त्रालयमा आन्दोलनकारीसँग ९ बुंदे सहमति भएपछि एक महिनापछि पुनः उक्त सुरुङ्गमार्गको निर्माण कार्य सुरु भएको हो ।

फागुन ६ गतेसम्ममा कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ्ग मार्गमध्ये २ हजार ६ सय ७४ मिटर खन्ने काम सम्पन्न भएको थियो ।

पुनः काम सुरु भएपछि सोमबारसम्म नागढुङ्गातर्फबाट १ हजार १ सय २.८ मिटर सुरुङ्ग खन्ने काम सम्पन्न भएको थियो । यस्तै सिस्नेखोलातर्फबाट १ हजार ५ सय ८२.२ मिटर खन्ने काम सम्पन्न भएको छ ।

नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका प्रमुख नविनमान श्रेष्ठका अनुसार यो आयोजनाले भौतिकतर्फ ७२ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

‘अहिले हामी सुरुङ्गमार्ग खन्नेमा मात्रै बढि ध्यान दिएका छौं, यो बाहेक अन्य प्रकारका भौतिक निर्माणका काम धेरै बाँकी छ,’ उनले भने,‘सुरुङ्गमार्ग छेड्ने काम सम्पन्न भएपछि अन्य प्रकार भौतिक पूर्वाधारका काम गर्नुपर्ने भएकाले वित्तीय प्रगति केही कम देखिएको हो ।’

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको यो आयोजना सम्झौता भएको मितिदेखि ४२ महिनामा (२०२३ अप्रिल २५) मा सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो ।

सडक विभाग र कम्पनीबीच सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्का सम्झौता भएको थियो ।

तर कोभिडकाल, स्थानीयबासिन्दाको पटक पटकको अवरोध, गत वर्ष अस्थायीरूपमा भएको क्रसर उद्योग बन्द, भौगोलिक जटिलता लगायतका समस्याले निर्माण अवधी १ बर्ष लम्बिएको हो ।

२ हजार ६ सय ८८ मिटर लम्बाई भएको यो सुरुङ्गमार्ग ३.५ मिटर चौडाई भएको दुई लेनको निर्माण भइरहेको छ ।

सुरुङ्ग खन्ने क्रममा स्थानीय बासिन्दाको घरहरु चर्किएका छन् भने स्टोटलमाथि खाल्डो सिंक होलसमेत भएको छ । सुरुङ्गमार्ग खन्ने क्रममा स्थानीय बासिन्दाको घर चर्केकाले प्रभावित भएका घर, कृषियोग्य जग्गा, पानीको श्रोत सुकेको र सिंचाई सुविधासमेत बन्द हुँदा स्थानीयबासीको कृषि कर्म पनि रोकिएको छ ।

हालसम्म ९३ वटा घर चर्केको अवस्थामा भेटिएका छन् । थप केही संख्यामा पनि घरहरु चर्केका छन् ।

यस्ता बिषयमा अहिले परामर्शदाताको सहयोगमा जिओ टेक्नीकल्ली स्टडीसमेत सुरु भइसकेको बताउँदै आयोजनाका उपनिर्देशक दुमरुले भने,‘यो अध्ययन सकेपछि कुन क्षेत्रमा के कस्तो आर्थिक प्रभाव परेको छ भनेर यकिन जानकारी प्राप्त हुन्छ, अहिले नै यसै के कस्तो प्रभाव पारेको छ भनेर भन्न सक्ने अवस्था छैन् ।’

यो अध्ययनको प्रतिवेदन आउन अझै ४० दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुङ्गमार्ग खनिएको स्थान वरिपरी घर बनाएर बस्न लायक छ वा छैन भनेर पनि अध्ययन भइरहेको छ ।

सवारी साधन गुडाउन अझै डेढ बर्ष लाग्छ

सुरुङ्गमार्ग छेड्ने काम सम्पन्न भएपनि भेन्टिलेसन, लाइटिङ्ग, सेफ्टीका बिषयमा पूर्वाधार निर्माणलगायतका कामहरु पछि हुने भएकाले सम्पूर्णरुपमा यो मार्ग सम्पन्न हुन भने अझै १ बर्ष ६ महिना लाग्छ ।

