अस्थिर प्रचण्ड: दुई महिनामै एमालेसँगको गठबन्धन भत्काएर कांग्रेससँग जोडिए, देउवालाई छोडेर फेरि ओली रोजे
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सत्ता गठबन्धन एक वर्षमै भत्किएको छ । गत वर्ष १५ फागुनमा ५ वर्षको सत्ता आलोपालो नेतृत्व गर्ने गरि सहमति गरेको गठबन्धन एक वर्षमै भत्किएको हो ।
सुरुमा एमाले लगायतका दलहरुसँग गठबन्धन गरेर सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धनमा गएपछि त्यसबेला एमालेका आठ मन्त्रीले राजीनामा बुझाएका थिए ।
एक वर्ष अगाडि एमालेबाट सरकारमा सहभागि भएका उपप्रधान तथा अर्थमन्त्री भएका विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले राजीनामा दिएका थिए ।
सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि एमाले सरकारमा जाँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै कांग्रेस नेतृत्वको गठबन्धनका सबै मन्त्रीलाई हटाएर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।
माओवादी र कांग्रेसको सत्ता गठबन्धनमा कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनपछि खटपट थप बढेको हो । सत्ता गठबन्धनमा कांग्रेसका उम्मेवारले जित्ने र माओवादीको उम्मेदवारले हारेका कारण भएको असन्तुष्टि बढेको थियो । त्यस्तै केही साता अघि काठमाडौंमा सम्पन्न कांग्रेस महासमितिमा गठबन्धन तोड्ने र १० वर्षे माओवादी हिंसाका कारण आर्थिक स्थिति कमजोर बनेको प्रतिवेदनपछि माओवादी चिढिएको थियो ।
त्यस्तै अर्थमन्त्री प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहितका विवादित मन्त्रीलाई हटाउनेसम्मको विषयमा भएको बिबाद पनि सत्ता गठबन्धन भत्किनुको कारण बन्न पुगेको छ ।
मंसिरमा सम्पन्न निर्वाचनपछि कुनै पार्टीको पनि सरकार बनाउन पुग्ने गरी बहुमत नआएपछि ३२ सिटको माओवादीले एमालेसँग मिलेर १० पुसमा सरकार बनाएको थियो । चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले सरकार बनाउने बेला भने एमालेसँग सहकार्य गरेको थियो ।
पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित सत्ता गठबन्धन निर्माण भएको थियो । तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको थियो ।
दुई महिनामै एमालेसँगको गठबन्धन भत्काएर कांग्रेससँग मिलेका प्रचण्ड अब फेरि एमालेसँगै मिलेर सरकार बनाउँदै छन् । प्रचण्डको एमालेसँगको सहकार्यसँगै अब फेरि वाम एकाता हुनसक्ने संकेत गरेका छन् ।
असोज २०७४ मा एमाले र माओवादीबीच एकता भएको थियो । माओवादी र एमालेबीच भएको एकातासँगै नेपाल कम्युष्टि पार्टी (नेकपा) बनेको थियो ।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादीलाई ब्युँताएपछि तत्कालीन समयमा साढे दुई वर्षदेखिको नेकपा गठबन्धन भत्किएको थियो । त्यतिबेला सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा आदेश गर्दै एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।
कट्टेलले नेकपा दाबी गर्दै रिट निवेदन दायर गरेका थिए । निर्वाचन आयोगले २०७५ जेठ २३ मा नेकपा नाम अभिलेखीकरण गरेको थियो । कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते औपचारिक रुपमा एकीकरण भएको थियो ।