धितोको बारेमा प्रहरीको बुझाइ गलत भएको बैंकर्स संघको निष्कर्ष



काठमाडौं । नेपाल बैंकर्स संघले गृह मन्त्रालयसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा जानकारी गराउने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको संघको आकस्मिक पूर्ण बैठकले धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको निष्कर्ष निकाल्दै यस विषयमा नियामक राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने र गृहमन्त्रालय सहित प्रहरीलाई बुझाउने निर्णय गरेको राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले जानकारी दिए ।

‘प्रभु बैंकका सिनियर डीसीओसमेत रहेका सेन्चुरी बैंकका पूर्व सीईओ मनोज न्यौपाने र तुलसीराम गौतम लगायत १० बैंकरलाई प्रहरीले पक्राउ गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएको थियो’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘धितोको विषयमा प्रहरीको बुझाइ गलत हुँदा बैंकरहरु दुख पाएका छन् । यसबारे हामीले गृहमन्त्रालय, प्रहरीलाई बुझाउने निष्कर्ष निकालेका छौं ।’

बैंकिङमा हाल घरजग्गालाई मात्रै धितो मान्ने गलत बुझाइले बैंकिङ क्षेत्र नै समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने संघले जनाएको छ ।

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले व्यवसायमा भएको स्टक गोदाममा भएको माल सामानलाई नै मुख्य धितो मान्छ, घरजग्गा वा अन्य स्थीर सम्पत्तिलाई मात्रै धितोको रुपमा बुझ्ने हो भने चालु पुँजी सम्बन्धी सबै कर्जामा बैंकरहरुलाई जोखिम पर्ने देखिने उनले बताए ।

संघले राष्ट्र बैंकलाई जानकारी गराएपछि र प्रहरी र गृहमन्त्रालयलाई धितोका बारेमा ब्रिफिङ गरे पुन: बैठक बसेर कानुन संशोधनका लागि सुझाव दिने निष्कर्षसहित बैठक टुंगिएको उनले जानकारी दिए ।

तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित बैंकका अर्का पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका मनोज न्यौपानेसहित १० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंका विभिन्न कम्पनीमा धितोले खाम्नेभन्दा ९७ करोड रुपैयाँ बढी ऋण दिएको पाइएपछि पक्राउ गरिएको जनाएको छ । सीआईबीका अनुसार देउराली सहकारी गठी प्रकरणमा रविन्द्र चौलागाईं पुर्पक्षका लाथि थुनामै छन्, उनको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले क्लिकमान्डुसँग भने, ‘१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी कर्जा प्रवाह भएको छ ।’


क्लिकमान्डु