साढे ४१ लाख नेपालीको आफ्नै घर, बागमतीका धेरै घरबेटी घर भाडामा लगाएर कोठामा बस्छन्



काठमाडौं । नेपालमा साढे १२ लाख नेपाली भाडाको घरमा बस्दै आएका छन् । उनीहरुको आफ्नै स्वामित्वमा घर नहुँदा भाडाको घरमा बस्दै आएका हुन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनको आधारमा घर र घरको स्वामित्व अवस्थाको विश्लेषण गर्दै सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार तत्कालीन केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८(सन् २००१) को क्रममा संस्थागत रुपमा बसेका नेपालीबाहेकको ६६ लाख ६० हजार ८ सय ४१ परिवारको आवासीय एकाई र स्वामित्वसम्बन्धी लगत संकलन गरेको थियो ।

कार्यालयका उपप्रमुखसमेत रहेका तथ्यांक अधिकारी डा.हेमराज रेग्मीका सर्वेक्षणमा सहभागी गराइएको ६६ लाख ६० हजार ८ सय ४१ जनामध्ये १२.८ प्रतिशतका दरले १२ लाख ५२ हजार २ सय ३८ जना नेपालीले भाडाको घरमा बस्दै आएका छन् । बाँकी ८६ प्रतिशतका दरले ४१ लाख ५६ हजार ३ सय ६५ जना नेपाली आफ्नै स्वामित्वमा रहेको घरमा बस्दै आएका छन् ।

तथ्यांकअनुसार १० वर्षअघिको जनगणना (सन् २०११) को प्रतिवेदनअनुसार तत्कालीन समयमा भाडामा बस्ने नेपालीको संख्या १२.८ प्रतिशत नै रहेको थियो । तथ्यांकले भाडामा बस्ने नेपालीको संख्यामा कुनै सुधार नआएको देखाएको छ ।

पछिल्लो समय भाडामा बस्ने नेपालीको संख्यामा कुनै परिवर्तन नहुँदा सन् २०२१ को जनगणनाले पनि भाडामा बस्ने नेपालीको जनसंख्या १२.८ प्रतिशत नै रहेको औंल्याएको छ ।

सन् २०११ को जनगणनाले तत्कालीन समयमा ८५.३ प्रतिशत नेपालीको आफ्नै स्वामित्वमा घर रहेको र ति नेपाली आफ्नै घरमा बसोबास गरेको औंल्याइएको छ । सन् २०११ को तुलनामा सन् २०२१ सम्म आइपुग्दा ०.७ प्रतिशतको दरले नेपालीको स्वामित्वमा घर संख्या थपिएको छ ।

सन् १९९१ को तथ्यांकलाई हेर्ने हो भने त्यो बेला ९२.६ प्रतिशत नेपालीले आफ्नै स्वामित्वको घरमा बसोबास गर्दै आएका थिए भने ४.७ प्रतिशत नेपाली भाडाको घरमा बस्दै आएका थिए ।

तथ्यांकलाई विश्लेषण गर्ने हो भने सन् १९९१ को तुलनामा सन् २०२१ सम्म आइपुग्दा विभिन्न प्रकारका अवसरहरु सहर केन्द्रित हुँदै गएकाले आम नेपालीहरु अवसरको खोजीमा ग्रामिण क्षेत्रबाट बसाई सरेर सहरमा केन्द्रित हुन थालेका छन् । सहरमा आफ्नै स्वामित्वको घर नहुँदा भाडाको घरमा बसोबास गर्ने क्रम अत्याधिक बढेकाले पछिल्लो समयमा भाडामा बस्नेको नेपालीको संख्या अत्यधिक बढ्दै गएको हो ।

बागमतीका धेरै घरधनी भाडामा बस्छन्, आफ्नै घरमा बसोबास गर्नेमा मधेश पहिलो

प्रादेशिक संरचनाअनुसार आफ्नै घरमा बसोबास गर्ने परिवारमध्ये सबैभन्दा बढी भाग्यमानी मधेशका बासिन्दा छन् । मधेशका अधिकांश बासिन्दा आफ्नै घरमा बस्दै आएको सार्वजनिक भएको तथ्यांकले देखाएको छ ।

कार्यालयको तथ्यांकअनुसार ४१ लाख ५६ हजार ३ सय ६५ जना नेपालीको आफ्नै स्वामित्वमा घर छ । यो संख्यामध्ये ९६.६१ प्रतिशतका दरले मधेश प्रदेशका ४० लाख १५ हजार ४ सय ६४ नेपाली आफ्नै घरमा बसोबास गर्दैआएका छन् ।

आफ्नै घर भएर पनि घरमा बसोबास नगर्ने नेपालीहरुको प्रदेशमा बागमती प्रदेश दरिएको छ । ६९.१८ प्रतिशतका दरले बागमती प्रदेशका २८ लाख ७५ हजार ३ सय ७३ घरधनी मात्रै आफ्नो घरमा बसोबास गर्दैआएका छन् । बागमती प्रदेशका बाँकी ३०.८२ प्रतिशतको संख्यामा रहेका घरधनीहरु भाडाको घरमा बस्दै आएको तथ्यांक छ ।

