मन्दीको चपेटामा जापानः विश्वकै तेस्रो ठूलो अर्थतन्त्रबाट कसरी तल झर्‍यो ?



एजेन्सी । जापानको अर्थव्यवस्थामा संकटको बादल मडारिन थालेको छ । अर्थतन्त्रमा संकटको बादल मडारिएसँगै जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्रबाट झरेको छ । जापान तेस्रोबाट झरेर चौथोमा पुगेसँगै जर्मनी एक स्थान माथि उक्लिएको छ ।

जर्मनी अब विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ ।

जापानको अर्थतन्त्रमा दुई त्रैमासमा लगातार संकुचन देखिएको थियो । दुईपटक लगातार संकुचन देखिएसँगै जापान मन्दीको चपेटामा परेको हो ।

जापान अहिले कमजोर मुद्रा, बढ्दो उमेरका जनसंख्याको बाहुल्यता र घट्दै गएको जनसंख्यासँग संघर्ष गरिरहेको छ ।
यसअघि जापान चीनको अर्थव्यवस्थामा उछाल आएका कारण दोस्रो ठूलो अर्थतन्त्रबाट विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा झरेको थियो । विश्वकै ठूलो अर्थतन्त्रका रुपमा भने लामो समयदेखि अमेरिका नै रहेको छ ।

जापानको मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको तथ्यांकअनुसार जापानको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) सन् २०२३ को अन्तिम तीन महिनामा एक वर्षअघिको तुलनामा अपेक्षा गरेभन्दा धेरै संकुचित भएको थियो । एक वर्षअघिको तुलनामा जापानको जीडीपी ०.४ प्रतिशतले संकुचित भएको तथ्यांकले देखाएको छ । त्यसअघिको त्रैमासमा जापानको अर्थतन्त्रमा ३.३ प्रतिशतको संकुचन आएको थियो ।

अहिले जापानको जीडीपी ४२ खर्ब ९१ अर्ब अमेरिकी डलरमा सीमित रहेको छ ।

लगातार दुई त्रैमाससम्म कुनै पनि देशको अर्थतन्त्र संकुचनमा परेमा त्यसलाई अर्थतन्त्रको प्राविधिक भाषामा मन्दीमा गएको मानिन्छ । जापानमा लगातार दुई त्रैमास अर्थतन्त्र संकुचनमा परेकाले मन्दी देखिएको हो ।

अक्टुबरमा अन्तर्राष्ट्रिय मनिटरी फन्ड (आईएमएफ)ले जापानको अर्थतन्त्रमा देखिएको समस्याका कारण जर्मनी तेस्रो ठूलो अर्थव्यवस्था बन्ने अनुमान गरेको थियो । र हाल त्यस्तै अवस्था देखिएको छ । जर्मनीको अर्थव्यवस्था ४७ खर्ब ३० अमेरिकी डलर पुगेको छ ।

जापानको अर्थतन्त्र संकुचनमा पर्नुका मुख्य तीन कारणहरु रहेको अर्थशास्त्रीहरुले बताएका छन् ।

पहिलो कारणका रुपमा भने अमेरिकी डलरको तुलनामा जापानको मुद्रा येनको लगातार ह्रास हुनु रहेको छ । जापानको मुद्रा येन पछिल्लो दुई वर्षमा डलरको तुलनामा निकै धेरैले कमजोर भएको छ । जापानको मुद्रा गत वर्ष अमेरिकी डलरसँगको तुलनामा ७ प्रतिशतले कमजोर भएको थियो ।

दोस्रो कमजोरीका रुपमा आफ्नो देशको मुद्रा कमजोर भएका कारण निर्यात गर्दा पनि फाइदा कम भएकाले जापानको अर्थतन्त्रमा त्यसो पनि असर देखिएको छ ।

त्यस्तै, जापानमा अहिले जनशक्तिको कमी देखिएको छ भने न्यून जन्मदरका कारण पनि जापानमा धेरै समस्याहरु देखिएका छन् ।

जापानका अर्थतन्त्र पुनर्उत्थान मन्त्री योशिताका शिन्दोले धेरै महिलाहरुलाई पूर्णकालिन काममा ल्याउने, संरचनागत सुधार गर्ने र विदेशी लगानीका बाधाहरुलाई हटाउँदै लैजाने बताएका छन् । मागलाई बढाउनका लागि र खर्च गर्नेका लागि प्रोत्साहित गर्ने उद्देश्यसहित उनले भनेका छन्, ‘हामी तलब वृद्धिलाई समर्थन गर्न सबै नीतिगत कदमहरु लागू गर्नेछौं ।’

जापानको कुल आर्थिक क्रियाकलापको आधाभन्दा धेरै हिस्सा ओगटेको निजी उपभोग ०.२ प्रतिशतले कम भएको छ । वास्तविक पारिश्रमिकमा आएको कमी र जीवनयापनका खर्चहरुमा आएको वृद्धिका कारण जापानमा निजी उपभोगमा पनि कमी देखिएको छ ।

सन् १९७० देखि सन् १९८० को दशकमा जापानको अर्थतन्त्रमा देखिएको उछालकाबीच त्यहाँको सस्तो वस्तुहरुको मूल्य, गुणस्तरीय गाडी तथा विद्युतीय सामग्रीहरुको निर्यातले जापानको अर्थतन्त्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको थियो ।

जापानको अर्थतन्त्रले विश्वकै ठूलो अर्थतन्त्र रहेको देश अमेरिकालाई उछिनेर पहिलो स्थान हासिल गर्ने अनुमानहरु थिए ।
तर, त्यसको बिपरित जापानमा सन् १९९० को दशकमा गैरअचल सम्पत्तिहरुको ‘बबल’ वृद्धि भएको थियो । जुन पछि विष्फोट भयो । जसका कारण त्यहाँ आर्थिक स्थिरतामा समस्या र अफस्फिति(डिफ्लेसन) को अवस्था सिर्जना भएको थियो । पछिल्ला तथ्यांकहरुले जापानको कमजोर अर्थतन्त्रको वास्तविकतालाई प्रतिबिम्बित गरेका छन् ।

टोकियो विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक रहेका तेत्सुजि ओकाजाकीकाअनुसार जापानले घमण्ड गर्ने गरेका कैयौं विषयहरु कमजोर भएका छन् । उदाहरणका लागि अटो (गाडी) क्षेत्रमा जापानले घमण्ड गर्ने गरेको थियो । तर, विश्वका अन्य देश र कम्पनीहरुमा विद्युतीय गाडीहरुको उत्पादन र उपलव्धताका कारण जापानको अटो क्षेत्र पनि कमजोर बन्यो ।

निक्केइ बिजनेश पत्रिकाले जापान आफ्नो आर्थिक वृद्धिको सम्भावनामा असफल भएको सम्पादकीयमा उल्लेख गरेको छ । र यो दुर्दशा आउनुको कारण त्यहाँको जनसांख्यकीय संकट रहेको अर्थशास्त्रीहरुले बताएका छन् ।


क्लिकमान्डु