त्यसपछि मात्रै यो सुरुङ्गमार्गमार्फत सवारी साधन ओहोरदोहोर गर्न पाउने सुविधा प्राप्त हुनेछ ।

एक महिनाको अवरुद्धपछि अहिले फ्लाई ओभर, एक्सेस रोड निर्माण तथा कालोपत्रे, लाइनिङ्ग कंक्रिट फिनिसिङ्गको काम तिव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । एउटा रहेको फ्लाई ओभरको काम पनि आगामी ५ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो फ्लाईओभरबाट सुरुङ्गमार्गसम्म पुग्ने २.३० किलोमिटर दूरीको दुई लेनको सडकमा ग्राभेल र कालोपत्रे गर्ने काम पनि सँगसँगै भइरहेको छ ।

यसैगरी वर्किङ्ग अडिट, क्रस प्यासेजको काम सत्प्रतिशत सम्पन्न भइसकेको छ । यस्तै लक्ष्यअनुसार ३ वटा अन्डरपास, ४ वटा वक्स कल्भर्ट (माथि गाडी गुड्ने र तल पानी बग्ने संरचना), १ ओभरपास, ३ पुलको निर्माण सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत १२ योजनामध्ये अहिलेसम्म ११ वटा संरचना तयार भएको छ ।

सुरुङ्गमार्ग ब्रेक थु्र भइसकेपछि सुरुङ्गभित्रको सडक ढलान पनि गर्न पर्नेछ । त्यस्तै सुरुङ्गमार्गभित्र अक्सिजनको मात्रा मिलाउने उपकरण जडान, रेस्क्यु सेन्टर निर्माण, कन्ट्रोल सिस्टम जडान, टेलिफोन जडान, लाइट जडान, तापक्रम मिलाउने उपकरण जडानलगायतका दर्जनौं प्राविधिक काम गर्न बाँकी छ ।

श्रेष्ठका अनुसार यस्ता सम्पुर्ण निर्माण कार्य सम्पन्न भएपछि बल्ल सुरुङ्गलाई सञ्चालन योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय लाग्छ ।

सम्पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेपछि १ बर्षसम्म हुने मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी ठेक्केदार कम्पनीले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

ब्याजसहित क्षतिपूर्ति माग

स्थानीयबासिन्दाको अवरोधका कारण कार्यतालिका अनुसार काम गर्न नपाएको भन्दै ठेक्केदार कम्पनीले ब्याजसहित क्षतिपूर्ति माग गरेको छ ।

स्रोतका अनुसार स्थानीयबासिन्दाले फागुन ६ गतेदेखि चैत ५ गतेसम्म गरी १ महिना काम अवरुद्ध पारेका थिए ।

यसले गर्दा ठेक्केदार कम्पनीलाई दैनिक १ करोड रुपैयाँका दरले ३० करोड रुपैयाँबराबरको नोक्सानी भएको भन्दै ३ प्रतिशत व्याजसहित ३० करोड ९० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको छ ।

यसबाहेक ठेक्केदार कम्पनीले सम्झौताबाहेक खानेपानी, सिंचाईलगायतका थप काम गरेकाले त्यसबापतको पनि थप भुक्तानी गर्नुपर्ने घुमाउरो रुपमा पत्र पठाएको स्रोतले जनाएको छ ।

स्थानीयबासिन्दाको ३ माँग मन्त्रालयलाई सिफारिश

अवरुद्ध भएको यो आयोजनालाई पुनः सुचारु गर्न चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आन्दोलनकारीसँग ९ बुंदे सहमति गरेको थियो ।

यो नौं बुंदे सहमति मन्त्रालय र अन्तर मन्त्रालयसँग सम्बन्धित भएकाले अन्तर मन्त्रालय समन्वयको आधारमा कार्यान्वयनमा ल्याउने भनेर सहमति गरिएको थियो ।

