बैंकलाई कुनै हालतमा पनि डुब्न दिँदैनौं: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिनेले क्षमताभन्दा बढी लिएका कारण हालको समस्या निम्तिएको बताएका छन् ।

सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा समस्या भएको बताएका हुन् । क्षमताभन्दा बढी ऋण लिएका कारण ऋणीले समयमा तिर्न नसकेको र अहिलेको समस्या देखिएको उनको भनाइ छ ।

अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको छ । त्यसैले अहिले ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको गभर्नर अधिकारीले बताए ।

अहिले निर्माण क्षेत्रमा सुस्तता रहेको भन्दै उनले यसलाई गति दिन सके अर्थतन्त्र चलायमान हुने बताए । बढी ऋण, छड, सिमेन्ट जस्ता उद्योगले लिने भएका कारण त्यस्ता उद्योग चलायमान बनाउन सके अवस्था सहज हुने अधिकारीको भनाइ छ ।

अधिकारीले यो वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको बताए । यसलाई अन्यथा लिन नहुने भन्दै उनले नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको उल्लेख गरे ।

‘त्यसैले आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने, ‘अहिले सेयरधनीलाई लाभांश नदिएर भए पनि प्रणाली सुधारमा लाग्न आवश्यक छ ।’ उनले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर खुसी हुँदा त्यसले अरुलाई पनि असर गर्ने बताए ।

‘अहिले एउटा बैंक डुब्न लाग्यो भनेर अरु खुसी हुनुभन्दा पनि अरुलाई खाने बाघले आफूलाई पनि खाने हो कि भन्नेमा ध्यान दिनुपर्छ’ अधिकारीले भने ।

अहिले धेरैले बैंक अराजक भए, सामन्ती भए, मिटरब्याजी भए भनेर गाली गरेको सुनिए पनि आफूले त्यस्तो नपाएको अधिकारीले बताए ।

अहिले बैंकको आम्दानी घटेको उनले बताए । ‘म गभर्नर भएको बेला ७० अर्ब रहेको नाफा अहिले त्यहाँ पुग्न सक्ने अवस्था छ?’, उनले प्रश्न गरे , ‘अनि कसरी बैंक साहु महाजन भए?’

बैंक तथा वित्तीय संस्था डुब्दा कस्तो असर पर्छ भन्नेमा ध्यान दिनु पर्ने गभर्नर अधिकारीले बताए । बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको उनले बताए ।

राष्ट्र बैंकले ल्याउने नीति कुनै एक बैंकलाई मात्रै लक्षित नहुने भन्दै उनले सीडी रेसियोका विषयमा सुरुमा धेरै नै बिरोध भए पनि एनआईसी एसिया बैंकलाई सीडी रिसियोले सहयोग गरेको बताए ।

‘रोसनजी यहि हुनुहुन्छ, उहाँलाई पनि थाहा छ कति सहयोग भएको थियो भनेर‍,’ उनले भने,’ त्यहि भएर राष्ट्र बैंकले लिएको नीतिले पछि सकारात्मक प्रभाव पार्छ । बिरोध गरेर मात्रै हुँदैन ।’

कुनै बैंकको पुँजी घट्दा असर पर्ने भए पनि राष्ट्र बैंकले असर पर्न नदिने र भरथेग गर्ने गभर्नर अधिकारीले बताए । पछिल्लो समय एनआईसी एसियाबाट २७ अर्ब निकालिए पनि असर नपरेको उनले बताए ।

अधिकारीले राष्ट्र बैंकले नियमन गरेको संस्थालाई कुनै हालतमा पनि डुब्न नदिने पनि बताए ।

नेपालको अर्थतन्त्रमा सहकारी र अनौपचारीक अर्थतन्त्रले ठूलो असर पारेको उनले बताए । ‘सहकारीमा समस्या परेपछि बैंकको रिपेमेन्टमा समस्या परेको छ,’ उनले भने, ‘ अहिले सहकारीको १० प्रतिशत समस्या समाधान गरे बाँकि सहकारीको समस्या समाधान हुन्छ ।’

छुट्टै नियामकीय निकाय स्थापना गरेर सहकारीको प्रभावकारी नियमन गर्न सके अर्थतन्त्रमा समेत राम्रो प्रभाव पर्ने अधिकारीको भनाइ छ ।


क्लिकमान्डु