बजारमा ६ खर्ब ६४ अर्ब नगद, एक जना बराबर २२ हजार रुपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) बढाएको छ । फागुन ३० गतेसम्मको तथ्यअनुसार बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ नगद उपलब्ध छ ।

मनि सप्लाइ (मुद्राप्रदाय) वृृद्धिको वार्षिक लक्ष्य भेट्टाउने केन्द्रीय बैंकले चलनचल्तीमा रहेको कागजी नोट तथा सिक्का बढाएको हो । माघ मसान्तको तुलनामा केन्द्रीय बैंकले १२ अर्ब रुपैयाँ थप नगद पठाएको हो । यो रकम केन्द्रीय बैंकले जारी गरेको नगद तथा सिक्काको कुल हो । केन्द्रीय बैंकको भल्टमा रहेको मुद्रा यसमा गणना हुँदैन ।

असार मसान्तको तुलनामा माघ मसान्तसम्म विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

चलनचल्तीमा रहेको मुद्रा तथा चल्ती निक्षेपको योग संकुचित मुद्राप्रदाय (न्यारो मनि वा एम१) हो । संकुचित मुद्राप्रदायमा बचत निक्षेप, कल निक्षेप, मुद्दती निक्षेप र मार्जिन निक्षेपको योगफल विस्तृत मुद्राप्रदाय (ब्रोड मनि वा एम२) हो । खुद वैदेशिक सम्पत्ति र खुद आन्तरिक सम्पत्तिको योगफलबाट पनि ब्रोड मनि निकालिन्छ ।

मुद्राप्रदाय (मनि सप्लाई) बढाउँदा ब्याजदर वृद्धि, बचत, लगानी तथा उत्पादन विस्तार र थप रोजगारी सिर्जना हुन्छ । केन्द्रीय बैंकले आवश्यकता हेरी मनि सप्लाई घटबढ गर्ने गर्छ ।

चालु आवको बाँकी ५ महिनामा थप साढे ५ प्रतिशत मुद्राप्रदाय बढाउन आवश्यक छ । असार मसान्तसम्म चलनचल्तीमा रहेको कुल मुद्रा ६ खर्ब २५ अर्ब रुपैयाँ थियो । जुन असोज मसान्तसम्म बढाएर ६ खर्ब ५८ अर्ब पुर्‍याइएको थियो भने पुससम्म ६ खब ४७ अर्ब कायम गरिएको थियो ।

कुन महिना कति ?

साउनमसान्तः ६ खर्ब १३ अर्ब रुपैयाँ
भदौमसान्तः ६ खर्ब ०३ अर्ब रुपैयाँ
असोजमसान्तः ६ खर्ब ५८ अर्ब रुपैयाँ
कात्तिकमसान्तः ६ खर्ब ७७ अर्ब रुपैयाँ
मंसिरमसान्तः ६ खर्ब ६० अर्ब रुपैयाँ
पुसमसान्तः ६ खर्ब ४७ अर्ब रुपैयाँ
माघमसान्तः ६ खर्ब ५२ अर्ब रुपैयाँ
फागुनमसान्तः ६ खर्ब ६४ अर्ब रुपैयाँ

पछिल्लो ८ महिनामा चलनचल्तीमा रहेको मुद्रा ३९ अर्ब रुपैयाँले बढाइएको हो ।

बजारमा रहेको कुल नगद तथा सिक्कालाई भाग लगाउँदा एक नेपालीको हिस्सामा २२ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । कुल ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाखलाई ३ करोडले भाग गर्दा एक जनाको साथमा औसतमा २२ हजार १ सय ६२ रूपैयाँ हुन्छ ।

अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५००, १००० रूपैयाँका नोट चलन चल्तीमा छन् । केन्द्रीय बैंकले पुराना, धुजा परेका, च्यातिएका, भिजेका, राजाको फोटो भएका, रंग लागेका नोटहरू राष्ट्र बैंकले बैंक-वित्तीय संस्थामार्फत् बजारबाट खिच्ने गरेको छ भने आवश्यकताअनुसार नयाँ नोट पठाउँछ ।

केन्द्रीय बैंकले दसैंको मुखैमा अर्थात् गत असोज ५५ अर्ब र कात्तिकमा १९ अर्ब रुपैयाँ बराबरको मुद्रा थप गरेको थियो ।


क्लिकमान्डु