बागमती प्रदेशका घरधनीले आफ्नो घर भाडामा लगाएर आफू सपरिवार विदेश वा स्वदेशमै अन्य स्थानमा कोठा बहाल गरी बसेको बिषयलाई यो तथ्याँकले बल प्रदान गरेको छ ।

मधेश प्रदेशपछि आफ्नै घरमा बसोबास गर्नेमा दोस्रो नम्बरमा सुदूरपश्चिम प्रदेशका नेपालीहरु परेका छन् । ९४.७७ प्रतिशतका दरले सुदूरपश्चिमका ३९ लाख ३८ हजार ९ सय ८७ जना घरधनी आफ्नै घरमा बसेका छन् ।

यस्तै ९४ प्रतिशतका दरले कर्णालीका ३९ लाख ६ हजार ९ सय ८३ जना आफ्नो घरमा बसोबास गरेका छन् । लुम्बिनीको ९०.८ प्रतिशतका दरले ३७ लाख ७३ हजार ९ सय ७९ जना, कोशीको ८९.६३ प्रतिशतका दरले ३७ लाख २५ हजार ३ सय ४९ जना र गण्डकीको ८०.४९ प्रतिशतका दरले ३३ हजार ४५ हजार ४ सय ५८ जना घरधनी आफ्नो घरमा बसोबास गर्दैआएका छन् ।

नेपालमा चार सदस्यीय परिवारको बर्चस्व

सार्वजनिक भएको तथ्याँक अनुसार परिवारको आकारअनुसार घरपरिवारको बनौट हेर्दा सबैभन्दा बढी घरपरिवार ४ सदस्यीय रहेको पाइएको छ । सन् २००१ मा भएको जनगणनाले तत्कालीन समयमा ५ जना सदस्य भएको घरपरिवारको संख्या १८.२ प्रतिशत रहेकोमा पछिल्लो समय २०२१ मा भएको जनगणनाको क्रममा त्यो प्रतिशत खुम्चेर १६.६ प्रतिशतमा झरेका छ ।

अर्कोतर्फ सन् २००१ मा चार सदस्य भएको परिवारको संख्या १६.६ प्रतिशतबाट वृद्धि भएर २०२१ मा २२.८ प्रतिशतमा उक्लिएको छ । अर्थात पछिल्लो समयमा अधिकाँश परिवारमा अहिले श्रीमान, श्रीमति र दुई छोराछोरी मात्रै हुने क्रम बढेको छ ।

गाउँदेखि सहरसम्म पक्की घरको बर्चस्व

पछिल्लो २० बर्षको अवधीमा नेपालमा पक्की घरको संख्या अत्यधिक संख्यामा बढेको छ भने कच्ची घरको संख्या ह्वात्तै घटेको छ । विस्तारै कच्ची घर पक्की घरमा परिणत हुनुमा धेरै ठुलो योगदान गर्ने हिस्सामा वैदेशिक रोजगारीलाई मान्न सकिन्छ ।

सन् २००१ मा पक्की घरको प्रतिशत ३६.६ प्रतिशत मात्रै थियो । त्यो वेला कच्ची घरको दर ३३.५ प्रतिशत थियो । यस्तै अर्ध पक्की घरको दर २९.२ प्रतिशत थियो । त्यसको ठिक १० बर्ष (सन् २०११) पछि पक्की घरको दर वृद्धि भएर ५८.४ प्रतिशतमा पुगेको थियो भने अर्ध पक्की घरको दर घटेर ३१ प्रतिशतमा पुगेको थियो । त्यस्तै कच्ची घरको दरमा उल्लेख्य परिमाणमा गिरावट आएर ९.५ प्रतिशतमा झरेको थियो ।

पछिल्लो पटक सन् २०२१ मा भएको जनगणनाअनुसार पक्की घरको दर झनै माथि उक्लिएको थियो । सन् २०११ मा ५८.४ प्रतिशत रहेको पक्की घरको दर बढेर पछिल्लो समयमा ७६.५ प्रतिशतको हाराहारीमा पुगेको छ । यस्तै अर्ध पक्की घर ३१ प्रतिशतबाट झनै घटेर १५.८ प्रतिशतमा झरेको छ । उता कच्ची घर ९.५ प्रतिशतमा कमी आएर पछिल्लो समयमा ७.८ प्रतिशतमा पुगेको छ ।

अर्थात सर्वसाधारण नेपालीले आफू बस्न निर्माण गरेको कूल घरमध्ये ७.८ प्रतिशत घर मात्रै कच्ची रहेका छन् । तथ्यांकअनुसार सर्वेक्षणमा सहभागी गराइएको कूल ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये ५० लाख ९२ हजार ३ सय ७५ जना पक्की घरका घरधनी रहेको पाइएको छ । यस्तै १० लाख ४९ हजार ४ सय ५५ जना अर्ध पक्की घरको घरधनी र ५ लाख १७ हजार जना कच्ची घरको घरधनी रहेको पाइएको छ ।


राजेश बर्मा