राष्ट्रियस्तरका ८ विकास बैंक, कसको अवस्था कस्तो ? (विश्लेषणसहित)



काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनको असर विकास बैंकको वित्तीय अवस्थामा पनि देखिएको छ । केही समययता नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको असरबाट विकास बैंक पनि अछुतो हुन सकेका छैनन् ।

आर्थिक गतिविधि सुस्त रहँदा पर्याप्त मात्रामा निक्षेप संकलन र कर्जा प्रवाह हुन सकिरहेको छैन भने प्रवाह भएको कर्जा असुलीमा पनि समस्या सिर्जना भएको छ । जसले विकास बैंकको नाफा दोहोरो अंकमा घटेको छ ।

०७९ को पुसमा २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका राष्ट्रियस्तरका ८ विकास बैंकको नाफा ०८० को पुसमा १०.९८ प्रतिशतले घटेर २ अर्ब २५ करोड ४२ लाख ९७ हजार रुपैयाँमा झरेको छ । यही अवधिमा वाणिज्य बैंकहरुको नाफा पनि ९.९४ प्रतिशतले घटेको थियो ।

एकातिर नाफा घटको छ भने अर्कातिर खराब कर्जा लगातार बढिरहेको छ । यसले अर्थतन्त्र थप दबाबमा पर्दै गएको देखाउँछ ।

०७९ पुसको तुलनामा ०८० पुसमा राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये ५ वटाको नाफा घटेको छ भने ३ वटाको बढेको छ । नाफा बढाउनेमा कामना सेवा, गरिमा र ज्योति रहेका छन् । नाफा घट्नेमा लुम्बिनी, महालक्ष्मी, मुक्तिनाथ, सांग्रिला र साइन रेसुङ्गा विकास बैंक रहेका छन् । चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्थाको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

कामना सेवा विकास बैंक

०७९ पुस मसान्तको तुलनामा ०८० पुस मसान्तमा कामना सेवा विकास बैंकको नाफा ३२.१८ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको बैंकको कुल पुँजी ४ अर्ब ९७ लाख ७४ हजार रुपैयाँ छ ।

बैंकको नाफा बढे पनि लाभांश दिन सक्ने क्षमता भने घटेको छ । ०७९ पुसको वित्तीय विवरणका आधारमा १२.०५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको बैंकको ०८० पुसको विवरणका आधारमा १०.६४ प्रतिशतमात्रै लाभांश दिन सक्छ ।

गत वर्षको पुसको तुलनामा यो पुसमा कामना सेवाको खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ । यो वर्षको पुस मसान्तसम्म बैंकले ३ अर्ब ५३ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने २ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । गत वर्षको पुसमा बैंकले ३ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो भने २ अर्ब ५६ करोड ११ रुपैयाँ ब्याज खर्च गरेको थियो ।

बैंकले प्रकाशिन गरेको वित्तीय अवस्थाअनुसार ०७९ पुसको भन्दा ०८० पुसमा बैंकको निक्षेप २ अर्ब ८२ करोड ४० लाख ३२ हजार रुपैयाँले बढेर ५६ अर्ब २९ करोड ६४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । तर, बैंकको कर्जा प्रवाह भने जम्मा १३ करोड १३ लाख ५७ हजार रुपैयाँले बढेर ४३ अर्ब ९८ करोड २६ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

निक्षेपको तुलनामा कर्जाको वृद्धिदर निकै कम हुँदा र बैंकले स्प्रेड दर (निक्षेप र कर्जामा लिने ब्याजदरबीचको अन्तर) घटाउँदा बैंकको खुद ब्याज आम्दानी घटेको हो । गत वर्षको पुस मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८६.५९ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ८०.४१ प्रतिशतमा खुम्चिएको छ ।

२०७९ पुसमा ४.९९ प्रतिशत रहेको स्प्रेड दर २०८० पुसमा घटाएर ४.५९ प्रतिशतमा झारेको छ । यदि, बैंक व्यवस्थापन नाफामा मात्रै केन्द्रित हुन्थ्यो भने निक्षेपको तुलनामा कर्जा बढाउन नसकेको अवस्थामा स्प्रेडदर यथावत राखेर भए पनि ब्याज आम्दानी बढाउन सक्थ्यो । तर, बैंक व्यवस्थापन नाफा कमाउनभन्दा पनि स्प्रेडदर घटाएर ऋणीलाई राहत दिन केन्द्रित भएको देखिन्छ ।

बैंकको आय मध्येको प्रमुख मानिने खुद ब्याज आम्दानी घट्दा पनि बैंकले कसरी नाफा बढायो त ? व्यवस्थापनले कर्जा असुलीमा लिएको रणनीतिले बैंकलाई नाफामा लान सकेको देखिन्छ ।

०७९ पुस मसान्तमा ३० करोड १५ लाख ८२ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) ०८० पुसमा २१ करोड १९ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकले प्रवाह गरेको कर्जा असुल हुँदा प्रोभिजन घटेको हो । र, प्रोभिजन घट्दा खराब कर्जा पनि घटेको छ । २०७९ पुस मसान्तमा ३.७० प्रतिशत रहेको खराब कर्जा घटेर ०८० पुसमा ३.४२ प्रतिशत रहेको छ ।

