व्यवसाय विस्तारमा एनआइसी एशिया र नबिलसहित ७ बैंक आक्रामक



काठमाडौं । अर्थतन्त्र सुस्त गतिमा रहँदा पनि आधा दर्जन वाणिज्य बैंकहरु भने व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । पछिल्लो समय एनआइसी एशिया, नबिल, कृषि विकास, प्राइम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक निकै आक्रामक देखिएका हुन्। आफ्नै गतिमा अघिबढे पनि अन्य बैंकको तुलनामा यो ६ महिनामा राष्ट्रिय वाणिज्य, एभरेष्ट बैंकले पनि राम्रैसँग व्यवसाय विस्तार गरेका छन् ।

पुँजीकोष अनुपात (क्यापिटल एड्युकेसी) टाइट भएका कारण कतिपय बैंकहरुले व्यवसाय घटाइरहेका बेला पुँजीकोष अनुपात खुकुलो भएका बैंकहरु भने निक्षेप संकलन र कर्जा प्रवाहमा आक्रामकरुपमा प्रस्तुत भएका हुन्।

२० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनामा ३.९२ प्रतिशत अर्थात् १ खर्ब ६८ अर्ब १० करोड रुपैयाँले कर्जा विस्तार गरेका छन् । तर, एनआइसी एशिया र नबिल बैंकसहितका ७ बैंकले ६ महिनामा त्यसको ७३ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८० पुस मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा ४४ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

बैंकहरुलाई एकातिर बढ्दो निष्क्रीय कर्जाले पुँजीकोषमा दबाब पारिरहेको छ भने अर्कातिर कर्जा विस्तारमा आक्रामक भएसँगै पुँजीकोष अनुपातमा थप दबाब परिरहेको तथ्यांकले देखाउँछ । २०८० असारमा १३.५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औषत पुँजीकोष अनुपात २०८० पुसमा घटेर १२.६७ प्रतिशतमा झरेको छ । बैंकहरुले तरलताका आधारमा नभइ पुँजीकोषका आधारमा कर्जा बढाउन सक्ने भएकाले पुँजीकोष अनुपात हेरिनुपर्छ । अहिले बैंकहरुसँग ६ खर्बको हाराहारीमा तरलता (लगानी योग्य पुँजी) भए पनि पुँजीकोष अनुपातका कारण ८० देखि ९० अर्ब रुपैयाँ मात्रै थप कर्जा विस्तार गर्न सक्छन् ।

यो ६ महिनाको अवधिमा २० बैंकको निक्षेप ६.९९ प्रतिशतले अर्थात् ३ खर्ब ५० अर्ब १५ करोड रुपैयाँले बढेर कुल ५३ खर्ब ५४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । जसमध्ये यी ७ बैंकले मात्रै २ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ थप निक्षेप संकलन गरेका छन् । ६ महिनाको अवधिमा २० बैंकले संकलन गरेको निक्षेपको ७० प्रतिशत हिस्सा ७ बैंकको मात्रै हो ।

एनआइसी एशिया बैंक

पुँजीकोष अनुपात टाइट भएपछि केही समय सुस्त रहेको एनआइसी एशिया बैंक फेरि पुरानै शैलीमा आक्रामक देखिएको छ । एनआइसी एशियाले चालु आर्थिक वर्षको ६ महिनामा २२.४४ अर्थात् ६९ अर्ब ८९ करोड ५३ लाख रुपैयाँले निक्षेप बढाएको छ भने कर्जा ११.२५ प्रतिशत अर्थात् ३० अर्ब ६१ करोड रुपैयाँले बढाएको छ । २०८० असार मसान्तमा ३ खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ रहेको कुल निक्षेप २२.४४ प्रतिशतले बढाएर २०८० पुस मसान्तमा ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, २ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ रहेको कर्जा ११.२५ प्रतिशतले बढाएर ३ खर्ब २ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ । ६ महिनाको अवधिमा एनआइसी एशिया बैंक सबैभन्दा धेरै निक्षेप संकलन गर्नेको सूचिमा पहिलो नम्बरमा छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले २९ प्रतिशत बोनस सेयर दिएपछि बैंकको पुँजीकोष खुकुलो भएको थियो । यति आक्रामकरुपमा कर्जा विस्तार गर्दा पनि अहिले बैंकको पुँजीकोष अनुपात १२.२५ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार पुँजीकोष अनुपात ११ प्रतिशतभन्दा कम हुनु हुँदैन । जसमा ८.५ प्रतिशत प्राथमिक पुँजी (टायर वान) र पूरक पुँजी (टायर टु) २.५ प्रतिशत गरी कुल पुँजीको ११ प्रतिशतभन्दा कम हुनु हुँदैन । प्राथमिक पुँजीकोषमा चुक्ता पुँजी र जगेडा कोष पर्छ भने पूरक पुँजीमा कन्भर्टेवल ऋणपत्र लगायतका हाइब्रिड इन्ट्रुमेन्टहरु पर्छन् । एनआइसी एशिया बैंकको प्राथमिक पुँजीकोष टाइट भएका कारण राष्ट्र बैंकले दुई वर्ष लाभांश वितरणमा रोक लाएको थियो । दुई वर्ष लाभांश रोक्दा गत वर्षको अन्त्यमा बैंकको पुँजीकोष १३.३९ प्रतिशत पुगेको थियो । यसरी रोकिएको लाभांश तेस्रो वर्ष आएर बाँड्दा यो बैंकले एकैपटक २९ प्रतिशत बोसन सेयर दिएर प्राथमिक पुँजीकोष बढायो । र फेरि आक्रामक व्यवसाय विस्तारमा लाग्यो ।