यसबाहेक थप ३ बुंदे माग मन्त्रालयस्तरबाट पूरा गर्न नसक्ने अवस्था आएकाले आयोजनाले सम्बोधनका लागि आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममा समावेश गराइदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सोमबार सिफारिश गरेको छ ।

नागढुङ्गा सुरुङ्गमार्ग प्रभावित क्षेत्र (चन्द्रागिरी २ र १ ) का लागि दीर्घकालिन रुपमा खानेपानी योजना, नागढुङ्गा-भोटेखोल्चा-पिङ्गहाल्ने डाँडा-कान्ले-घट्टेडाँडा–सिम सडक स्तरोन्नति योजना र नागढुङ्गा सुरुङ्गमार्ग प्रभावित क्षेत्रका लागि दीर्घकालिन सिंचाई योजना गरी ३ वटा माग आयोजनाले आगामी बर्षको बजेटमा समावेश गरिदिन मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

यसमध्ये नागढुङ्गा-भोटेखोल्चा–पिङ्गहाल्ने डाँडा-कान्ले-घट्टेडाँडा-सिम सडक स्तरोन्नति योजनामा २४.५ करोड रुपैयाँसहित आयोजनाले मन्त्रालयलाई प्रस्ताव गरेको हो ।

के छ ९ बुँदे सहमतिमा ?

चन्द्रागिरी नगरपालिका २ मा माग भएको खानेपानी बिषयमा थप तेश्रो बोरिङ्ग खन्ने कार्य सम्पन्न भइसकेकाले सहमति भएको मितिदेखि ३० दिनभित्रमा पाइपलाइनलगायतको संरचना निर्माण सम्पन्न गर्ने आन्दोलनकारी र सडक विभागबीच सहमति भएको थियो ।

सुरुङ्गको पूर्वी पोर्टलमा रहेको निर्माण व्यवसायीले प्रयोग गरिरहेको बोरिङ्गबाट निर्माण व्यवसायीसँग समन्वय गरी हाल निर्माण भएको तेश्रो बोरिङ्गसम्म र चन्द्रागिरी १ मा रहेको ट्याँकीमा खानेपानी पाइप जोड्ने सहमति भएको थियो ।

आयोजनाले निर्माण गरेको खानेपानी योजना अन्तर्गत हाल चन्द्रागिरी २ साविक बाँडभन्ज्याङ्ग गाबिस १,२, ३ र ५ र चन्द्रागिरी १ साबिक दहचोक गाबिस ४ मा आयोजनाबाट सञ्चालनमा रहेका खानेपानीको सम्पूर्ण खर्च आयोजनाले व्यहोर्ने र अयोजना सम्पन्न पश्चात दीर्घकालिन रुपमा प्रभावित क्षेत्रका बासिन्दालाई खानेपानी उपलब्ध गराउने व्यवस्थाका लागि आगामी आवको बजेटमा समावेश गर्न सिफारिश गर्ने सहमति भएको थियो ।

सुरुङ्गमाथिको जमिनको उचित सम्बोधनका लागि जमिनको भौगर्भिक अध्ययनको लागि नियुक्ति स्वतन्त्र परामर्शदाताबाट ५० दिनभित्र पूर्ण अध्ययन प्रतिवेदन प्राप्त गरी आगामी बैशाखभित्र सम्बन्धित स्थानीय पीडितसँग छलफलपश्चात् कार्यान्वयनका लागि सरकारलाई सिफारिश गर्ने सहमति भएको थियो ।

परामर्शदाताबाट प्रतिवेदन प्राप्त भएपछि प्रतिवेदनले सिफारिश गरेको आधारमा चर्किएको घरहरुको भवन विभागले सिफारिश गरेको मूल्याँकनको अधामार क्षतिपूर्ति दिन सिफारिश गर्ने, स्थानीयस्तरमा कृषिमा परेको प्रभाव र विस्थापित तथा विस्थापित हुनसक्ने अध्ययनका लागि नियुक्त परामर्शदाताबाट अध्ययन प्रतिवेदनको आधारमा सम्बन्धित निकायमा सिफारिश गर्नेलगायतको द्विपक्षीय सहमति भएको थियो ।


राजेश बर्मा