बैंकको आधार दर १.६३ प्रतिशत बिन्दुले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.६३ प्रतिशत रहेको आधारदर अहिले ११ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड भने १०.२४ प्रतिशतबाट ८.६३ प्रतिशत रहेको छ ।

बैंकको नाफा बढाउन सहयोग गर्ने अर्को महत्त्वपूर्ण आम्दानी हो नेट फि एण्ड कमिसन । ०७९ पुसको तुलनामा यस्तो आम्दानी २५.२४ प्रतिशतले बढेर १२ करोड ३२ दाख ६६ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको पुसको तुलनामा यो पुसमा अधिकांश बैंकको उठाउन बाँकी ब्याज बढे पनि कामना सेवाको भने उल्लेख्य मात्रामा घटेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको उठ्न बाँकी ब्याज १३ करोड ७२ लाख ६६ हजार रुपैयाँ थियो । तर, यो वर्षको पुसमा उठ्न बाँकी ब्याज जम्मा ८ करोड ६३ लाख ५४ हजार रुपैयाँ मात्रै छ ।

बैंकले थप कर्जा विस्ता नगरी पुरानो कर्जा असुलीमा सन्तोषजनक सफलता प्रप्त गरेको देखिन्छ । कर्जा नबढाइ खराब कर्जा घट्नु र उठ्न बाँकी ब्याजको रकम पनि घट्नुले बैंकका अन्य सूचकांकहरु आगामी दिनमा सकारात्मक दिशामा अघि बढ्ने प्रष्ट संकेत गर्छ ।

बैंकले आफूसँग भएको गैरबैंकिङ सम्पत्ति बिक्री गर्दा त्यसले नाफा बढाउन सहयोग पुगेको देखिन्छ । कर्जा असुल नहुँदाका बखत बैंकहरुले ऋणीले राखेको धितो बिक्रीका लागि लिलामी गर्छन् । यसरी लिलामीमा बिक्री नभएको धितोलाई बैंकले आफ्नै नाममा नामसारी गर्छन् । यसरी आएको सम्पत्तिलाई बैंकहरुले गैरबैंकिङ सम्पत्तिमा वर्गीकरण गरेर राख्छन् । यसका लागि पनि बैंकहरुले प्रोभिजन गर्नुपर्छ ।

०७९ पुसमा कामना सेवाले गैरबैंकिङ सम्पत्तिका लागि ३ करोड ६० लाख रुपैयाँ प्रोभिजन गरेको थियो । बैंकले उक्त सम्पत्ति बिक्री गरिसकेको छ । र, त्यसका लागि गरेको प्रोभिजन फिर्ता हुँदा ३ करोड रुपैयाँले आम्दानी बढ्न गई नाफा बढ्न सहयोग पुगेको हो । बैंकिङको अन्तर्राष्ट्रिय अभ्यासअनुसार गैरबैंकिङ सम्पत्तिलाई टक्सिट एसेट्स अर्थात् विषाक्त सम्पत्ति मानिन्छ ।

गरिमा विकास बैंक

चालु आवको पुस मसान्तको रिपोर्टका आधारमा गरिमा विकास बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । गरिमाले लामो समयदेखि नाफाका आधारमा नम्बर वान रहेको मुक्तिनाथ विकास बैंकको ताज खोसेको छ । गरिमाको नाफा २.०७ प्रतिशतले बढेर ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

गरिमाले यो पुस मसान्तसम्म ५ अर्ब ४५ करोड ७५ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिमा ५ अर्ब १८ करोड ९० लाख २६ हजार रुपैयाँ रहेको थियो । ०७९ पुसको तुलनामा बैंकको खुद ब्याज आम्दानी १४.४० प्रतिशतले बढेर १ अर्ब ८० करोड ५० लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी १४.४० प्रतिशतले बढ्दा पनि नाफा भने जम्मा २.०७ प्रतिशतले मात्रै बढेको हो । स्प्रेड दर ०.२ प्रतिशतले घटाउँदा पनि बैंकले खुद ब्याज आम्दानी बढाएको छ । किनभने, यो बैंकले निक्षेप संकलनभन्दा कर्जा प्रवाह धेरै गरेको छ ।

गत वर्षको पुसको भन्दा यो वर्षको पुसमा निक्षेप १ अर्ब ६१ करोड १३ लाख ९६ हजार रुपैयाँले बढाएर ७८ अर्ब ५७ करोड ५५ लाख ५४ हजार रुपैयाँ पुर्‍याएको छ । तर, कर्जाभने १ अर्ब ९५ करोड २१ लाख ६८ हजार रुपैयाँले बढाएर ६३ अर्ब ९० करोड ९० लाख ९० हजार रुपैयाँ पुर्‍याएको छ । जसकारण स्प्रेडदर केही घटेर (४.८९ बाट ४.५९ प्रतिशत) मा झरे पनि खुद ब्याज आम्दानी बढेको हो । निक्षेपको तुलनामा कर्जा प्रवाह बढी हुँदा सिडी रेसियो करिब १ प्रतिशतले खुम्चिएको छ । गत वर्षको पुसमा ८६.४१ प्रतिशत रहेको सिडी रेसियो यो पुसमा ८५.७३ प्रतिशतमा झरेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकको नेट फि एण्ड कमिसन आय २२.३२ प्रतिशतले बढ्दा नाफा बढ्न सहयोग गरेको छ । गत पुस मसान्तमा बैंकको नेट फि एण्ड कमसिन आय १५ करोड ५४ लाख ६८ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर १९ करोड १ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

