१० वर्षदेखि बंगलादेशसँगको वैदेशिक व्यापार निरन्तर घाटामा: नेपालले के किन्छ, के बेच्छ ?



काठमाडौं । बंगलादेशसँगको वैदेशिक व्यापार विगत १० वर्षदेखि निरन्तर घाटामा छ । नेपालले विगत लामो समयदेखि वैदेशिक व्यापार गर्दै आएको बंगलादेशसँग आर्थिक वर्ष २०७१/७२ देखि हालसम्म उच्च व्यापारघाटा व्यहोरेको छ ।

नेपालले बंगलादेशसँग सन् १९७६ मा व्यापार तथा भुक्तानी सम्झौता (द्विपक्षीय सन्धि)मा हस्ताक्षर गरेको थियो । उक्त सम्झौताअनुसार व्यापारमा विशेष भन्सार शुल्क प्रदान गर्ने जनाएको थियो । साही सम्झौताअनुरुप हालसम्म व्यापार भइरहेको छ ।

दक्षिण एसियामा भारतपछि सबैभन्दा बढी वैदेशिक व्यापार गर्दै आएको बंगलादेशबाट नेपालले विगत लामो समयदेखि नाफा कमाउँदै आएको थियो । तर, पछिल्ला एक दशकदेखि भने निर्यात खस्किँदा उच्च व्यापारघाटा व्यहोर्दै आएको सरकारी तथ्याङकले देखाउँछ ।

नेपालले एक दशक अघिसम्म बंगलादेशसँगको वैदेशिक व्यापारबाट अर्बौ नाफा कमाउँदै आएको थियो । नेपालले अर्बौ नाफा कमाउँदै आएको देशसँग भने अहिले व्यापारघाटा व्यहोर्दै आएको पाइन्छ । नेपालले सम्भावित देशहरुमा निर्यातका लागि जोड दिन नसक्दा तथा उत्पादनमा जोड नदिँदा वैदेशिक व्यापार निकै कमजोर हुँदै गएको छ । दशक अघिसम्म विश्वका विभिन्न मुलुकसँग वैदेशिक व्यापारबाट नाफा कमाउँदै आएको नेपाल अहिले अर्बौ व्यापारघाटा व्यहोर्दै आएको छ ।

क्लिकमान्डुले संकलन गरेको १७ वर्षको तथ्याङ्कअनुसार अहिले नेपालले बंगलादेशसँगको वैदेशिक व्यापारबाट वार्षिक औसतमा ५ अर्ब हाराहारीमा घाटा व्यहोर्दै आएको छ । नेपालले आर्थिक वर्ष २०६४/६५ देखि आवको माघ मसान्तसम्ममा करिब १ खर्बको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०६४/६५ देखि आव २०८०/८१ सम्ममा नेपालले ६० अर्ब ७० करोड ७९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । त्यस्तै, नेपालले सोही अवधिमा ३५ अर्ब ६३ करोड ५० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

यस्तो छ बंगलदेशसँगको १७ वर्षको वैदेशिक व्यापार

नेपालले आव २०६४/६५ मा बंगलादेशसँगको वैदेशिक व्यापारबाट ४ अर्ब १७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । जसमा नेपालले ४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । बंगलादेशबाट ४९ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

