पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाड-२०२४ को क्षेत्रीय कार्यक्रम



काठमाडौं । पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाड-२०२४ को क्षेत्रीय कार्यक्रम देशभरका विभिन्न १२ स्थानमा सम्पन्न भएको छ।

कक्षा ११ र १२ वा सो सरह अध्ययनरत व्यवस्थापन, अर्थशास्त्र र वित्तीय साक्षरतामा रुचि राख्ने विद्यार्थीहरूले नेपाल इकोनोमिक्स ओलम्पियरको क्षेत्रीय प्रतिस्पर्धामा हरेक बर्ष  भाग लिदै आईरहेका छ्न ।

सातै प्रदेशका १२ वटा कार्यक्रम  स्थलमा १७१ शैक्षिक संस्थाका करिब १४३६ विद्यार्थीहरू अफुलाई पाएक पर्ने स्थानमा  आजको क्षेत्रीय प्रतिस्पर्धामा सहभागीता जनाएका थिए । कार्यक्रममा अर्थशास्त्रको व्यावहारिक पक्ष  र अर्थतन्त्रको समसामयिक विषयबस्तु  समाबेश गरेर बिद्यार्थीहरुको ज्ञान र बुझाईको दायरा फराकोलो  गर्ने उद्देशका साथ प्रस्नपत्रहरु तयार पारिनुका साथै बिद्यार्थीहरुमा बित्तीय साक्षरताको ज्ञान अभिबृद्धी गर्न विभिन्न बित्तीय साक्षरता बिज्ञबाट विभिन्न सत्र हरु पनि संचालन गरिएको थियो ।

क्षेत्रीय प्रतिस्पर्धाबाट उत्कृष्ट  र विभिन्न क्लस्टरबाट छ्नोट हुने ७५  जना  विद्यार्थीहरूले आगामी फागुनमा काठमाडौँमा हुने तीन दिने राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् भने राष्ट्रिय प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट पाँच जना विद्यार्थीहरुले २०२४ को जुलाइमा हङकङमा हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

देशभरिका विद्यार्थीहरूलाई क्षेत्रीय र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराइ नेपाली विद्यार्थी र शिक्षाको गुणस्तर अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नका लागि नेपाल इकोनोमिक्स ओलम्पियाड उत्कृष्ट मञ्च हो । यस्ता खालका अवसरहरुमार्फत अर्थशास्त्र, व्यवस्थापन, वित्त र वित्तीय साक्षरताका क्षेत्रहरुमा योगदान गर्दै उत्कृष्ट भावी जनशक्ति उत्पादनमा टेवा लक्ष्य रहेको आयोजकले जनाएको छ ।

२०१९ देखि भाग लिन थालेको नेपालले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा हालसम्मका सबै प्रतिस्पर्धाहरुमा पदक जित्न सफल रहेको छ । गत वर्ष ग्रीसको भोलसमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जितेका थिए ।

नेपाल इकोनोमिक्स ओलम्पियाड, इन्टरनेसनल इकोनोमिक ओलम्पियाडको नेपाल प्रतिनिधि हो । इन्टरनेसनल इकोनोमिक ओलम्पियाड उच्चशिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि अर्थशास्त्रसँग सम्बन्धित विषयमा प्रतिस्पर्धा गराउने अभियान हो ।

सन् २००७ का नोबेल पुरस्कार विजेता एरिक मस्किनले शुरु गरेको यो अभियानले हरेक वर्ष विश्वभरबाट विद्यार्थी सहभागी गराएर प्रतिस्पर्धा गराउने गरेको छ । उत्कृष्ट सहभागीले स्वर्ण, रजत र कास्य पदक पाउँछन् भने अर्थशास्त्रसम्बन्धी आफ्ना नयाँ सोच तथा सिद्धान्तहरुलाई प्रतिष्ठित शैक्षिक संस्थामा प्रस्तुत गर्ने मौका पाउँछन् ।

नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटा यो प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीहरुले विश्वका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरुमा छात्रवृत्तिको अवसर पाउने बताए । ‘अर्थशास्त्र, वित्त र व्यापार क्षेत्रमा विश्वका उत्कृष्ट विद्यार्थी छनौट हुने हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा पुग्छ । उनीहरुको व्यक्तित्व विकाससँगै नाम चलेको विश्वविद्यालयमा छात्रवृत्तिका अवसर पनि पाउँछन्,’ सापकोटाले भने ।

नेपाल इकोनोमिक्स ओलम्पियाडका उत्कृष्ट ५ जनालाई इन्टरनेसनल ओलम्पियाड र थप ५ जनालाई वल्र्ड इकोनोमिक्स कपमा सहभागी गराइएको उनले बताए ।


क्लिकमान्डु