आयात घट्दा पनि राजस्व संकलन ६.३४ प्रतिशतले बढ्यो, यी हुन् राजस्वमा योगदान गर्ने प्रमुख १० वस्तु



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आयात घट्दा पनि राजस्व संकलन भने बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ३.१० प्रतिशतले घटेको अवस्थामा राजस्व संकलन भने ६.३४ प्रतिशतले बढेको छ ।

नेपालले गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो । तर, यो वर्ष केही आयातमा कमी आएको छ । जसमा नेपालले ६ महिनाको अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

नेपालले आयात गरेको वस्तु तथा सेवाबाट २ खर्ब ३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ८२ अर्ब ८४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले यो वर्ष आयात कम भए पनि राजस्व संकलन बढेको बताए । उनकाअनुसार गत वर्ष लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको थियो । तर, यो वर्ष केही सुधार भएको छ ।

सरकारले गत आर्थिक वर्ष ५ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । त्यसमध्ये आयातबाट ५८.४२ प्रतिशत मात्रै लक्ष्य पूरा भएको थियो ।

सूचना अधिकारी खड्काले गत वर्ष हालसम्मकै लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको जिकिर गरे । त्यस्तै, अहिले राजस्व संकलनमा कही सुधार भएकाले आगामी दिनमा राजस्व संकलन बढ्ने अनुमान गरे ।

विभागले ६ महिनाको अवधिमा ७७ करोड १७ लाख ३५ हजार रुपैयाँ अनुगमन शाखाले प्रत्यक्ष अनुगमन गरी थप राजस्व असुली गरेको छ ।

गत वर्षको सोही अवधिमा विभागले १८ करोड ८६ लाख ९२ हजार रुपैयाँ थप राजस्व असुली गरेको थियो । यो वर्ष गत आवको तुलनामा ५८ करोड ३० लाख ४३ हजार रुपैयाँ बढी अनुगमन गरी असुली गरेको छ ।

विभागले आव २०७८/७९ मा ४ खर्ब ४० अर्ब २७ करोडको लक्ष्य राखेकोमा ४ खर्ब ४३ अर्ब २७ करोड राजस्व संकलन गरेको थियो । तथ्याङ्कमा पछिल्ला २ वर्षको तुलनामा चालु आवमा ६ महिनाको अवधिमा कम आयात भएको छ ।

नेपालले आव २०७५/७६ को ६ महिनाको अवधिमा ७ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात गरेको थियो । त्यसपछि घटेर आव २०७६/७७ को ६ महिनाको अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ र आव २०७७/७८ मा ६ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

तर, आव २०७८/७९ मा सोही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । त्यस्तै, पछिल्लो दुई वर्षको सोही अवधिमा आयात निरन्तर घटेको पाइएको छ ।

आयात घट्दा भन्सार राजस्व बढे पनि चालु आर्थिक वर्षमा राखिएको लक्ष्यभन्दा निकै कममात्रै असुली भएको छ । विभागले पुस मसान्तसम्ममा ३ खर्ब २ अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको भए पनि जम्मा २ खर्ब रुपैयाँमात्र असुली गरेको छ । यो लक्ष्यभन्दा ३० प्रतिशत कम हो ।

त्यस्तै आन्तरिक राजस्व विभागले पनि चालु आवको ६ महिनामा लक्ष्यभन्दा २० प्रतिशत कर संकलन गरेको छ । पुस सम्ममा ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको विभागले २ खर्ब ४२ अर्ब रुपैयाँमात्र असुली गरेको हो ।

भन्सार महसुलले आयातमा आधारित व्यवसायिक गतिविधि कम भएको देखाउँछ भने आन्तरिक राजस्व विभागले संकलन गर्ने कर कम उठ्दा देशभित्र हुने आर्थिक गतिविधि पनि सरकारले अनुमान गरेजस्तो नभएको देखाउँछ ।

राजस्व संकलनमा कुन भन्सार कार्यालयको हिस्सा कति ?