नबिल बैंक

पछिल्लो ६ महिनामा निक्षेप संकलनमा एनआइसी एशिया पहिलो नम्बरमा भए पनि कर्जा विस्तारमा भने नबिल बैंक पहिलो नम्बरमा छ । २०८० को साउन १ गतेदेखि पुस अन्तिमसम्ममा बैंकले ३२ अर्ब ७५ करोड २४ लाख अर्थात् ९.६० प्रतिशतले बढाएर कुल कर्जा ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले ८.०६ प्रतिशत अर्थात् ३१ अर्ब ९८ रुपैयाँले बढाएर कुल निक्षेप ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

व्यवसायमा आक्रामक भएसँगै नबिल बैंकको पुँजीकोष खुम्चिन थालेको छ । २०८० असार मसान्तमा १२.६६ प्रतिशत रहेको पुँजीकोष पुस मसान्तमा आइपुग्दा घटेर ११.५६ प्रतिशतमा झरेको छ। एकातिर आक्रामक कर्जा विस्तारले बैंकको पुँजीकोष दबाबमा परिहेको छ भने अर्कातिर निष्क्रीय कर्जा बढ्दा सेयरधनीको पुँजीबाट प्रोभिजन गर्नुपर्ने भएकाले पुँजीकोषमा दबाब परिरहेको छ । यो बैंकले रिकोभरी बेस्ड लेन्डिङ अझै गर्नसक्ने देखिन्छ ।

प्राइम बैंक

यो अवधिमा प्राइम बैंक निकै आक्रमक देखिएको छ । ६ महिनामा ३२ अर्ब २० करोड रुपैयाँले निक्षेप बढाएको बैंकले १८ अर्ब ९९ करोड रुपैयाँले कर्जा बढाएको छ । २०८० असार मसान्तमा १ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ रहेको कुल कर्जा २०८० पुस मसान्तमा ११.७९ अर्थात् १८ अर्ब ९९ करोड १ खर्ब ७९ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाहमा आक्रामक भएपछि असार मसान्तमा १२.२८ प्रतिशत रहेको प्राइम बैंकको पुँजीकोष अनुपात पुस मसान्तमा ११.९८ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकले ३२ अर्ब २० करोड अर्थात् १८.५० प्रतिशतले बढेर पुस मसान्तमा कुल निक्षेप २ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । पुँजीकोषका कारण अघिल्ला वर्षहरुमा खासै व्यवसाय बढाउन नसकेको बैंक यो आर्थिक वर्षको ६ महिनामा आक्रामक बनेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

त्यस्तै, चालु आवको पहिलो ६ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि आक्रामक देखिएको छ । २०८० असार मसान्तमा ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ रहेको कर्जा ३.३७ प्रतिशतले अर्थात् १० अर्ब ५३ करोड रुपैयाँले बढाएर ३ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको छ । असार मसान्तमा १४.१० प्रतिशत रहेको यो बैंकको पुँजीकोष अनुपात पुस मसान्तमा आइपुग्दा १२.७० प्रतिशतमा झरेको छ । कर्जा विस्तारमा आक्रामक भएसँगै र बढ्दो निष्क्रीय कर्जाले बैंकको पुँजीकोष घटेको हो । यद्यपि, अहिले बैंकसँग भएको पुँजीकोष पर्याप्त नै हो । यो अवधिमा बैंकले ९.७६ प्रतिशत अर्थात् ३४ अर्ब ६२ करोडले बढाएर कुल निक्षेप ३ खर्ब ८९ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।

