घरेलु कामदारसम्बन्धी महासन्धी अनुमोदन गर्न आमकासको आग्रह



काठमाडौं । घरेलु कामदारसम्बन्धी अनुमोदन गर्न आप्रवासी महिला कामदार समूह (आमकास) नेपालले आग्रह गरेको छ । अम्कासले बिहीबार काठमाडौंमा कार्यक्रम गर्दै घरेलु कामदार महासन्धी छिटोभन्दा छिटो अनुमोदन गर्न आग्रह गरेको हो ।

घर वा घरहरुमा आधारित काम गर्ने श्रमिकहरु घरेलु श्रमिक भएको र उक्त काम सम्मानित काम भएको घरेलु श्रमिक संरक्षण, सम्मानको समान हकदार भएको अम्कासको भनाइ छ । घरेलु श्रमिकको मानवअधिकारको रक्षा र सम्मान गरिनु पर्ने उनको भनाइ छ ।

तर, घरेलु श्रम गर्ने नेपालीहरुले सामाजिक विभेद, शोषणपूर्ण कामको अवस्था, कानुनी संरक्षणको अभाव खेप्दै आएकाले महासन्धी अनुमोदनमा अम्कारसले जोड दिएको छ । घरेलु कामदारका रूपमा काम गर्न विदेश जान चाहनेहरु माथि लाग्दै आएको प्रतिबन्धले मुलतः लैङ्गिक भेदभावलाई अझ बढाएको र महिलाको आर्थिक सशक्तिकरणमा बाधा पुर्‍याएकाले असुरक्षा र शोषण बढ्दो क्रममा रहेको छ ।

‘घरेलु कामदारको हक र मर्यादा कायम राख्न नेपालका लागि आइएलओ महासन्धि १८९ लाई अनुमोदन गर्नु महत्त्वपूर्ण छ । यस महासन्धिले घरेलु कामदारहरूको न्यायोचित पारिश्रमिक, उचित कामको अवस्था र सामाजिक सुरक्षामा पहुँच लगायतका अधिकारहरूको संरक्षणका लागि विस्तृत रूपरेखा प्रदान गरेको छ । महासन्धीलाई अनुमोदन गरेर, नेपालले अन्तर्राष्ट्रिय श्रम मापदण्डप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न र आफ्नो घरेलु श्रमशक्तिको कल्याण सुनिश्चित गर्न सक्छ,’ आमकासका कार्यकारी अधिकृत विजया राई श्रेष्ठले भनिन् ।

सी१८९ को अनुमोदन घरेलु श्रमिक पठाउने मुलुकहरुका लागि महत्वपूर्ण रहेको बताउँदै उनले महासन्धिले घरेलु श्रमिकलाई हिंडुलको स्वतन्त्रता हुनु पर्दछ भन्ने सुनिश्चितता गरेको बताइन् ।

महासन्धीमा संगठित हुन पाउने अधिकारको ग्यारेण्टी हुनु पर्दछ भनिएको छ । सामुहिक सौदावाजीको अधिकार दिइनु पर्दछ र दुर्व्यवहार, दुरुत्साहन, हिंसा जस्ता कुराबाट घरेलु श्रमिकलाई सुरक्षा प्रदान गरिनु पर्दछ भन्ने ग्यारेण्टी गरेको छ ।

कुनै पनि व्यक्तिलाई घरेलु श्रमिकका रुपमा काममा लगाउँदा उसले कस्तो काम गर्ने हो, सेवा सुविधा कति पाउने भन्ने जस्ता विषयहरुमा घरेलु श्रम गर्न जानेहरु पूर्वसूसुचित हुनु पर्दछ भन्ने व्यवस्था सो महासन्धिमा रहेको छ । रोजगारदाता को हो, कहाँ काम गर्ने हो ?, काम कहिले सुरु हुने र कहिले करार सकिने हो भन्ने जस्ता जानकारी श्रमिकले लिखित रुपमा पाउनु पर्दछ भन्ने व्यवस्था सो महासन्धिमा रहेको छ ।

त्यस्तै, दिनमा कति घण्टा काम गर्ने, तलव सुविधा कति पाउने, विदा, खाना तथा बस्ने सुविधा जस्ता कुराहरु करारपत्रमा लेखिएको हुनु पर्दछ । घरेलु श्रमिकलाई जिन्सीमा होइन नगदै र कम्तिमा हरेक महिना तलब भुक्तानी गरिनु पर्ने र त्यसरी तलब भुक्तानी गर्दा बैंकमा वा अन्य कानुनी माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था महासन्धिमा रहेको छ । यसले घरेलु श्रम गर्न जानेहरुको आर्थिक, सामाजिक सुरक्षा गर्दछ। साथै नेपालले सो महासन्धि अनुमोदन गरेपश्चात् गन्तव्य मुलुकहरुसँग सोही अनुरुप माग राख्न सहज हुने आमकासको भनाइ छ ।

घरेलु श्रमलाई कानुनको दायरामा ल्याउन, उनीहरुले गर्ने काम पनि श्रम हो र उनीहरुले श्रमिकले पाउनु पर्ने सुविधा प्राप्त गर्नुपर्दछ भनेर नेपालमा लामो समयदेखि आवाज उठ्दै आएको छ । तर हालसम्म पनि घरेलु श्रमिक त्यो अवसरबाट वञ्चित रहेको उनको भनाइ छ ।

उनकाअनुसार जबसम्म राष्ट्रिय कानुनबाट घरेलु श्रमिकहरु संरक्षित हुँदैनन् र अन्तराष्ट्रिय प्रतिवद्धता स्वरुप ऋज्ञडढ नेपाल सरकारले अनुमोदन गर्दैन, तबसम्म घरेलु श्रमिक प्रति राज्यले दायित्व लिएको अनुभव नहुने जनाइन् ।आमकासले घरेलु श्रमिकका रुपमा काम गर्न विदेश जान लगाइएको प्रतिबन्धले महिला श्रमिकलाई पारेको समस्या पारेको भन्दै प्रतिबन्ध फुकुवा गर्नुपर्नेमा जोड दिएका छन् । ‘विश्वव्यापी रुपमा घरेलु श्रममा ८० प्रतिशत महिला छन् । तसर्थ घरेलु कामदारका रूपमा काम गर्न जान नेपालले लगाउँदै आएको प्रतिबन्धले लैङ्गिक भेदभावलाई बढाएको छ । बन्देजले सुरक्षा प्रदान गर्नुको सट्टा घरेलु श्रम गर्न जानेहरुलाई अनौपचारिक र सम्भावित शोषणको बाटो भएर जान बाध्य पारेको आमकासको ठहर छ । यसरी अनौपचारिक रुपमा जाँदा उनीहरू बेचबिखन र शोषणको जोखिममा परेका आमकासको दाबी छ ।


क्लिकमान्डु