प्रोभिजन बढेका कारण बैंकको नाफामा खुद ब्याज आम्दानीको तुलनामा नाफाको वृद्धिदर निकै कम छ । ०७९ पुस मसान्तमा ३५ करोड १९ लाख ३७ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) ०८० पुसमा बढेर ५४ करोड १ लाख ६७ हजार रुपैयाँ पुगेको छ । त्यसका लागि बैंकले २ करोड ५३ लाख ६० हजार रुपैयाँ प्रोभिजन गर्नु परेको छ । जुन गत वर्षको पुसमा शून्य थियो । प्रोभिजन बढ्दा बैंकको खराब कर्जा पनि १.८९ प्रतिशतबाट बढेर ०८० पुसमा २.९५ प्रतिशत पुगेको छ ।

खुद ब्याज आम्दानी बढे पनि बैंकको उठ्न बाँकी ब्याज पनि बढेको छ । गत वर्षको ६ महिनामा बैंकले १८ करोड ५२ लाख ३४ हजार ब्याज उठाउन नसकेकोमा यो आर्थिक वर्षको ६ महिनामा २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ उठाउन सकेको छैन ।

नउठेको ब्याजलाई आम्दानी मानेर नाफा देखाउन पाइने व्यवस्था भए पनि त्यस्तो आम्दानीबाट सेयरधनीले लाभांश खान नपाउने व्यवस्था छ । जसकारण, बैंकको नाफा बढे पनि लाभांश दिन सक्ने क्षमता भने घटेको छ । गत आवको पुस मसान्तमा ४.१४ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको बैंकको अहिले घटेर ०.४१ प्रतिशतमा सीमित भएको छ ।

चुक्ता पुँजी ५ अर्ब ६७ करोड र कुल पुँजी ८ अर्ब २५ करोड ६८ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा भने २३ करोड १८ लाख रुपैयाँ छ । बैंकले गरेको लगानीबाट घाटा ब्यहोर्नु परेको छ ।

बैंकको आधार दर २.३६ प्रतिशत बिन्दुले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.८३ प्रतिशत रहेको आधारदर अहिले १०.४७ प्रतिशतमा झरेका छ भने कष्ट अफ फन्ड १०.५५ प्रतिशतबाट ८.५० प्रतिशतमा रहेको छ । यसले ब्याजदर सस्तो हुँदै गएको संकेत गर्छ ।

आफ्नै विगतसँग तुलना गर्दा बैंकको प्रफर्मेन्स सन्तोषजनक नदेखिए पनि अहिलेको अर्थतन्त्रको अवस्था र अन्य बैंकहरुसँग तुलना गर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक व्यवस्थापनले देखाएको पर्फर्मेन्स निकै राम्रो मान्न सकिन्छ । त्यसैले त गरिमा विकास बैंक मुक्तिनाथको ताज खोस्दै सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ ।

ज्योति विकास बैंक

चालु आवको पुस मसान्तमा ज्योति विकास बैंकको नाफा १९०.६७ प्रतिशतले बढेर १० करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ करोड ४७ लाख ५९ हजार रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी २.३६ प्रतिशतले घटेर १ अर्ब १२ करोड ४२ लाख ३१ हजार रुपैयाँमा खुम्चिँदा पनि सञ्चालन नाफाको वृद्धि उच्च भएका कारण बैंकको नाफा पनि उच्च दरमा बढेको हो ।

बैंकको सञ्चालन नाफा १९६.७३ प्रतिशतले बढेर १४ करोड ७३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको नेट फि एण्ड कमिसन आय १८.६८ प्रतिशतले १० करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको छ ।

नाफा १९०.६७ प्रतिशतले बढाएको बैंकको वितरणयोग्य नाफा भने ११.३१ प्रतिशतले ऋणात्मक छ । तर, बैंकले वितरणयोग्य नाफाको ऋणात्मक अवस्थामा भने ०७९ पुसको तुलनामा ०८० पुसमा केही सुधार गरेको छ । किनभने, गत वर्षको पुसमा वितरणयोग्य नाफा १५.४८ प्रतिशतले ऋणात्मक थियो । चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख र ५ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ कुल पुँजी रहेको बैंकको वितरणयोग्य नाफा भने २४ करोड ८५ लाख रुपैयाँले ऋणात्मक छ ।

