रुसको राष्ट्रपतिमा पुटिनको पाचौं कार्यकाल: प्रतिद्वन्द्वीविहीन भिडन्तमा जीत



एजेन्सी । भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बन्ने विगतमा नै तय थियो । उनको सामुन्ने तीन उम्मेदवारहरु थिए । तीनै जना क्रेमलिनको तर्फबाट चुनावमा उठेका थिए । तर, पनि यो चुनावको जीत भने पुटिनकै हुने पक्का थियो ।

पुटिनको जीतमा कुल मतदानमध्ये ८७ प्रतिशत मतदान पुटिनको पक्षमा भएको छ । आफूले भारी मतका साथ चुनाव जितेपछि पुटिनले रुसको लोकतन्त्र पश्चिमा देशहरुको लोकतन्त्रभन्दा कैयौं गुणा बलियो रहेको बताए । तर, सत्य के हो भने यो चुनावमा एउटा यस्तो पनि उम्मेदवार पुटिनको विरुद्धमा थिएन, जसको विश्वसनियता होस् ।

चुनाबका क्रममा पुटिनका बिरोधी हालसालै मृत्यु भएका एलेक्सी नभाल्नीका समर्थकहरुले प्रतिकात्मक रुपमा बिरोध प्रदर्शन पनि गरेका थिए । नून अगेन्स्ट पुटिनको नाराका साथ रुसको मस्को र सेन्ट पीटर्सबर्गसहित कैयौं रुसी शहर र अन्य देशमा रहेका रुसी दुतावासको सामुन्ने नभाल्नीका समर्थकहरु भेला भएर बिरोध गर्दै भोट गरेका थिए । उनीहरुको यो कदमलाई प्रोटेस्ट भोटिंग भनिएको छ । तर, यी प्रदर्शनहरुले न चुनावमा कुनै किसिमको असर पर्ने थियो , न पर्यो नै ।

विभिन्न प्रदर्शन तथा घटनाहरुको अनुसन्धान तथा अभिलेख राख्ने ओविडी इन्फोकाअनुसार रुसमा चुनावको क्रममा कम्तीमा ८० जनालाई पक्राउ गरिएको छ । शुक्रबार मतदान केन्द्रमा हमला भएको भन्ने खबर पनि बाहिरिएको थियो ।

पश्चिमा देशहरुले रुसको चुनावको निन्दा गर्दै यो चुनाव न स्वतन्त्र रहेको न निष्पक्ष रहेको आरोप लगाएका छन् । जर्मनीले यो चुनाव सेन्सरसीप, दमन र हिंसाका बीच छद्य चुनाव रहेको दाबी गरेको छ । बेलायतका विदेश मन्त्री डेविड केमरुनले रुसको चुनावको निन्दा गर्दै युक्रेनको क्षेत्रमा गैरकानुनी रुपमा चुनाव गराएको आरोप लगाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाले अर्को एक चुनाव गराइरहेको बताएका थिए ।

पुटिनका प्रमुख बिरोधी एलेक्सी नभाल्नीका साथी लियोनिड वोल्कोफ, जो लुथिआनामा शरण लिइरहेका थिए, उनलाई एक हप्ताअघि नराम्रोसँग हथौडाले प्रहार गरिएको थियो । उनले यो चुनावको विषयमा बोल्दै पुटिनलाई प्राप्त भएको भोटको प्रतिशत वास्तविकतासँग कुनै पनि रुपमा सम्बन्धित नभएको आरोप पनि लगाएका छन् ।

रुसमा तीन दिनसम्म चुनाव भएको थियो । रुसले कब्जा गरेको युक्रेनी क्षेत्रमा पनि लामो समयसम्म चुनाव भएको थियो । ती क्षेत्रमा मान्छेहरुलाई घर बाहिर ल्याउन र चुनावमा भाग लिनका लागि राजी गराउने प्रयास भएको थियो ।

आइतबार रुसको कब्जामा रहेको शहर बर्डियांस्कमा चुनाव आयोगका एक अधिकारीको हत्या भएको खबर पनि बाहिर आएको थियो । स्थानीय मानिसहरुका अनुसार सेनासमेत साथमा रहेको रुसका समर्थकहरु मतदान गर्ने ब्ल्याट बक्स नै लिएर मानिसहरुको घरमा पुगेका थिए र भोट लिएर आएका थिए ।

तर, जब चुनावको परिणाम आयो, तब रुसको टेलिभिजनले भने पुटिनको जीतलाई नै ठूलो विजयका रुपमा प्रस्तुत गरेको थियो । रुसको एक च्यानलमा पत्रकारले भनेका थिए, ‘भ्लादिमिर पुटिनले पाएको यो समर्थन निकै ठूलो हो र पश्चिमा देशहरुका लागि ठूलो सन्देश हो ।’

जब जीतपछि पुटिनले पत्रकारहरुसँग कुरा गरे, तब उनले रुसी राष्ट्रपति क्याम्पेनको अत्याधिक तारिफ गरे र अमेरिकाभन्दा पनि ठूलो राम्रोसँग भएको बताए । रुसले अनलाईन मतदान प्रणालीको प्रयोग गरेको थियो । अधिकारीहरुकाअनुसार यो प्रक्रियामार्फत ८० लाख मतदान भएका छन् । अधिकारीहरुले भनेका छन्, ‘यो पारदर्शी र बिल्कुल ठीक छ । अमेकिराको जस्तो १० डलरमा भोट किन्ने यहाँ भएको छैन ।’

