सवारी दुर्घटना बिषयमा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले सवारी दुर्घटनाका बिषयमा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् ।

थापा प्रस्तावक र राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामी, मदनकुमारी शाह, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, डा.खिमलाल देवकोटा, डा.विमला राई पौडेल, भैरवसुन्दर श्रेष्ठ र अनिता देवकोटा समर्थक रहेको उक्त प्रस्ताब आइतबार राष्ट्रिय सभामा दर्ता भएको हो ।

थापाले ७ वटा कारण औंल्याउँदै प्रस्ताव दर्ता गरेको उल्लेख गरेकी छिन् । थापा राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति समेत हुन् ।

जसअनुसार १० औं पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई पुनरवलोकन गरी सडक सुरक्षा र सवारी साधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहितको संघीय संरचना अनुसारको वर्तमान सस्या र चुनौती सम्बोधन गर्न विद्येयक तत्काल संसद्मा पेश गर्न भनिएको छ ।

यस्तै सवारी चालक अनुमतिपत्र प्राप्त गर्नुअघि अनिवार्य रुपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालकलाई आवधिक रुपमा सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न प्रस्तावमा भनिएको छ ।

सडक सुरक्षा सावधानीसहित सडक निर्माणसम्बन्धी स्पष्ट मापदण्ड तय गरी तहगत रुपमा तीन तहको निकायबाट निर्माण गरिने सडकको न्यूनतम मापदण्डमा एकरुपता कायम गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

यातायातमैत्री सडक पूर्वाधार, सुरक्षा सतर्कता, सवारी तथा यातायातसम्बन्धी कानूनको पालनाजस्ता बिषयमा आम नागरिकलाई सचेतना अभिवृद्धि गर्दै अनुशासित र जिम्मेवार बन्न प्रेरित गर्ने बिषयलाई पनि प्रस्तावमा समावेश गरिएको छ ।

यसैगरी सडक दुर्घटनामा परी घाइते भएका नागरिकको उपचारको बिषयलाई स्वास्थ्य बिमाको अंगका रुपमा व्यवस्था मिलाउन र सडक दुर्घटनामा परी अपाङ्गता भएका नागरिकको जीवन निर्वाहका लागि रोजगारीमा प्राथमिकता तथा आर्थिक वृतिको प्रवन्ध गर्नुपर्ने बिषयलाई पनि दर्ता गरिएको प्रस्तावमा समावेश गरिएको छ ।

सवारी साधनमा सडक सुरक्षाका आवश्यक उपकरण र प्रविधि जडान गर्ने व्यवस्था मिलाउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको यातायात सुरक्षामैत्री छ भन्ने सन्देश प्रवाह गर्न दर्ता गरिएको उक्त प्रस्तावमा उल्लेख गरिएको छ ।

नेपालमा करिब ६४ हजार ५ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये १३ हजार ५ सय किलोमिटर रणनीतिक महत्वको सडक सञ्जाल छ । पछिल्लो समयमा सवारी दुर्घटना अत्यधिक बढेको उल्लेख गर्दै प्रस्तावमा गत् आर्थिक बर्ष २०७९÷८० को तथ्याँकले काठमाडौं उपत्यकामा मात्रै दैनिक २९ वटा सवारी दुर्घटना भइरहेको उल्लेख गरिएको छ ।

उक्त अवधीमा सवारी दुर्घटनामा परी २ हजार ८३९ जनाले ज्यान गुमाएको र २ हजार ८०९ जना गम्भिर घाइते भएको उल्लेख गरिएको छ । सडक दुर्घटनाका कारण मुलुकको कूल गार्हस्थ उत्पादनमा ७ प्रतिशतले क्षति भएको प्रस्तावमार्फत औल्याइएको छ ।

घाइते भएकाहरुको उपचारमा भएको खर्चका कारण मुलुकले बर्षेनी झण्डै १२ अर्ब २८ करोड रुपैयाँबराबरको क्षति व्यहोर्नुपरेको दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।

दिगो विकास लक्ष्यअनुसार आगामी सन् २०३० सम्ममा सडक दुर्घटनाको कारण अकाल मृत्यु र घाइतेको संख्यालाई आधामा झार्ने विश्वव्यापी लक्ष्यलार्य पूरा गर्न नेपालको दायित्व भएको उल्लेख गर्दै प्रस्तावमा नेपालको संविधानमै मौलिक हकको रुपमा सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्यको हक सुनिश्चित गरेको उल्लेख गरिएको छ ।


क्लिकमान्डु