बैंकको प्रोभिजन घट्दा नाफामा सुधार आएको हो । ०७९ पुसमा ६४ करोड ९१ लाख रुपैयाँ इम्पेरिमेन्टल चार्ज (प्रोभिजन) गर्नु परेको बैंकले ०८० पुसमा ५४ करोड ७५ लाख रुपैयाँमात्रै प्रोभिजन गनरेको छ । गैरबैंकिङ सम्पत्तिका लागि गर्ने प्रोभिजनमा भने बैंकले उल्लेख्य सुधार गरेको छ ।

गत वर्षको पुसमा ६ करोड ८६ लाख रुपैयाँ प्रोभिजन गरेको बैंकले यो पुसम भने १ करोड ३६ लाख रुपैयाँ मात्रै प्रोभिजन गरेको छ । यसको अर्थ, बैंकले आफूसँग भएको गैरबैंकिङ सम्पत्ति बिक्री गरेको छ । जसले बैंकको नाफा बढाउन सहयोग गरेको देखिन्छ ।

गत पुसको तुलनामा चालु आवको सोही अवधिमा बैंकको निक्षेप १ अर्ब ५ करोड ९४ लाख ५३ हजार रुmपैयाँले घटेर ६० अर्ब २२ करोड ५० लाख २३ हजार रुपैयाँमा सिमित भएको छ ।

बैंकले निक्षेप मात्रै होइन कर्जा पनि घटाएको छ । तर, निक्षेपको तुलनामा कर्जा निकै कम मात्रै घटाएको छ । ०७९ पुसको तुलनामा ०८० पुसमा कर्जा १५ करोड ४५ लाख ३३ हजारले घटेर ५० अर्ब ८० करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ । जसकारण, ८७.७७ प्रतिशत सिडी रेसियो घटेर ८५.१४ प्रतिशतमा झरेको छ।

बैंकले स्प्रेड दर पनि घटाएको छ । गत वर्षको पुस मसान्तमा ४.९७ प्रतिशत रहेको स्प्रेड दर यो पुसमा घटेर ४.५९ प्रतिशत कायम भएको छ।

कर्जाको तुलनामा निक्षेप धेरैले घट्दा बैंकको सिडी रेसियो पनि घटेको हो । सिडी रेसियो घटाउँदा र स्प्रेड रेट घटाउँदा ब्याज आम्दानी थप प्रभावित भएको छ ।

०७९ पुस मसान्तसम्म ४ अर्ब ८ करोड १६ लाख रहेको खुद ब्याज आम्दानी ०८० पुसमा घटेर ४ अर्ब ४ करोड ४९ लाख रुपैयाँमा खुम्चिएको छ ।

बैंकको आधार दर १.६३ प्रतिशत बिन्दुले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.७६ प्रतिशत रहेको आधारदर अहिले ११.१३ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड भने १०.३४ प्रतिशतबाट घटेर ८.५५ प्रतिशत रहेको छ ।

गत आवको पुस मसान्तमा ६४ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) चालु आवको सोही अवधिमा ५४ करोड ७५ लाख १६ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा बढ्दा प्रोभिजन बढेको छ । २०७९ पुस मसान्तमा ३.५२ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर ४.८८ प्रतिशत पुगेको छ । बैंकको नाफा बढेको भएपनि लाभांश दिन सक्ने क्षमता छैन । गत आवको पुस मसान्तमा १५.४८ प्रतिशत ऋणात्मक रहेको लाभांश दिन सक्ने क्षमता अहिले ११.३१ प्रतिशत ऋणात्मक रहेको छ ।

उठ्न बाँकी केही बढेको छ । गत आवको पुस मसान्तमा बैंकले उठाउन बाँकी ब्याज २७ करोड ७८ लाख १८ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा उठाउन बाँकी ब्याज ३० करोड ८० लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

बढ्दो प्रोभिजनका कारण पुँजी कोषमा दबाब पर्दा बैंकले निक्षेृप र कर्जाको आकार नै घटाउनु परेको थियो । अहिले पनि बैंकको पुँजी कोषको अवस्था टाइट टाइट नै छ, त्यसैले यो बैंकले आगामी दिनमा कर्जा असुलीलाई नै प्राथमिकता दिने देखिन्छ । रिकोभरी बेस्ड लेन्डिङको नीतिमा बैंक अघि बढ्नुपर्ने अवस्था तथ्यांकले देखाउँछ ।

मुक्तिनाथ विकास बैंक

०७९ पुसमा ६२ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको मुक्तिनाथ विकास बैंकको नाफा ०८० पुसमा ३२.९२ प्रतिशतले घटेर ४२ करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ । योसँगै दशकदेखि धेरै नाफा कमाउने बैंकको सूचिमा पहिलो नम्बरमा रहेको मुक्तिनाथको ताज गरिमा विकास बैंकले खोसेको छ ।

बैंकको नाफा घट्दा पनि आम्दानीको प्रमुख स्रोत खुद ब्याज आम्दानी भने घटेको छैन । बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ रहेको छ । तर, बैंकको सञ्चालन नाफामा भने निकै गिरावट देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको सञ्चालन नाफा ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार पुस मसान्तसम्म बैंकको नेट फि एण्ड कमिसन आय ४.८० प्रतिशतले बढेर २४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र नेट फि एण्ड कमिसन आय बढ्दा पनि नाफा भने बढ्न सकेको छैन ।

