शाखारहित बैंकिङ सेवा खुम्चँदै, ग्राहक संख्या घट्दै



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको शाखा नपुगेका ठाँउमा बैंकिङ सेवा पुर्याउन भन्दै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले अनुमति दियो ।

बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच तथा सेवा पुर्याउन भन्दै शाखारहित बैंकिङ सेवा सुरु भयो । बैंकले स्थानीय व्यापारी लगायतलाई प्रतिनिधिको रुपमा राखेर सेवा सञ्चालन गर्दै आएको छ ।

तर, जुन अपेक्षाले शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो त्यो पुरा हुनु भन्दा पनि अहिले शाखारहित बैंकिङ सेवा र ग्राहक संख्या घट्दै जान थालेका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा शाखा रहित बैंकिङ सेवा ६.५० प्रतिशतले घटेको छ भने ग्राहक संख्या पनि ५.७५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन यता शाखारहित बैंकिङ सेवा निरन्तर घटिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा शाखारहित बैंकिङ सेवा संख्या १ हजार ३०६ रहेको थियो । भदौमा घटेर १ हजार ३०१ मा झर्यो । साउनको तुलनामा भदौमा यो संख्या ५ वटाले घट्यो ।

यस्तै भदौको तुलनामा असोजमा ५ वटाले घटेर १ हजार २९६ रहेको थियो । भदौमा १ हजार ३०१ रहेका थिए ।
असोजको तुलनामा कात्तिकमा शाखा रहित बैंकिङ सेवा २८ वटाले घटेर १ हजार २६८ वटा रहेको छ । यस्तै असोजमा शाखा रहित बैकिङ सेवा १ हजार २९६ वटा रहेका थिए ।

मंसिरमा बैंकहरुको शाखा रहित बैंकिङ सेवा १ हजार २२० रहेका छन् । कात्तिकको तुलनामा ४८ वटाले कम हो । यस्तै पुससम्म शाखा रहित बैंकिङ सेवा १ हजार २२१ वटा रहेका छन् ।

मंसिरको तुलनामा पुसमा १ वटा शाखा रहित बैंकिङ सेवा बढेको छ ।

शाखारहित बैंकिङ सेवा मात्रै नभएर ग्राहक संख्या पनि ६ महिनाको अवधिमा ५.७५ प्रतिशतले घटेर ३ हजार १ हजार ९९८ रहेका छन् । शाखा रहित बैंकिङ सेवाको उपभोग गर्ने ग्राहक साउनमा ३ लाख २० हजार ४२९ जना रहेका थिए । भदौमा ३ लाख २० हजार ३९५ जना, असोजमा ३ लाख १९ हजार ८३०, कात्तिकमा ३ लाख १० हजार ६४९, मंसिरमा ३ लाख ८५३ र पुसमा ३ लाख १ हजार ९९८ जना रहेको छ ।

पछिल्लो समय शाखारहित बैंकिङ सेवाको शाखा संख्या र सेवाग्राही घट्नुलाई बैंकको मर्जर र डिजिटल कारोबारलाई लिन सकिने बैंकर्सहरुको बुझाइ छ ।

राष्ट्र बैंकले लिएको बैंकहरुको मर्जर तथा एक्विजिशनको नीति र पछिल्लो समय बढ्दै गएको डिजिटल कारोबारका कारण पनि शाखारहित बैंकिङ सेवा कम हुँदै गएको हुनुक्ने बैंकर्स संघका अध्यक्ष सुनिले केसी बताउँछन् ।

कतिपय स्थानमा पहिला बैंकको शाखा नभएको कारण तत्कालका लागि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको र पछि त्यसको आसपासमा बैंकको शाखा खुलेपछि बैंकिङ सेवा बन्द हुने गरेको केसीको भनाइ छ ।

कतिपय अवस्थामा जुन उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो त्यो पुरा हुन नसक्दा पनि बन्द भएको हुने बैंकर्सहरुको तर्क छ ।

शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा त्यहाँ हुने प्रतिनिधि कस्तो हुने, त्यसबाट प्रतिनिधिले हेर्ने लाभका विषय पनि महत्वपूर्ण हुने बैंकर्सहरुको तर्क छ ।

शाखा रहित बैंकिङ सेवाबाट बैंक खाता खोल्ने, रकम जम्मा गर्ने तथा झिक्ने, रेमिट्यान्स भुक्तानी गर्ने लगायत सेवा दिने गरिन्छ । शाखा रहित बैंकिङ सेवा वाणिज्य बैंक र विकास बैंकले मात्रै सञ्चालन गर्छन ।

यसले दुर्गम क्षेत्रमा बैंकिङ सेवा प्रवाह गर्न सहयोग पुगेको बताइन्छ । नेपालमा एभरेष्ट बैंकले पहिलो पटक शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो ।

२०७८ माघ २१ गते शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्था गरेर बैंकिङ सेवा, बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको सम्झौता, आधिकारिक व्यवसायिक प्रतिनिधिसँगको सम्झौता, प्रतिनिधि छनौट सम्बन्धी, तेस्रो पक्ष सेवा प्रदायकको, शाखारहित बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । यसले गाँउ गाँउमा मानिसमा बैंकमा खाता खोल्नुपर्छ भन्ने, बचत गर्ने बानीको विकास गर्ने बताइन्छ ।

शाखारहित बैंकिङ सेवाले बैंक तथा वित्तीय संस्थाले थोरै लागतमा वित्तीय साक्षरता दिन सक्ने बताइन्छ । शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । यसले सर्वसाधारणलाई समेत कतिपय सेवा सहजै पाउन सकिने भएको छ ।

थोरै बैंकिङ कारोबारका लागि दिन नै माया मारेर टाढा रहेको बैंक शाखामा जानु पर्ने बाध्यता कम भएको छ । शाखारहित बैंकिङ सेवा विस्तार गर्दा बैंकको लगात कम हुने गर्छ । थोरै कर्मचारीबाट पनि सेवा दिने गरेको छ ।

पछिल्लो समय बढ्दो विद्युतीय कारोबार, गाँउ गाँउसम्म पुगेको प्रविधिले शाखारहित बैंकिङ सेवा लिनेको संख्या कम हुन थालेको जानकारहरुको तर्क छ ।


क्लिकमान्डु