अमेरिकासँगको नेपालको वैदेशिक व्यापार खस्किँदै, आयात बढ्दो निर्यात घट्दो



काठमाडौं । नेपालले वैदेशिक व्यापार गरेको देशमध्ये अमेरिकाबाट उच्च लाभ लिँदै आएको छ । नेपालले डेढ सयभन्दा बढी देशहरुसँग वैदेशिक व्यापार गर्दा कम देशसँग मात्रै नाफा कमाउँदै आएको छ । नाफा कमाउने देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । तर, पछिल्ला दिनहरुमा भने वैदेशिक व्यापार खस्किँदै गएको तथ्याङ्कले देखाउँछ ।

सन् १९४७ मा नेपालले अमेरिकासँग कूटनीतिक सम्बन्ध कायम गरेको थियो । अमेरिकाले नेपालले विभिन्न क्षेत्रमा सहयोग तथा अनुदान दिँदै आएको छ । अमेरिकाले आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको देखिन्छ । त्यस्तै, नेपाल र अमेरिकाबीचको वैदेशिक व्यापार सहज बनाउनका लागि सन् २०११ मा व्यापार तथा लगानी सम्झौता गरेको थियो । उक्त सम्झौताले दुई देशबीचको व्यापार तथा लगानी विस्तार भई आर्थिक सम्बन्ध बलियो बनाउने उद्देश्य लिएको थियो ।

त्यस्तै, नेपाल सन् २०१७ मा व्यापार र लगानी फ्रेमवर्कको तेस्रो बैठक भएको थियो । उक्त बैठकमा नेपालले कूटनीतिक व्यापार र लगानी बढाउने जनाएको थियो । साथै, नेपालले सन् २०१६ मा ६६ वटा वस्तुको निर्यातमा छुट हुने सम्बन्धी हस्ताक्षर गरेको थियो ।

अमेरिकाले भुकम्पका कारण क्षति व्यहोरेको नेपाललाई आर्थिक पुनउत्थानका गर्न १० वर्षको अवधि राखेर निर्यातमा छुटको व्यवस्था गरेको हो । सन् २०१६ फ्रेब्रअरी २५ मा अमेरिकाको तत्कालीन राष्ट्रपति बाराक ओबामाले नेपाललाई प्राथमिकता राखेर विशेष व्यापार अधिकार दिने सम्झौता गरेका थिए । उक्त सम्झौतामा अमेरिकाले नेपालबाट निर्यात गर्ने ६६ वटा वस्तुमा भन्सार छुटको व्यवस्था गरेको थियो । अमेरिकाले गलैंचा, टोपी, सल, स्कार्फ र विभिन्न प्रकारका सामानहरू गरी ६६ प्रकारका वस्तुहरूमा विशेष छुटको सुविधा दिएको थियो । उक्त सुविधा आगामी २०२५ सम्म छ ।

तर, नेपालले ६६ वटा वस्तुमा छुट पाउनुभन्दा अघिबाट नै उच्च निर्यात गर्दै आएको र नाफा पनि कमाइरहेको थियो । तर, पछिल्ला दिनहरुमा छुटको व्यवस्था हुँदा पनि फाइदा लिन सकेको छैन । नेपालले ७० को दशक अघिसम्म अमेरिकासँगको वैदेशिक व्यापारमा उच्च नाफा कमाउँदै आएको थियो । त्यसपछि भने निरन्तर घाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

२०७० अघिसम्म नेपालले आयातभन्दा निर्यात बढी गर्ने गथ्र्यो । जसले गर्दा अमेरिकासँगको व्यापार निकै सकारात्मक थियो । तर, २०७० पछि भने अमेरिकासँगको व्यापारघाटा बढेको पाइन्छ । अमेरिकाले निर्यातमा प्रोत्साहन गर्दै विभिन्न ६६ वटा वस्तुको निर्यातमा छुटको व्यवस्था गरेपनि सोचेअनुसार वस्तु तथा सेवा निकासी गर्न सकेको छैन । नेपालले अहिले कम निर्यात गर्ने र बढी आयात गर्ने प्रवृत्ति हुँदा अमेरिकासँगको वैदेशिक व्यापार ऋणात्मक भएको पाइन्छ ।

त्यस्तै, भन्सार विभागको तथ्याङ्कअनुसार भने पछिल्ला दुई वर्षमा अमेरिकासँगको वैदेशिक व्यापार सुधार हुँदै गएको छ । नेपालले गत वर्ष अमेरिकासँगको वैदेशिक व्यापारबाट १४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनााको अवधिमा ७० करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

१७ वर्षमा साढे ३ खर्बको वैदेशिक व्यापार, कुन वर्ष कति नाफा घाटा व्यहोरे ?