बैंकले निक्षेप घटाएर कर्जा बढाउँदा पनि स्प्रेड दर घटाएका कारण खुद ब्याज आम्दानी खासै बढाउन सकेको छैन । ०७९ पुसको तुलनामा ०८० पुसमा बैंकले साढे ३ करोड रुपैयाँले बढी अर्थात् २ अर्ब ८ करोड रुपैयाँ ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, यो एक वर्षको अवधिमा बैंकले ४ अर्ब १३ करोड रुपैयाँले घटाएर कुल निक्षेप १ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँमा सिमित राखेको छ भने कर्जा १ अर्ब ८४ करोडले बढाएर ०८० पुस मसान्तसम्म कुल ९६ अर्ब २९ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ ।

निक्षेप घटाएर कर्जा बढाएका कारण बैंकको सिडी रेसियो ८४.६५ प्रतिशतबाट बढेर ८६.५७ प्रतिशत पुगेको छ । यद्यपि, स्प्रेड दर घटेका कारण बैंकले कर्जा बढाउँदा पनि ब्याज आम्दानी भने बढाउन सकेको छैन । ०७९ पुसमा ४.९९ प्रतिशत रहेको स्पेड दर ०८० पुसमा ४.५९ प्रतिशत कायम भएको छ ।

मुक्तिनथ लघुवित्त मोडेलमा चलेको बैंक हो । पछिल्लो समय लघुवित्तमा आएको समस्याका कारण बैंकको उठ्न बाँकी ब्याज पनि बढ्दै गएको देखिन्छ । ०७९ पुसमा २८ करोड ५२ लाख रुपैयाँ रहेको उठ्न बाँकी ब्याज ०८० पुसको ६ महिनामा ४८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको आधार दर १.६७ प्रतिशत बिन्दुले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.६५ प्रतिशत रहेको आधारदर अहिले १०.९८ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड १०.५३ प्रतिशतबाट घटेर ८.१५ प्रतिशत रहेको छ ।

०७९ पुसमा ४४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) ०८० पुसमा ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अत्याधिक बढेको छ । । २०७९ पुस मसान्तमा ०.९८ प्रतिशत रहेको खराब कर्जा ०८० पुसमा बढेर २.५१ प्रतिशत पुगेको छ ।

चुक्त पुँजी ६ अर्ब ४२ करोड र कुल पुँजी ९ अर्ब ३४ करोड रहेको बैंक वितरणयोग्य नाफा ऋणात्मक छ । ०७९ पुसमा ६० करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंक ०८० पुसमा ३१ करोड ७२ लाख रुपैयाँले ऋणात्मक छ । गत वर्षको पुसमा लाभांश दिने क्षमता ०.९४ प्रतिशतले धनात्मक थियो ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण एकातिर थप कर्जा विस्तार गर्न कठिन भइरहेको छ भने अर्कातिर प्रबाह भएको कर्जाको गुणस्तर पनि दिनानुदिन खस्किँदो छ । आगामी दिनमा उठ्न बाँकी ब्याजको आकार बढ्न नदिनु र कर्जा असुलीमा रणनीतिक सफलता हात नपारे बैंकको वित्तीय अवस्था आउने महिनाहरुमा थप बिग्रिने देखिन्छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

२०७९ पुसको तुलनामा ०८० पुसमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३९.८२ प्रतिशतले घटेर १० करोड २ लाख रुपैयाँमा खुम्चिएको छ ।

खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले बढेर ९४ करोड ६३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि नाफाको वृद्धिदर ऋणात्मक छ । बैंकले कर्जाको तुलनामा निक्षेप बढाउँदा खुद ब्याज आम्दानी केही बढेको हो । तर, स्प्रेड दर घटाएका कारण बैंकले कर्जा बढाउए अनुसारको ब्याज आम्दानी हुन नसकेको हो ।

०७९ पुसको तुलनामा ०८० पुसमा ब्याज आम्दानी २२ करोड ५५ लाख रुपैयाँले घटेर ३ अर्ब ३४ करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ । ब्याज आम्दानी मात्रै होइन, बैंकले ब्याज खर्च पनि घटाएको छ । यो अवधिमा ब्याज खर्च २६ करोड रुपैयाँले घटाएर २ अर्ब ४० करोड १५ लाख रुपैयाँमा सिमिति भएको छ । ब्याज आम्दानीभन्दा ब्याज खर्च धेरैले घट्दा खुद ब्याज आम्दानी थोरै बढेको हो ।

०७९ पुसको भन्दा १ अर्ब २९ करोड रुपैयाँले बढाएर ०८० पुसमा बैंकको कुल निक्षेप ५१ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ । तर, यो अवधिमा १ अर्ब ७७ करोड रुपैयाँले कर्जा बढाएर कुल कर्जा ४१ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ। निक्षेपको तुलनामा कर्जा धेरै बढाउँदा सिडी रेसियो ८१.८२ प्रतिशतबाट बढेर ८३.४१ प्रतिशत पुगेको छ । निक्षेपभन्दा कर्जा धेरैले बढाए पनि स्प्रेडदर ०.२९ प्रतिशत विन्दुले घटाएर ४.५८ प्रतिशतमा झारेका कारण बैंकको ब्याज आम्दानी खासै बढेन ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार पुस मसान्तसम्म बैंकको नेट फि एण्ड कमिसन आय ३८.६९ प्रतिशतले बढेर ११ करोड ३८ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