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षका ६ महिनाको अवधिमा २ खर्ब राजस्व संकलन गर्दा सबैभन्दा बढी वीरगञ्ज भन्सार कार्यालयबाट राजस्व संकलन गरेको छ । उक्त भन्सार कार्यालयले राजस्व संकलनमा ३७ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी, विराटनगर भन्सार कार्यालयको हिस्सा ७ प्रतिशत, त्रिभुवन भन्सार कार्यालयको ५ प्रतिशत, रसुवाको ५ प्रतिशत, नेपालगञ्जको ४ प्रतिशत, मेचीको ४ प्रतिशत, तातोपानीको २ प्रतिशत र अन्य भन्सार कार्यालयको राजस्व संकलन हिस्सा ५ प्रतिशत छ ।

यी हुन राजस्वमा योगदान गर्ने प्रमुख १० वस्तु

नेपालले ६ महिनाको अवधिमा २ खर्ब बढी राजस्व संकलन गर्दा मुख्य १० वटा वस्तुबाट उच्च राजस्व संकलन गरेका छन् । विभागको तथ्याङ्कमा करिब आधार हिस्सा राजस्व १० वटा वस्तुको आयातबाट संकलन गरेको छ । सरकारले १० वटा मुख्य आयातित वस्तुबाट ८२ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

आयातित वस्तुमध्ये सबैभन्दा बढी डिजेलबाट भएको छ । ६ महिनाको अवधिमा डिजेलबाट मात्रै २५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, पेट्रोलबाट १९ अर्ब ४४ करोड रुपैयाँ, पेट्रोलियम पदार्थबाट सञ्चालित जीप, कार र भ्यानबाट ७ अर्ब ५४ करोड रुपैयाँ र तयारी कपडाबाट ६ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।

त्यसैगरी, विद्युतीय जीप, कार र भ्यानबाट ५ अर्ब ७९ करोड रुपैयाँ, एलपीजी ग्यासबाट ४ अर्ब ७५ करोड रुपैयाँ, मोटरसाइकल (अनएसेम्बल्ड)बाट ४ अर्ब ५ करोड रुपैयाँ, मोटरसाइकलबाट ३ अर्ब ४१ करोड रुपैयाँ, एचआर सीटबाट ३ अर्ब ११ करोड रुपैयाँ र २ अर्ब ९२ करोड रुपैयाँ मोबाइल टेलिफोनबाट राजस्व संकलन भएको छ ।

मुख्य आयातित १० वस्तु

डिजेल- ६६ अर्ब ४९ करोड रुपैयाँ

पेट्रोल- ३३ अर्ब ९२ करोड रुपैयाँ

एलपी ग्यास- २५ अर्ब ४६ करोड रुपैयाँ

एचआर सीट- २२ अर्ब ३६ करोड रुपैयाँ

शुद्ध फलाम- १९ अर्ब ३७ करोड रुपैयाँ

तयारी कपडा- १८ अर्ब ७४ करोड रुपैयाँ

मोबाइल टेलिफोन- १५ अर्ब ६७ करोड रुपैयाँ

अन्य एलोपेथिक औषधी- १३ अर्ब २७ करोड रुपैयाँ

विद्युतीय जीप, कार र भ्यान- १३ अर्ब १२ करोड रुपैयाँ

सुन- ११ अर्ब ८९ करोड रुपैयाँ

मुख्य निर्यातित १० वस्तु

फलामे पाता- ६ अर्ब १४ करोड रुपैयाँ

सेन्थेटिक यार्न- ५ अर्ब ७० करोड रुपैयाँ

उनी, अलैंची कार्पेट- ५ अर्ब २३ करोड रुपैयाँ

तयारी कपडा- ४ अर्ब ६७ करोड रुपैयाँ

अलैंची- ३ अबृ ९१ करोड रुपैयाँ

फलफूलको जुस- ३ अर्ब ८१ करोड रुपैयाँ

फ्लाइउड- ३ अर्ब ५३ करोड रुपैयाँ

प्रशोधित पाम तेल- २ अर्ब ९० करोड रुपैयाँ

जमोठ कपडा- २ अर्ब ४८ करोड रुपैयाँ

जुटका बुनिएका कपडा- २ अर्ब ४४ करोड रुपैयाँ


अरिष्मा मोक्तान