आव २०६५/६६ मा नेपालले ५ अर्ब १२ करोड ८४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा नेपालले ४ अर्ब ७१ करोड ४ लाख रुपैयाँको वस्तु तथा सेवा नियाृत गरेको थियो भने नेपालले ४१ करोड ८० लाख रुपैयाँको आयात गरेको थियो । जसमा नेपालले ४ अर्ब २९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, आव २०६६/६७ मा ३ अर्ब ३७ करोड ३७ लाख रुपैयाँको निर्यात र ७६ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । जसमा नेपालले २ अर्ब ६० करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । आव २०६७/६८ मा ३ अर्ब ४७ करोड १९ लाख रुपैयाँको निर्यात र १ अर्ब १० करोड ४१ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । नेपालले सो अवधिमा वैदेशिक व्यापारबाट २ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी, आव २०६८/६९ माक २ अर्ब ५७ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा १ अर्ब ५० करोड २८ लाख रुपैयाँको आयात गरेको थियो । सो वर्ष नेपालले १ अर्ब ७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । आव २०६९/७० मा २ अर्ब ७३ करोड २ लाख रुपैयाँको निर्यात गर्दा २ अर्ब १७ करो ४० लाख रुपैयाँकोआयात गरेको थियो । जसमा नेपालले ५५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । साथै, नेपालले आव २०७०/७१ मा पनि बंगलादेशसँगको वैदेशिक व्यापारबाट ४१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसयता भने हालसम्म नाफा कमाउन सकेको छैन ।

नेपालले आव २०७१/७२ मा १ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ व्यापारघाटा व्यहारेको थियो । उक्त वर्ष नेपालले १ अर्ब ८ करोड ४४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा नेपालले बंगलादेशबाट २ अर्ब ७३ रोड ११ लाख रुपैयाँको आयात गरेको थियो ।

नेपालले त्यसयता भने निरन्तर व्यापारघाटा व्यहोर्दै आएको छ । नेपालले आप २०७२/७३ मा २ अर्ब ७९ करोड २३ लाख रुपैयाँ, आव २०७३/७४ मा ३ अर्ब १७ करोड ८७ लाख रुपैयाँ, आव २०७४/७५ मा ३ अर्ब ७० करोड ८० लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब ९४ करोड ८७ लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ, आव २०७७/७८ मा १० अर्ब रुपैयाँ र आव २०७८/७९ मा १० अर्ब ४८ करोड ५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

साथै, चालु आर्थिक वर्ष सात महिनाको अवधिमा बंगलादेशसँगको वैदेशिक व्यापारबाट ५ अर्ब ४७ करोड १९ लाख रुपैयाा व्यापारघाटा व्यहोरेको छ । नेपालले सो अवधिमा ५७ करोड ४० लाख रुपौयाँको वस्तु निर्यात गर्दा ६ अर्ब ४ करोड ५९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

के आयात गर्छौ र के निर्यात गर्छौ ?

नेपालले बंगलादेशबाट विशेषगरी जुस, जुटको वस्तु, चामल, आलु, औषधी, जनावरको दाना, कटन र चकलेट आयात गर्दै आएको छ । नेपालले बंगलादेशतर्फ भने दाल, जुस, जडीबुटी, सोप नट, हाइड्स एण्ड स्किन कलरिङ म्याटर, स्क््रयाब ट्वाइन, टर्पलिन र कटन स्याक्स र ब्याग निर्यात गर्दै आएको छ ।

नेपालले चालु आर्थिक वर्ष ७ महिनाको अवधिमा १२ करोड २३ लाख रुपैयाँको रातो दाल र १ करोड रुपैयाँको जडीबुटीसहित अन्य वस्तु निर्यात गरेको छ ।

बंगलादेशबाट भने नेपालले ७ महिनाको अवधिमै ३ करोड ९ लाख रुपैयाँको बिस्कुट, ७ करोड रुपैयाँको टोस्ट तथा क्रिस्पिी खाना, ४ करोड ६८ लाख रुपैयाँको जुस, १७ करोड २८ लाख रुपैयाँको सोयाबिन आयलको केक, २ करोड १५ लाख रुपैयाँको जनावरको दाना, ३५ करोड ५५ लाख रुपैयाँको औषधी, १ अर्ब १० करोड ६६ लाख रुपैयाँको कच्चा जुट, ८ करोड ४० लाख रुपैयाँको धागो र १८ करोड ६० लाख रुपैयाँको स्ट्याटिक कन्भर्टर आयात गरेको छ ।


अरिष्मा मोक्तान