बैंकको आधार दर २.०७ प्रतिशत बिन्दूले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.८२ प्रतिशत रहेको आधारदर अहिले १०.८१ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड १०.४३ प्रतिशतबाट घटेर ८.६१ प्रतिशत रहेको छ ।

बैंकको सञ्चालन नाफामा भने निकै गिरावट देखिएको छ । ०७९ पुसको तुलनामा बैंकको सञ्चालन नाफा ३९.२१ प्रतिशतले घटेर १४ करोड ५२ लाख ५९ हजार रुपैयाँमा खुम्चिएको छ ।

बैंकले असुलीमा ध्यान दिँदा दिँदै पनि अर्थतन्त्रमा देखिएको समस्याका कारण सफल हुन सकेको छैन । गत वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्षको पहिलो ६ महिनामा असुल हुन बाँकी ब्याजको रकम केही कम छ । ०७९ पुसमा १४ करोड १५ लाख ब्याज उठाउन बाँकी थियो भने ०८० पुसमा १३ करोड ७३ लाख रुपैयाँ ब्याज उठाउन बाँकी छ ।

बैंकको खराब कर्जा निकै बढेको छ । गत वर्षको पुसमा ३.३६ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्षको पुसमा ४.८९ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा बैंकको प्रोभिजन पनि ५६.११ प्रतिशतले बढेर ३९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले कर्जा असुली नभएपछि धितो आफ्नो नाममा नामसारी पनि राम्रैसँग गरेको देखिन्छ । यसरी धितो नामसारी गरेर आर्जन गरेको गैरबैंकिंग सम्पत्तिका लागि बैंकले यो आर्थिक वर्षको ६ महिनामा १० करोड ६३ लाख रुपैयाँ प्रोभिजन गरेको छ । गत वर्षको पुसमा यस्तो प्रोभिजन २ करोड ३२ लाख रुपैयाँ मात्रै थियो ।

चुक्ता पुँजी ३ अर्ब ४३ करोड र कुल पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंक सेयरधनीलाई बाँड्न मिल्ने नाफामा भने २१ करोड ३६ लाख रुपैयाँले ऋणात्मक छ । ०७९ पुसमा ९.४९ प्रतिशत लाभांश दिने क्षमता रहेको बैंक ०८० पुसमा १२.४५ प्रतिशतले ऋणात्मक छ ।

अन्य सूचकहरु सन्तोषजनक नै देखिए पनि जसरी खराब कर्जा बढ्दै गइरहेको त्यसको ब्यवस्थापनमा बैंकको ध्यान थप केन्द्रित गर्नुपर्ने देखिन्छ । बढ्दो खराब कर्जाले बैंकको पुँजीकोषमा ठूलो दबाब परिरहेको छ । पुँजीकोषमा दबाब हुनेवित्तिकै थप लगानी बिस्तार गर्न नपाइने हुँदा आगामी ६ महिना असुलीमै केन्द्रित हुनुपर्ने देखिएको हो ।

साइन रेसुङ्गा डेलपमेन्ट बैंक

०७९ पुसको तुलनामा ०८० पुसमा १३.६० प्रतिशतले घटेर साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा घटेर ३७ करोड १२ लाख रुपैयाँमा खुम्चिएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटको असर बैंकको नाफा देखिएको छ । बैंकको आय मध्येको प्रमुख स्रोत खुद ब्याज आम्दानी १.२५ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ४.०३ प्रतिशतले घटेको छ ।

गत आवको पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५ करोड ४५ लाख ७२ हजार रुपैयाँ रहेको छ । चालु आवको सोही अवधिमा १ अर्ब ४ करोड १३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा गत आवको पुस मसान्तमा ६१ करोड ७९ लाख ९ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ५९ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार पुस मसान्तसम्म बैंकको नेट फि एण्ड कमिसन आय घटेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नेट फि एण्ड कमिसन आय १३ करोड ३८ लाख ५ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ६ करोड ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

बैंकले उठाउन बाँकी रहेको ब्याजलाई उठाउन निकै कसरत गरिरहेको देखिन्छ । गत आवको पुस मसान्तमा बैंकको उठाउन बाँकी ब्याज २३ करोड ४३ हजार रुपैयाँ रहेको थियो । यो पुस मसान्तमा थोरै बढेर २३ करोड ६६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

०७९ पुसको तुलनामा ०८० पुसमा बैंकको ८.८७ प्रतिशतले बढेर कुल निक्षेप ६० अर्ब ६२ करोड ४३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । तर, यो अवधिमा कर्जा भने १५.२५ प्रतिशतले बढेर ५० अर्ब ४१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । निक्षेपभन्दा कर्जा धेरै बढाउँदा बैंकको सिडी रेसियो ८५.२७ प्रतिशतबाट बढेर ८६.०८ प्रतिशत पुगेको छ ।