कृषि विकास बैंक

सरकारी लगानी रहेको कृषि विकास बैंक पनि चालु आवमा निकै आक्रामक देखिएको छ । ६ महिनामा १५ प्रतिशत अर्थात् २९ अर्ब ८८ करोड रुपैयाँले बढाएर कुल निक्षेप २ खर्ब २९ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको कृषि विकास बैंकले ६ प्रतिशत अर्थात् १० अर्ब ७४ करोड रुपैयाँले बढाएर कुल कर्जा १ खर्ब ९० अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकको पुँजीकोष उल्लेख्य मात्रामा घटे पनि बै‌कहरुमध्ये पुँजीकोष सबैभन्दा धेरै छ । २०८० असारमा १५.०५ प्रतिशत रहेको पुँजीकोष अनुपात २०८० पुसमा घटेर १३.३२ प्रतिशतमा झरेको छ । यद्यपि, सञ्चालनमा रहेका २० बैंकमध्ये सबैभन्दा धेरै पुँजीकोष कृषि विकास बैंकसँग छ । यो बैंकसँग अझै आक्रामक व्यवसाय विस्तार गर्नसक्ने पुँजी छ ।

एभरेष्ट बैंक

बजार आक्रामक र सुस्त हुँदा सँधै आफ्नो गतिमा अघि बढिरहने एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा राम्रै व्यवसाय विस्तार गरेको छ । २०८० असार मसान्तमा १ खर्ब ६८ अर्ब २८ करोड रुपैयाँ रहेको निक्षेप ४.७९ प्रतिशत अर्थात् ८ अर्ब ६ करोडले बढाएर १ खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ । कर्जा बढाएका कारण बैंकको पुँजीकोष केही घटेको छ । ०८० असारमा १३.३६ प्रतिशत रहेको पुँजीकोष अनुपात ०८० पुसमा घटेर १२.५५ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकले निक्षेप ८.०५ प्रतिशत अर्थात् १५ अर्ब ९३ करोड रुपैयाँले बढेर २ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकको आधार दर पनि कम रहेको र पुँजीकोष अनुपात पनि कम्फर्टेवल रहेकाले कर्जाको माग अत्याधिक रहेको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन्।

‘अहिले हाम्रो बैंकमा ऋण माग्न आउनेको चाप अत्याधिक छ,’ खालिङले क्लिकमान्डुसँग भने, ‘पहिला हामी ऋण लिने मान्छे खोज्न हिँड्नुपर्थ्यो, अहिले ग्राहकहरु नै ऋण खोज्दै बैंकमा आइरहेका छन् ।’

राष्ट्रिय वाणिज्य बैंक

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय वाणिज्य बैंकले ४.२९ प्रतिशत अर्थात् १० अर्ब ५२ करोड ५६ लाख रुपैयाँले बढाएर कूल कर्जा २ खर्ब ५५ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ । कर्जा बढाएका कारण यो बैंकको पुँजीकोष अनुपात पनि केही घटेको छ । २०८० असारमा १३.६५ प्रतिशत रहेको पुँजीकोष अनुपात २०८० पुसमा घटेर १२.२७ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकले ४.८४ प्रतिशत अर्थात् १५ अर्ब ५७ करोड ५१ लाख रुपैयाँले बढाएर कुल निक्षेप ३ खर्ब ३७ अर्ब २३ करोड ४६ लाख रुपैयाँ पुर्याएकाे छ ।

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पनि व्यवसाय विस्तारमा आक्रामक नै देखिएको छ । कासा डिपोजिट धेरै हुने भएकाले यो बैंकलाई निक्षेप बढाउन खासै दबाब पर्दैन तर प्रक्रियागत जटिलताका कारण कर्जा बढाउन भने अलि सकस पर्छ । यद्यपि, अरु बैंककोभन्दा आधार दर कम भएका कारण सस्तो ब्याजदरमै कर्जा पाइने भएकाले राष्ट्रिय वाणिज्य बैंकमा पनि ग्राहकको चाप निरन्तर बढिरहेको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ बताउँछन् ।

‘हामीलाई निक्षेपमा समस्या छैन, सस्तो ब्याजदरमै ऋण दिनसक्ने भएकाले ऋणको माग पनि अत्याधिक छ,’ श्रेष्ठले क्लिकमान्डुसँग भने ।


सोभित थपलिया