नेपालले पछिल्लो १७ वर्षमा अमेरिकासँग साढे ३ खर्बको वैदेशिक व्यापार गरेको छ । संकलित तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६४/६५ देखि चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्म ३ खर्ब ५४ अर्ब ७ करोड २१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । सो अवधिमा नेपालले १ खर्ब ५१ अर्ब ८७ करोड ७७ लाख रुपैयाँको वस्तु निर्यात गर्दा नेपालले २ खर्ब २ अर्ब १९ करोड ४४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । जसमा नेपालले उक्त देशसँगको वैदेशिक व्यापारबाट ४७ अर्ब २८ करोड १८ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

नेपालले २०७० अघि निरन्तर नाफा कमाउँदै आएको तथ्याङ्कले उल्लेख गर्छ । तर, पछिल्ला वर्षहरुमा कम मात्रामा नाफा कमाउने गरेको देखिन्छ । नेपालले आर्थिक वर्ष २०६४/६५ मा गरेको वैदेशिक व्यापारबाट ८८ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, नेपालले अमेरिकासँगको वैदेशिक व्यापारमा आव २०६५/६६ मा १ अर्ब ६ करोड ९९ लाख रुपैयाँ, आव २०६६/६७ मा १ अर्ब ५१ करोड ७६ लाख रुपैयाँ, आव २०७६/६८ मा ४६ करोड १६ लाख रुपैयाँ, आव २०६८/६९ मा ६६ करोड ६७ लाख रुपैयाँ, आव ६९/७० मा ५४ करोड २३ लाख रुपैयाँ र आव २०७०/७१ मा १ अर्ब २६ करोड लाख रुपैयाँ नाफा कमाएको थियो ।

तर, आव २०७१/७२ मा भने नेपालले अमेरिकासँगको वैदेशिक व्यापारबाट ४८ करोड ९५ लाख रुपैयाँको घाटा व्यहोरेको थियो। त्यसैगरी, आव २०७२/७३ मा ६३ करोड ७५ लाख रुपैयाँ र आप २०७३/७४ मा ५० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै, आव २०७४/७५ देखि आव २०७८/७९ सम्ममा भने उच्च व्यापारघाटा व्यहोरेको थियो । नेपालले आव २०७४/७५ मा ७३ करोड १५ लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ, आव २०७६/७७ मा १४ अर्ब १० करोड ३३ लाख रुपैयाँ, आव २०७७/७८ मा ५ अर्ब ७० करोड ७९ लाख रुपैयाँ र आव २०७८/७९ मा ३२ अर्ब ५ करोड ८५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

विभागअनुसार आव २०७९/८० बाट भने व्यापारघाटा सुधार हुँदै गएको देखिन्छ । जसमा गत वर्ष नेपालले १४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । साथै, यो वर्ष पनि निर्यात बढ्दो क्रममा रहेकाले नाफा कमाएको छ । उक्त तथ्याङ्कअनुसार अमेरिकासँगको वैदेशिक व्यापारमा सुधार हुँदै गएको पाइएको छ ।

नेपालले अमेरिकामा विशेषगरी कार्पेट, कुकुर तथा बिरालोको खाना (छुर्पी), पस्मिना, फेल्ट, टोपी, पेन्टिङ, कटन ब्याग र स्याक्स निर्यात गदै आएको छ । साथै, नेपालले अमेरिकाबाट हवाईजहाजको पार्टपूर्जा, विद्युतीय सामग्री, कम्प्यूटर सर्भर र नेटवर्क सर्भर, आल्मोन्डस्, सोयाबिन, ड्राई मटर र टेक्सटायल आयात गर्दै आएको छ ।


अरिष्मा मोक्तान