०७९ पुसमा ४.९० प्रतिशत रहेको स्पेड दर ०८० पुसमा ४.६० प्रतिशतमा झरेको छ । निक्षेपभन्दा कर्जा धेरैले बढे पनि स्प्रेडदर घटेका कारण बैंकको खुद ब्याज आम्दानी घटेको हो ।

बैंकको आधार दर २.४९ प्रतिशत बिन्दूले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.७९ प्रतिशत रहेको आधारदर अहिले १०.५० प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड १०.४० प्रतिशतबाट घटेर ८.२५ प्रतिशत रहेको छ ।

गत आवको पुस मसान्तमा १४ करोड ८ लाख १ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) चालु आवको सोही अवधिमा ३.१४ प्रतिशतले बढेर १४ करोड ५२ लाख २८ हजार रुपैयाँ रहेको छ । खराब कर्जाका कारण प्रोभिजन बढेको हो । ०७९ पुस मसान्तमा १.३१ प्रतिशत रहेको खराब कर्जा ०८० पुसमा बढेर २.६२ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजी ४ अर्ब ७३ करोड र कुल पुँजी ६ अर्ब ५६ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा भने जम्मा ६ करोड ७४ लाख ६६ हजार रुपैयाँमा झरेको छ । यसबाट सेयरधनीलाई २.८५ प्रतिशत लाभांश दिन पुग्छ । जबकी, गत वर्षको पुसमा वितरणयोग्य नाफा ११ करोड २८ लाख ९५ हजार रुपैयाँ थियो । उक्त नाफाबाट सेयरधनीलाई ५.२७ प्रतिशत लाभांश दिन मिल्थ्यो । नाफा घटेसँगै वितरणयोग्य नाफा घटे पनि यस्तो चुनौतिपूर्ण अवस्थामा वितरणयोग्य नाफा धनात्मक राख्न सक्नु पनि उपलब्धि नै हो ।

महालक्ष्मी विकास बैंक

०७९ पुसमा ३१ करोड ६० रुपैयाँ नाफा कमाएको महालक्ष्मी विकास बैंकको नाफा ०८० पुसमा १२ प्रतिशतले घटेर २७ करोड ८० लाख ३६ हजार रुपैयाँमा खुम्चिएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा त्यसको असर बैंकको नाफामा परेको देखिएको छ ।

बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशतले घटेर ८९ करोड २४ लाख रुपैयाँमा झरेको छ । जबकी, गत वर्षको पुसमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ थियो ।

यस्तै बैंकको सञ्चालन नाफा १२.८३ प्रतिशतले घटेर ३९ करोड ५७ लाख २७ हजार रुपैयाँमा खुम्चिएको छ ।

यो अवधिमा बैंकको नेट फि एण्ड कमिसन आय बढेको छ । गत आवको दोस्रो त्रैमासमा ७ करोड २२ लाख ६४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ९ करोड ६७ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

नाफा १२.०२ प्रतिशतले घटेको बैंकले ब्याज उठाउन निकै कसरत गरेको छ । यद्यपि, अपेक्षाअनुसार सफल भने हुन सकेको देखिँदैन । तर, यस्तो चुनौतिपूर्ण अवस्थामा पनि बैंकले उठाउन बाँकी ब्याज बढ्न दिएको छैन । ०७९ पुसमा ११ करोड ४९ लाख रुपैयाँ रहेकोमा ०८० पुसमा ११ करोड ३६ लाख रुपैयाँ छ ।

यो पुस मसान्तसम्म बैंकले ३ अर्ब ३३ करोड ५१ लाख ब्याज आम्दानी गरेको छ भने २ अर्ब ४४ करोड २७ लाख ब्याज खर्च गरेको छ । गत वर्षको पुसमा बैंकले ३ अर्ब ३२ करोड ४८ लाख ब्याज आम्दानी गरेको थियो भने २ अर्ब २८ करोड ६ लाख ब्याज खर्च गरेको छ ।

यो एक वर्षको अवधिमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँले बढाएर कुल निक्षेप ५३ अर्ब ४ करोड ३ लाख रुपैयाँ पुर्याएको छ । तर, यो अवधिमा ३ अर्ब ३६ करोड ५७ लाख रुपैयाँले बढाएर कुल कर्जा ४० अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुर्याएको छ । बैंकले स्प्रेड दर घटेको छ । गत आवको पुस मसान्तसम्म ४.९८ प्रतिशत रहेको स्पेड दर चालु आवको सोही अवधिमा ४.५९ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर घट्दा त्यसको असर बैंकको नाफामा देखिएको छ ।

बैंकको आधार दर १.९९ प्रतिशत बिन्दूले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.७० प्रतिशत रहेको आधारदर अहिले १०.७१ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड १०.२१ प्रतिशतबाट ८.३३ प्रतिशतमा झरेको छ ।