तर, रुसमा स्वतन्त्र निगरानी राख्ने निकाय गोलोजलाई भने मतदान प्रक्रियाको पर्यवेक्षण गर्नबाट रोक लगाइएको थियो । तर, केही रिपोर्टहरु बाहिर आएका छन्, जसमा चुनावमा गडबडी भएको कुरा देखिएको छ ।

कतिसम्म भने सरकारी क्षेत्रमा काम गरिरहेका कर्मचारीहरुलाई दबाब नै दिएर मतदानमा भाग लिनुपर्ने, मतदान केन्द्रमा गएर भोट दिनुपर्ने वा अनलाइनमार्फत दिनुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको थियो । उनीहरुले भोट दिनैपर्ने उर्दि गरिएको थियो ।

चुनावकै क्रममा पुटिनले पहिलो पटक आफ्ना बिरोधी नभाल्नीको नाम पनि खुलेर लिएका छन् ।

पुटिनले चुनावका क्रममा आफ्ना प्रतिद्वन्द्वीहरुको तारिफ पनि गरेका थिए र उनीहरुलाई धेरैभन्दा धेरै मतदाताहरुले चुनावमा माग लिन प्रोत्साहन गर्न भनेका थिए । पहिलो पटक उनले एलेक्सी नभाल्नीको नाम पनि खुलेर थिए । नभाल्नीको गत महिना आर्कटिकको एक जेलमा मृत्यु भएको थियो ।

सम्भवतः पुटिनले आफूमाथि नभाल्नीको हत्या गरेको भन्ने आरोपको खण्डनका रुपमा उनको नाम लिएका थिए । नभाल्नीबारे कुरा गर्दै पुटिनले पश्चिमा देशहरुमा कैद रहेका रुसी सैनिकहरुको बदलामा नभाल्नीलाई छोड्ने विकल्पको बारेमा पनि विचार गरेको बताएका थिए । तर, यो शर्तमा नभाल्नी भविष्यमा रुस फर्किन नपाउने भनिएको कुरा पनि पुटिनले खुलाए । उनले भने, ‘मैले म यसका लागि तयार छु पनि भनेको थिए । तर, दुर्भाग्य यस्तो भइदियो । अब के गर्न सकिन्छ? यहि त जिन्दगी हो ।’

रुसी नागरिक युलिया नवेलनाया बर्लिनस्थित रुस दुतावासबाहिर ६ घण्टासम्म उभिएकी थिइन र प्रोटेस्ट भोट अर्थात चुनावको बिरोधमा गरिएको मतदानको हिस्सा भएकी थिइन । उनले बताएअनुसार मतदान पत्रमा उनले नभाल्नीको नाम लेखिन । उनले बिरोधमा सामेल भएकाहरुको तारीफ गर्दै भनेकी थिइन्, ‘यसले सबै कुरा सकिएको छैन भन्ने आशा जगाएको छ ।’
लन्डनमा एक प्रदर्शनकारीले मतदानका क्रममा उनले आफू मतदान गर्नुभन्दा अघि सात घण्टासम्म उभिएर प्रदलर्शन गरेको बताएकी थिइन् ।

कार्यकर्ता तथा वकील लियोबोफ सोबोलले अमेरिकाको वासिंगटनमा बताएअनुसार बिरोधका रुपमा गरिएका भोटहरु नजितामा देखिने छैनन । तर, यो एकजुट हुने कुराको प्रतिक भने रहेको छ ।

रुस्को चुनाव कहिल्यै पनि उम्मेदवारहरुबीचको भिडन्तको रुपमा हुनेवाला थिएन र भएन पनि । चुनावमा सबैलाई समान अवसर मिल्ने किसिमको अवस्था नै थिएन । रुसको कम्युनिष्ट पार्टीका उम्मेदवार निकोलाई खारितोनोफले चार प्रतिशतभन्दा थोरै कम भोट पाएका थिए र उनका साथी उम्मेदवारले योभन्दा पनि कम भोट पाए । पुटिनको विरुद्धका उम्मेदवारहरु कोही पनि गम्भिर थिएनन । झन्, खारितोनोफले त आफ्नो चुनावी अभियानका क्रममा पुटिनको तारिफ मात्र गरेका थिए । उनले भनेका थिए, ‘पुटिन सबै क्षेत्रमा देशलाई एक जुट गर्ने र जीत दिलाउने काम गरिरहेका छन् ।’

लाखौं मानिसले पुटिनको पाचौं कार्यकालका लागि भोट दिएका छन्, किनभने उनीहरुसँग कुनै विकल्प नै थिएन । यसको प्रमुख कारण भनेको क्रेमलिनको पुरै राजनीतिक परिदृश्यमा कुनै पनि प्रतिद्वन्द्वी रहने अवस्था नै छैन ।

पुटिनको प्रतिद्वन्द्वी कोही हुन्छ भने उसलाई जेलमा हालिन्छ, निर्वासन गरिन्छ वा हत्या नै गरिन्छ । यसको प्रमाण चुनावको केही हप्ताअघिसम्म पनि पनि उम्मेदवार बन्ने अनुमति पाउने भनिएका युद्ध बिरोधी नेता बोरिस नादेजदीनसँग भएको घटनाले पनि देखाउँछ । अन्तिम समयमा आएर उनको उम्मेदवारी चुनाव आयोगले खारेज गरिदिएको थियो, किनभने उनको पक्षमा बनेको माहोलले रुसको ठूलो जनसंख्याले उनलाई मत हाल्ने सम्भावना देखिएको थियो ।

बीबीसीबाट


क्लिकमान्डु