हुण्डाईले भारतकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै



काठमाडौं । दक्षिण कोरियाको मोटर कम्पनी हुण्डाईको भारतीय युनिट हुण्डाई इण्डियाले भारतमा सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । यससँगै भारतीय युनिटले त्यहाँको सेयर बजारमा सूचीकृत हुने तयारी गरेको हो ।

हुण्डाई इण्डियाले आगामी अक्टुवर महिनामा आईपीओ ल्याउने गृहकार्य सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आईपीओ जारी गर्नका लागि हुण्डाईले भारतीय इन्भेष्टमेन्ट बैंक जेपी मार्गन, सिटि र एचएसबीसीलाई सल्लाहकार नियुक्त गरेको छ ।

हुण्डाईले आईपीओ ल्याउनका लागि आवश्यक पर्ने कागजात आगामी जुनसम्म जम्मा गर्ने तयारी गरेको छ । हुण्डाई इण्डियाले फेब्रुअरी-७ मा कोरियाको स्टक एक्सचेन्जलाई भारतमा आईपीओ ल्याउन लागेको औपचारिक रुपमा जानकारी गराएको थियो ।

हुण्डाईले ग्लोवल कम्पनीको रुपमा कर्पोरेट भ्यालु बढाउनका लागि विदेशी सब्सीडिरिजको लिस्टिंगसहित अन्य गतिविधिको समेत क्रमिक रुपमा रिभ्यु गरिरहेको जनाएको छ ।

हुण्डाई इण्डियाले करिब २.५ लाख भारतीय रुपैयाँ बराबरको भ्यालुको आधारमा करिब १० प्रतिशत हिस्सा बिक्री गर्ने तयारी गरेको छ ।

जसअनुसार प्रस्तावित आईपीओ करिब २५ हजार करोड भारतीय रुपैयाँबराबरको हुनेछ । सन् २०२२ मा सरकारले एलआईसीमा आफ्नो ३.५ प्रतिशत हिस्सा बिक्री गरेको थियो । यसको लागि करिब २१ हजार करोड भारतीय रुपैयाँबराबरको आईपीओ ल्याइएको थियो ।

आईपीओको लागि हुण्डाई मोटर इण्डियाले भारतको केहि बैंकसँग थप छलफल पनि गरिरहेको छ । भारतको सेयर मार्केटमा हुण्डाई सूचीकृत भएमा यो कम्पनी मारुति-सुजुकी, टाटा मोटर्स, महिन्द्र एण्ड महिन्द्रापछि चौथो ठूलो अटोमोवाइल कम्पनी हुन सक्ने बताइएको छ । हुण्डाई मोटर इण्डिया मारुतिपछि भारतको दोश्रो सबैभन्दा ठूलो कार कम्पनी हो ।

भारतीय बजारमा २८ बर्षदेखि हुण्डाईको उपस्थिति छ । सन् १९९६ देखि हुण्डाईले भारतमा आफ्नो व्यवसायिक यात्रा सुरु गरेको थियो । भारतमा हुण्डाई इण्डियाले १३ प्रकारका मोडेलमा कार बिक्री गर्दैआएको छ ।

रतको कार बजारमा १५ प्रतिशत हिस्सा हुण्डाईले लिएको छ । भारतमा हुण्डाई इण्डियाको १ हजार ३ सय ६६ वटा सेल्स र १ हजार ५ सय ४९ वटा सर्भिस सेन्टर छन् ।

सन् २०२४ को जनवरीमा वार्षिक आधारमा ८.५ प्रतिशतका दरले वृद्धि भएर हुण्डाईका सवारी साधनको थोक बिक्री भएको थियो । उक्त महिना ६७ हजार ६ सय १५ युनिट सवारी साधन बिक्री भएको थियो ।

हुण्डाई इण्डियाको वार्षिक घरेलु बिक्री दर १४ प्रतिशतले वृद्धि भएर ५७ हजार १ सय १५ युनिट बिक्री भएको थियो । जबकि सन् २०२३ को जनवरीमा भने घरेलु बिक्री दर ५० हजार १ सय ६ युनिट रहेको थियो ।

विज्ञका अनुसार हुण्डाईले २०२४ को जनवरीमा भारतबाट १० हजार ५ सय युनिट सबारी साधन अन्य मुलुकमा निर्यात गरेको थियो । वार्षिक तथ्याँकको आधारमा उक्त संख्या १४ प्रतिशतले कम हो । सन् २०२३ को जनवरीमा हुण्डाई इण्डियाले १२ हजार १ सय ७० युनिट सवारी साधन विभिन्न मुलुकमा निर्यात गरेको समाचारमा जनाइएको छ ।


क्लिकमान्डु