गत आवको पुस मसान्तमा १९ करोड ३८ लाख १५ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) चालु आवको सोही अवधिमा ९ करोड ३६ लाख ६ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा भने घटेको छ । २०७९ पुस मसान्तमा ४.५७ प्रतिशत रहेको खराब कर्जा अहिले घटेर ४.२१ प्रतिशत रहेको छ । बैंकको नाफा घट्दा लाभांश दिन सक्ने क्षमता पनि घट्दै गएको छ । गत आवको दोस्रो त्रैमासमा ५.३९ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको बैंकको अहिले ३.२८ प्रतिशत रहेको छ ।

लुम्बिनी विकास बैंक

०७९ पुसमा २६ करोड १० लाख रुपैयाँ कमाएको लुम्बिनी विकास बैंकको नाफा ०८० पुसमा १८.६९ प्रतिशतले घटेर २१ करोड २२ लाख रुपैयाँमा खुम्चिएको छ ।

गत वर्षको पुसमा ९२ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको खुद ब्याज आम्दानी यो वर्षको पुस मसान्तमा ७.५१ प्रतिशतले घटेर ८५ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।

एक वर्षको अवधिमा १५ करोड रुपैयाँले ब्याज आम्दानी बढाएर ३ अर्ब ३५ करोड रुपैयाँ पुर्‍याएको बैंकले ब्याज खर्च भने २२ करोड रुपैयाँले बढाएर २ अर्ब ५९ करोड रुपैयाँ पुर्‍याएको छ । ब्याज आम्दानीभन्दा ब्याज खर्च धेरैले बढाएका कारण बैंकको खुद ब्याज आम्दानी घटेको हो ।

०७९ पुसको तुलनामा बैंकले ६ अर्ब ९५ करोड रुपैयाँले बढाएर ०८० पुसमा कुल निक्षेप ५६ अर्ब ८ करोड रुपैयाँ पुर्‍याएको छ । यही अवधिमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँले बढाएर कुल कर्जा ४४ अर्ब ४६ करोड रुपैयाँ पुर्‍याएको छ ।

बैंकले बढेको निक्षेपको ४५ प्रतिशतको हाराहारीमा मात्रै कर्जा बढाएको छ । जसकारण, ०७९ पुसमा ८९.२० प्रतिशत रहेको सिडी रेसियो ०८० पुसमा घटेर ८२.२७ प्रतिशतमा खुम्चिएको छ ।

निक्षेपको वृद्धिदरको तुलनामा कर्जाको वृद्धि निकै कम भएकाले र स्प्रेड दर पनि ०.२० प्रतिशतले घटेकाले बैंकको खुद ब्याज आम्दानी घटेको हो । गत वर्षको पुसमा ४.८९ प्रतिशत रहेको स्प्रेड दर यो पुसमा घटेर ४.५९ प्रतिशत कायम भएको छ ।

तर, यो अवधिमा बैंकको नेट फि एण्ड कमिसन आय भने बढेको छ । ०७९ पुसमा ७ करोड ४७ लाख रहेको यस्तो आया ०८० पुसमा ९ करोड ५३ लाख पुगेको छ ।

बैंकको आधार दर १.०८ प्रतिशत बिन्दुले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको पुस मसान्तमा १२.४८ प्रतिशत रहेको आधारदर चालु आवको सोही अवधिमा ११.४० प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड १०.५५ प्रतिशतबाट घटेर ९.३० प्रतिशत रहेको छ । यसले ब्याज सस्तो हुँदै गएको देखाउँछ ।

गत वर्षको पुससाग तुलना गर्दा बैंकको उठ्न बाँकी कर्जामा पनि सुधार आएको छ । ०७९ पुसमा १७ करोड २४ लाख रुपैयाँ उठ्न बाँकी ब्याज थियो भने ०८० पुसमा १० करोड ९८ लाख रुपैयाँ ब्याज उठ्न सकेको छैन ।

गत आवको पुस मसान्तमा २७ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) चालु आवको सोही अवधिमा ९ करोड ९४ लाख रुपैयाँ छ । तर, गैरबैंकिङ सम्पत्तिबापत बैंकले यो पुसमा ५ करोड ६७ लाख रुपैयाँ प्रोभिजन गर्नु परेको छ । गत वर्ष यस्तो प्रोभिजन शून्य थियो ।

बैंकको नाफा घटेसँगै वितरणयोग्य नाफा पनि घटेको छ । यद्यपि, वितरणयोग्य नाफा ऋणात्मक भने छैन । चालु आर्थिक वर्षको ६ महिनाको ब्यापारबाट बैंकले सेयरधनीलाई बाँड्न मिल्ने १ करोड ५० लाख ८६ हजार रुपैयाँ मात्रै कमाएको छ ।

चुक्ता पुँजी ३ अर्ब ३१ करोड र कुल पुँजी ६ अर्ब २५ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ५.९२ प्रतिशतबाट घटर ०.८६ प्रतिशतमा झरेको छ । बैंकले आगामी दिनमा गैरबैंकिङ सम्पत्ति बढ्न नदिने ढंगले काम गर्नुपर्ने देखिएको छ ।


सोभित थपलिया